
२९ साउन, रौतहट । अविरल वर्षासँगै लालबकैया र बाग्मती नदीमा आएको बाढीका कारण डुवानमा परेको रौतहटमा आइतबार विहानदेखि भने पानी पर्न रोकिएको छ ।
बाढीमा परेर जिल्लामा ५ जनाको मृत्यु भएको छ, २ जना अझै बेपता छन् । डुवानका कारण पाँच सय बढी घरमा क्षति पुगेको छ भने करौडौंको बालीनाली नोक्सान भएको छ । डुवान प्रभावितहरु सडक र विद्यालय भवनमा बसेका छन् । खानेपानी र बासस्थानको अभावमा दैनिकी कष्टपूर्ण बनेको छ ।
सडकमै बास
बाढीले घर भत्काएपछि गौर–चन्द्रनिगाहपुर सडकखण्डको विभिन्न स्थानमा प्लास्टिकको छाप्रो हालेर बसेका छन् । उनीहरुले विहान बेलुका खान र लत्ता कपडाको समस्या भएको गुनासो गरेका छन् ।
‘दुई दिनदेखि सडकमा प्लास्टिक ओछ्याएर बसेका र्छौं । खानबस्न समस्या भइसक्यो’ सबगढहाका रामबाबु साहले बताए । अन्नपात, लत्ताकपडा सबै घरभित्रै पुरिएको छ ।
अचानक आएको बाढीका कारण घरबाट केही निकाल्न नपाएको उनीहरु बताउँछन् । पानीको कलबाट लेदो मिसिएको पानी आउँदा शुद्ध खानेपानीको अभाव भएको छ । डुवान प्रभावितहरुले त्यही पानी प्रयोग गर्नुपर्ने बाध्यताले महामारीको खतरा समेत बढेको छ ।
करोडौंको नोक्सानी
बाढीले सदरमुकाम गौर डुवानमा पर्यो । पसलहरुमा पानी पस्दा करोडौंको क्षति भएको छ ।
खाद्यान्नका गोदामहरुमा राखिएको चामल, दाल, गहुँ तथा अन्य बाली बाढीले नष्ट बनाएको छ । ‘हजारौ क्विन्टल चामल र गहुँ राखिएको गोदाममा पानी पस्यो । केही जोगाउन सकिएन’ खाद्यान्न व्यवसायी अरुण अग्रवालले भने, ‘२० लाख भन्दा बढीको क्षति भएको छ । कसलाई भन्ने, के गर्ने ?’
क्षतिको यकिन तथ्याङ्क नभए पनि करोडौंको क्षति भएको हुनसक्ने उद्योग वाणिज्य संघका अध्यक्ष पण्डित जयसवालले बताए । उनका अनुसार बाढीका कारण खाद्यान्न, कपडा र किराना पसला अधिकांश सामान नष्ट भएको छ भने पोल्ट्री फर्म, माछापालक किसानसमेत प्रभावित भएका छन् ।
प्रतिक्रिया 4