Comments Add Comment

नेपालको ऐक्यवद्धता खोज्दै भेनेजुएलाका मुदुरो !

राष्ट्रपतिका छोराले प्रधानमन्त्री ओलीलाई भेट्न पाएनन्

३१ असार, काठमाडौं । राजनीतिक संकटसँग जुधिरहेका भेनेजुएलाका राष्ट्रपति निकोलस मुदुरोका छोरा गुयरा सुटुक्क नेपाल आए । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरुलाई भेटेका उनको राष्ट्रपति र प्रधानमन्त्रीलाई भेट्ने प्रयास भने असफल भएको छ ।

गुयराको टोली मंगलबार फर्किँदैछ । यहाँबाट चीन हुँदै उत्तर कोरिया जाने कार्यक्रम रहेको बताइएको छ ।

किन आए गुयरा ?

वर्ल्ड फेडेरेसन अफ डेमोक्रेटिक युथको सम्मेलनका क्रममा नेकपासम्वद्ध युवा संघका सन्तोष रावलसहित चार नेता करिव डेढ महिना पहिले भेनेजुएला पुगेका थिए । त्यसक्रममा उनीहरुले गुयराको टोलीलाई पनि भेटेे र कुराकानीका क्रममा नेपाल भ्रमणमा आउन आग्रह गरे । औपचारिक निम्तो भने दिइएको थिएन ।

तर, त्यही निम्तोलाई मानेर गुयराको टोली नेपाल आयो । युवा संघका एक नेताले अनलाइनखबरसँग भने, ‘उहाँहरुले हाम्रो संयोजकलाई पत्र नै लेखेर नेपाल आउँछौं भन्नुभएको रहेछ ।’

भेनेजुएलामा घरेलु राजनीतिक संकटसँग जुधिरहेका राष्ट्रपति मुदुरोले आफ्नो छोरालाई नेपाल पठाएर नेपालबाट ऐक्यवद्धता खोजेको सत्तारुढ नेकपाका नेताहरु बताउँछन् ।
नेकपाका एक नेता भन्छन्, ‘अमेरिकी हस्तक्षेपसँग लडिरहेको भेनेजुएला कम्युनिस्ट शक्ति भएको देशहरुबाट ऐक्यवद्धता चाहन्छ । नेपालबाट पनि उसले यही चाहेको छ ।’

त्यसैले भेनेजुएलाको टोलीले राष्ट्रपति, प्रधानमन्त्री, शिक्षामन्त्री र संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्रीलाई भेट्न चाहेको थियो । तर, औपचारिक निमन्त्रणामा नआएका कारण सरकारी अधिकारीहरुले भेटवार्ता गर्न अस्वीकार गरेको स्रोतले बताएको छ ।

टोलीले नेकपा अध्यक्ष प्रचण्ड, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, झलनाथ खनाल, नेताहरु बामदेव गौतम र नारायणकाजी श्रेष्ठसँग छुट्टाछुट्टै भेटवार्ता गरेको छ । सोमबार संसदमा पुगेर टोलीले नेकपाका सांसदहरुलाई पनि भेटेको छ ।

भनेजुएलाबाट राष्ट्रपतिका छोरा सुटुक्क नेपाल भ्रमणमा आएको भन्दै मिडियामा यसले व्यापक चर्चा पाएको छ । तर, नेकपाका राष्ट्रियसभा सदस्य बलराम बास्कोटा भने यो भ्रमण स्वाभाविक भएको मान्छन् ।

संसारभर कम्युनिस्टहरु रक्षात्मक अवस्थामा भएका बेला नेपालमा कम्युनिष्टहरु शक्तिशाली भएपछि यसबारे बुझ्न भेनेजुएलाको टोली नेपाल आएको बास्कोटाले बताए ।
भेनेजुएलामा कुनै राजनीतिक संकट नभएको तर, अमेरिकाले संकट सिर्जना गर्न खोजेको तर्क गर्दै बास्कोटाले भने, ‘तर मुदुरो सरकार कमजोर भएको छैन, उनीहरुलाई जनताको समर्थन छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment