Comments Add Comment

नेप्सेमा गरेको लगानी निकाल्दै राष्ट्र बैंक

३१ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपाल स्टक एक्सचेञ्जमा गरेको लगानी बिक्री गर्ने भएको छ । नेप्सेमा रहेको आफ्नो सेयर स्वामित्व बिक्री गर्न राष्ट्र बैंकले मंगलबार सार्वजनिक सूचना जारी समेत गरेको छ ।

नेप्सेमा राष्ट्र बैंकको १७ लाख २९ हजार ९ सय ८९ कित्ता सेयर लगानी रहेको थियो । प्रतिकित्ता १ हजार ३२ रुपैयाँ न्यूनतम मूल्य तोक्दै राष्ट्र बैंकले बोलकबोलमार्फत आफ्नो सेयर बिक्री गर्न खोजेको हो ।

उक्त सेयर बैंक तथा वित्तीय संस्था, धित्रोपत्र व्यवसायीका सँगै सुचीकृत संगठित संस्थाले आवेदन दिन पाउने उल्लेख गरिएको छ । सूचनामा जनाइए अनुसार भदौ २ गतेसम्म आवेदन दिन मिल्ने छ भने भदौ ४ गते बोलपत्र खुला गरिनेछ ।

नेप्सेमा सबैभन्दा धेरै लगानी नेपाल सरकारको रहेको छ । नेपाल सरकारपछि सबैभन्दा ठूलो लगानी भएको राष्ट्र बैंकले आफ्नो लगानी बिक्री गर्न लागेको हो । नेप्सेमा नेपाल सरकारको ५८.६६ प्रतिशत सेयर लगानी रहेको छ भने राष्ट्र बैंकको ३४.६० प्रतिशत लगानी रहेको छ ।

त्यसैगरी राष्ट्रिय वाणिज्य बैंकको ६.१२ प्रतिशत लगानी रहेको नेप्सेमा सेयर ब्रोकहरुको १ प्रतिशतभन्दा कम लगानी रहेको छ ।

किन बेच्न खोजियो सेयर ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) नेपालको एकमात्रै सेयर कारोबार गर्ने संस्था हो । पछिल्लो समय निजी क्षेत्रको समेत लगानी भएको स्टक एक्सचेञ्ज चाहिने भन्दै आवाज उठ्ने गरेको छ ।

केही कम्पनीहरुले नयाँ स्टक एक्सचेज सञ्चालनका लागि नेपाल धितोपत्र बोर्डमा अनुमति माग गर्दै आवेदनसमेत दिएका छन् । बोर्डले पनि नयाँ स्टक एक्सचेञ्ज ल्याउने तयारी गरेपछि नेपाल राष्ट्र बेंकका गभर्नर डा. चिरञ्जीवि नेपालले असन्तुष्टि व्यक्त गरेका थिए ।

बोर्डका अध्यक्षसमेत भइसकेका गभर्नर नेपाल नयाँ स्टक एक्सचेञ्ज ल्याउनु हुँदैन भन्ने पक्षमा थिए तर बोर्डले ल्याउने तयारी गरे पछि राष्ट्र बैंकले सेयर बेच्न लागेको श्रोतले बताएको छ । किन बेच्न लागिएको हो भन्ने विषयमा भने राष्ट्र बैंकले केही बोलेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment