Comments Add Comment

मुख्यमन्त्रीको आश्वासनपछि डडेल्धुराका चिकित्सक काममा फर्किए

३१ असार, डडेल्धुरा । असुरक्षा भएको भन्दै काम छाडेको ५ दिनपछि डडेल्धुरा अस्पतालका चिकित्सक मंगलबारदेखि काममा फर्किएका छन् ।

कार्यक्षेत्र छाडेर धनगढी पुगेका जिल्ला अस्पतालका चिकित्सक सोमबार साँझ जिल्ला सदरमुकाम फर्किएका थिए भने मंगलबारदेखि विरामी जाँच सुरु गरेका हुन् ।

सुरक्षाको लागि जिल्ला अस्पतालमा सुरक्षाकर्मी परिचालित गरिएको छ । अस्पताल र चिकित्सकमाथि आक्रमण भएको भन्दै उनीहरुले काम छाडेका थिए । जिल्ला अस्पतालमा २२ जना प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको डडेल्धुराका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले जानकारी दिए ।

अस्पतालमा पोस्टमार्टम गरिरहेका चिकित्सकमाथि हातपात भएपछि त्यहाँ कार्यरत १० जना चिकित्सकले शुक्रबारदेखि जिल्ला छाडेका थिए । प्रहरीले चिकित्सकमाथि हातपात गर्ने मध्येका एक जनालाई पक्राउ गरेको छ ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले पनि चिकित्सकलाई सुरक्षा दिने प्रतिबद्धता जनाएपछि काममा फर्किएको अस्पतालका मेडिकल सुरपरिटेन्डेन्ट डा‍. जितेन्द्र कँडेलले जानकारी दिए ।

‘मुख्यमन्त्रीज्यूले दोषीलाई समाएर कारबाही अगाडि बढाउँछौं र तपाईंको सुरक्षाको जिम्मा हामी दिन्छौँ भनेपछि डाक्टरहरु सोमबार पुनः डडेल्धुरा फर्किसक्नुभएको छ’ उनले भने, ‘हामीले दिन सक्ने सेवा अहिले दिइरहेका छौं ।’

अस्पतालमा गत असार २५ गते सवारी दुर्घटनामा परी मृत्यु एक व्यक्तिको पोस्टमार्टम गरिरहेका चिकित्सकमाथि मृतकका आफन्तले हातपात गरेका थिए । चिकित्सकमाथि आक्रमण हुँदा ७ महिनादेखि डडेल्धुरा अस्पतालमा कार्यरत डा. दिनेश उपाध्यको घुँडामा चोट लागेको थियो ।

जाहेरी फिर्ता लिन दबाब

अस्पतालका मेडिकल सुरपरिटेन्डेन्ट डा जितेन्द्र कँडेलका अनुसार चिकित्सकमाथि आक्रमणमा संलग्न दुई जनाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा किटानी दर्ता गरिएको छ । तर उक्त जाहेरी फिर्ता लिन दबाब आएको उनले बताए ।

‘हामीले प्रहरी कार्यालयमा किटानी जाहेरी दर्ता गराइसकेका छौँ तर त्यो किटानीलाई लिएर राजनीतिक दबाब सुरु भइसकेको छ’ उनले भने, ‘यही माहोल रहने हो भने ‘प्रेसर’मा काम गर्न सकिने परिस्थिति रहँदैन ।’

मंलबारदेखि सेवा सञ्चालन गर्न नपाउँदै फेरि दबाब आउन सुरु भएको भन्दै उनले यसले जिम्मेवारी छोड्न सक्ने स्थिति आउने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment