Comments Add Comment

बाढी प्रभावित क्षेत्रमा सरकारी कामको कांग्रेसले अनुगमन गर्ने

राजनैतिक पूर्वाग्रह त्यागेर पीडितको सेवामा समर्पित हुन देउवाको निर्देशन

३० असार, काठमाडौं । नेपाली कांग्रेसले राजनैतिक पूर्वाग्रह त्यागेर बाढी पहिरो प्रभावितको उद्धार तथा राहतमा जुट्न पार्टीका सबै सदस्यहरुलाई निर्देशन दिएको छ । कांग्रेसले प्रभावित क्षेत्रमा उद्धार र राहतको कार्यमा सरकारले गरेको कामको अनुगमन पनि गर्ने भएको छ ।

सभापति शेरबहादुर देउवाले सोमबार प्रेस विज्ञप्ति जारी गरी पीडामा परेकाहरुको सेवामा समर्पित हुन कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् । विज्ञप्तिमा लेखिएको छ, ‘विपत्तिको समय आन्तरिक राजनैतिक विषय हुन् या राष्ट्रिय राजनीतिका अन्य मुद्दा, सबै खाले राजनैतिक आग्रह-पूर्वाग्रह भन्दा माथि उठेर पीडामा परेका दिदीबहिनी-दाजुभाइको सेवामा समर्पित हुनु हामी सबैको परम कर्तव्य हो ।’

यसअघि कांग्रेसको जारी केन्द्रीय कार्यसमितिको बैठकले उद्धार र राहतमा समर्पित हुने निर्णय गरेको जानकारी देउवाले दिएका छन् । ‘प्राकृतिक विपत्तिको यो घडी जारी केन्द्रीय कार्यसमितिको बैठक स्थगन गरेर सम्पूर्ण रुपले उद्धार र राहतमा समर्पित हुने निर्णय हामीले गरेका छौं,’ विज्ञप्तिमा लेखिएको छ ।

कांग्रेसले प्रभावित क्षेत्रमा उद्धार र राहतको कार्यमा सरकारले गरेको कामको अनुगमन पनि गर्ने भएको छ । ‘प्रभावित क्षेत्रमा उद्धार र राहतको कार्य सरकारले कति व्यवस्थित ढंगले गरिरहेको छ त्यसको अनुगमनसमेत प्रमुख प्रतिपक्षी दलका नाताले नेपाली कांग्रेसले गर्ने जानकारी पनि गराउँदछु,’ देउवाले जारी गरेको विज्ञप्तिमा लेखिएको छ ।

कांग्रेसले अविरल वर्षा र पहिरोका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै मृतकहरुको आत्माको चिर शान्तिको कामना गरेको छ ।

हेर्नुहोस् कांग्रेस सभापति शेरबहादुर देउवाले जारी गरेको विज्ञप्ति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment