Comments Add Comment

बाढी र डुवान प्रभावित क्षेत्रमा हेलिकोप्टरबाट खाद्यान्न र औषधी

२९ असार, काठमाडौं । बाढी र डुवान प्रभावित क्षेत्रमा सरकारले हेलिकोप्टरबाट खाद्यान्न र औषधी पठाउन थालेको छ ।

धनुषाको जनकनन्दिनी गाउँपालिकाको ९ वटा बस्तीका लागि हेलिकोप्टरबाट खाद्यान्न र औषधी ढुवानी भएको गृह मन्त्रालयले जनाएको छ ।

सर्लाही, सिरहा, महोत्तरी र रौतहट जिल्लाको बाढी र डुवान प्रभावित क्षेत्रमा हेटौंडाबाट त्रिपाल ढुवानी भएको पनि मन्त्रालयले आइतबार साँझ विज्ञप्तिमार्फत जानकारी दिएको छ । सप्तरीमा भने इटहरीबाट त्रिपाल लगिएको छ ।

घरबाट बाहिर सुरक्षित बसेकाहरुलाई भने खानेकुराको व्यवस्थापन गर्न थालेको मन्त्रालयको भनाइ छ । ‘स्वास्थ्य मन्त्रालयको समन्वयमा सम्भावित महामारीलाई मध्यनजर गरी प्रभावित जिल्लाहरुका लागि स्वास्थ्यकर्मी र औषधी तयारी अवस्थामा राखिएको छ’ मन्त्रालयका सहायक प्रवक्ता उमाकान्त अधिकारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

असार २६ गतेदेखिको वर्षा, बाढी र डुवानका कारण हालसम्म ५० जनाको मृत्यु भइसकेको छ भने ३२ जना वेपत्ता छन् । हालसम्म हवाई, जल तथा स्थलमार्गबाट २ हजार १ सय ५६ जनालाई उद्धार गरिएको मन्त्रालयले जनाएको छ ।

हुलाकी मार्ग अनुगमनका गएका प्राविधिकको हेलिकोप्टर उद्दार

बाढी र डुवानका कारण सिरहाको बसविट्टामा दुई दिनदेखि अलपत्र परेका इन्जिनियरसहित ९ जनाको टोलीको आइतबार उद्दार गरिएको छ ।

हुलाकी राजमार्ग अन्तर्गत सिरहाको सिरहा नगरपालिका बसविट्टास्थित निर्माणाधीन पुल अनुगमनमा गएको इन्जिनियर जामुन यादवसहितको टोलीको दुई दिनपछि हवाई उद्दार गरिएको हो ।

काठमाडौं र इटहरीबाट दिनभरमा पटक पटक हवाई उद्दारको प्रयास गर्दा पनि मौसमका कारण सफल नभएपछि सुर्खेतबाट आएको टोलीले शनिबार साँझ उद्दार गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment