Comments Add Comment

सप्तरीमा २० घर बगे, तिलाठी प्रहरी चौकी विस्थापित

एक हजार घर डुबानमा, तर मानवीय क्षति भएको छैन ः प्रहरी

२८ असार, सप्तरी । अबिरल वर्षाका कारण सप्तरी जिल्लाका अधिकांस ठाउँ डुबानमा परेका छन् । बिभिन्न नदी र खोलामा आएको बाढीका कारण जिल्लाको १८ वटै स्थानीय तह प्रभावित भएको छ ।

जिल्ला प्रहरी कार्यालय, राजविराजले जिल्लाभरिका एक हजार घर डुबानमा परी जोखिममा रहेको जनाएको छ । प्रहरी निरीक्षक रिता पौडेलले हालसम्म जिल्लामा कुनै मानवीय क्षति नभएको जानकारी दिइन् ।

खड्ग खोलाको बाढीले बिसनपुर-स्वर्णपट्टी सडकमा क्षति पुर्‍याएको छ । खड्ग नगरपालिका ८ स्थित बिसनपुर सडकखण्ड बाढीले बगाउँदा यातायात अवरुद्ध छ । यो सडक केही दिनअघि मात्रै निर्माण गरिएको थियो ।

महनौरी गाउँका २० घर बगे

बिहुल नदीमा आएको बाढीले बोदे बर्साइन नगरपालिकाको महनौरी गाउँका २० वटा घर बगाएको छ । घर बगाएपछि सर्वसाधारण अर्काको घरमा बस्न बाध्य भएका छन् ।

हनुमाननगर-कंकालनी नगरपालिका वडा नम्बर १३ गोबरगाढाका हरेक घरमा पानी पसेको छ । यहाँका करिब ५ सय परिवारको घरमा पानी पस्दा सर्वसाधारण कष्टपूर्ण जीवन धान्न बाध्य भएका छन् ।

यही नगरपालिकाको वडा नम्बर १४ रम्पुरा मल्हनियाँको हरेक घरमा पानी पस्दा सर्वसाधारण पीडित बनेका छन् ।

प्रहरी पनि विस्थापित

वर्षाका कारण तिलाठी प्रहरी चौकीबाट प्रहरीहरु विस्थापित भएका छन् । यहाँका प्रहरी सुरक्षित ठाउँमा पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । खाँडो नदीमा आएको बाढीले तिलाठी प्रहरी चौकी र भन्सार कार्यालयसमेत डुबानमा परेको छ ।

खाँडो खोलाको बाँध बिभिन्न ठाउँमा भत्किँदा तिलाठी-कोइलाडी गाउँपालिकाका अधिकांस वडामा पानी पसेको छ । खाँडो खोलाको बाढीले गाउँपालिकाको वडा नम्बर १ तिलाठीका करिब ४ सय परिवारको घर डुबानमा परेको छ । यो गाउँपालिकाको सकधरपुरा र बेल्ही गाउँमा पनि खाँडो नदीको बाढी पस्दा घरहरु डुबानमा परेका छन् ।

पानीको निकास नहुँदा सदरमुकाम राजविराज नगरपालिकाका घरमा समेत पानी पसेको छ । वडा नम्बर २ का अधिकांस व्यक्तिको घर जलमग्न छन् । मुख्य सडकहरु पानीले भरिएका छन् ।

खड्ग र पाँचु खोलामा आएको बाढीले डाक्नेश्वरी नगरपालिकाका अधिकांस ठाउँ डुबानमा परेका छन् । यो नगरपालिकाको प्रमुख बजार पातो पूर्ण रुपले जलमग्न छ भने औरही, तरही, भुतहीसहितका गाउँका घर पनि डुबानमा परेका छन् ।

अबिरल वर्षाको कारण त्रियुगा खोलामा आएको बाढी वस्तीमा पसेको छ । उक्त बाढी सप्तकोसी नगरपालिका ३ स्थित दलित वस्तीमा पस्दा ३५ परिवार जोखिममा परेका छन् । सोही नगरपालिकाको वडा नम्बर ७ स्थित चौधरी बस्तीमा समेत बाढी पस्दा २५ परिवार जोखिममा छन् । यो नगरपालिकाको केन्द्र फत्तेपुर पनि डुबानमा परेको छ । फत्तेपुरस्थित त्रियुगा खोलाको हेडबाँध पारुहाङ चोक क्षेत्रका करिब सय घरमा बाढी पसेको छ ।

बलान र बिहुल नदीमा आएको बाढीले बोदे बर्साइन नगरपालिका र बलान-बिहुल गाउँपालिकामा पानी पसेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment