Comments Add Comment

युएईसँगको श्रम सम्झौता कार्यान्वयन भएपछि नेपाली कामदारका अपेक्षा सम्बोधन हुन्छ : राजदूत ढकाल 

युएई । युुएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले युएईसँगको श्रमसम्झौता कार्यान्वयनमा आएपछि नेपाली कामदारका थुप्रै अपेक्षा सम्बोधन हुने विश्वास व्यक्त गरेका छन् ।

दूतावासले शुक्रबार अलऐन र शारजहा राज्यमा आयोजना गरेको श्रमिक सचेतना अन्तरक्रिया कार्यक्रममा सहभागी हुँदै राजदूत ढकालले  कामदारले राखेका अपेक्षाको सम्बोधन हुँदै जाने विश्वास दिलाएका हुन् । युएईमा कार्यभार सम्महालेपछि पहिलोपटक मजदुर क्याम्पमा पुगेर उनले नेपाली कामदारका समस्या, गुनासो र अपेक्षाबारे जानकारी लिएका हुन् ।

साथै नेपाली कामदारको समस्या समाधान उनीहरुको हित र हकको प्रबर्द्धनमा युएई सरकारले गदै आएको सकारात्मक सहयोगको उनले प्रशंसा गरे । नेपाल सरकार युएई सरकारसँग मिलेर दुवैपक्षको हितमा काम गर्दै आएको र आगामी दिनमा समेत सोही अनुसार रहने धारणा राखे  ।

स्वास्थ्य परीक्षण सहित सचेतना कार्यक्रम 

दूतावासले शुक्रबार अलऐनको आबुधाबी नेशनल होटल र शारजहास्थित ल्याक्नाेर नेशनल फुड प्रोडक्ट कम्पनीमा कार्यरत नेपाली कामदारसँग कार्यस्थलमै पुगेर छलफल गरेकोे  छ ।

नेपाली कामदारलाई आइपरेका समस्या बुझ्ने, समाधानको उपाय खोजीका साथै दुतावासले दिने सेवासुविधाका विषयमा जानकारी दिने अभिप्रायले जनतेचनामूलक अभियान चलाएको दूतावासका द्धितीय सचिव तथा सुचना अधिकारी विष्णुकुमारी अधिकारीले जानकारी दिइन् ।

कार्यक्रममा सहभागी कामदारका बीच दुतावासको टोलीले कामदारका समस्या, तथा यहाँ बस्दा ध्यानदिनुपर्ने बिषय, सवारी नियम, कमाएको पैसाको उचित प्रयोग, सुरक्षित बचत र घरमा पैसा पठाउँदा वैैधानिक बाटोको प्रयोगबारे जानकारी गराएको छ ।

तृतीय सचिव नारायण ज्ञवालीले दुतावासले दिदै आएको सेवा सुविधा, कामदारको हितमा भइरहेका प्रयास, नेपाली कामदारको अवस्था र सुरक्षा लगायतका बारेमा जानकारी गराए ।

 कार्यक्रममा सहभागी कतिपय कामदारले सेवा सुविधा र तलव स्केल बढाउनका लागि रोजगारदाता कम्पनीसँग दुतावासले पहल गरिदिन आग्रह गरे । यस्तै करार अवधी पुरा भएर घरफर्कदा कतिपय रोजगारदाताले हवाई टिकट उपल्बध नगराएको गुनासो राखे । रोजगारदातासँग भएको सम्झौता अनुसारको सेवा नपाएमा दुतावासलाई जानकारी गराउन श्रम काउन्सुलर भेषबहादुर कार्कीले आग्रह गरे । कार्यक्रमको संचालन तृतीय सचिव केशवराज पोखरेलले गरेका थिए ।

कार्यक्रममा दूतावास टाेलीसँगै एनआरएन र रेमिट्यान्स प्रतिनिधिकाे समेत सहभागीता थियाे।

यसअघि दुतावासले आबुधाबी र दुबईमा यस्तै कार्यक्रम गरेको थियो । वार्षिक कार्यक्रम अन्तरगत दूतावासले गतवर्षदेखि मजदुर क्याम्पमा सचेतना अभियानलाई निरन्तरता दिदै आएको हो।

यसैबिच कार्यक्रममा सहभागी कामदारको निशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । मेडियर र लाइफलाइन अस्पतालसँगको प्राविधिक सहयोगमा उनीहरुको स्वास्थ्य परीक्षण गरिएको हो । अलऐनमा  १  सय ५० जना र शारजहामा  १०० जना गरी २५० जनाको स्वास्थ्य परीक्षण भएको लाइफलाइन अस्पतालकी बजार प्रतिनिधि रन्जिना गुरुङले जानकारी दिइन् ।

स्वास्थ्य परीक्षणमा धेरै जनामा उच्च रक्तचाप र  मधुमेहको समस्या देखिएको चिकित्सकले जनाएका छन्। खानपान र नियमित व्यायाम गर्न चिकित्सकको सुझाव छ। पाकिस्तानी डाक्टर दिलिप कुमारले सहभागीहरुको स्वास्थ्य परीक्षण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment