Comments Add Comment

प्रधानमन्त्री ओलीसामू युवाको संसदीय अभ्यास

३१ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसामू युवाले नमूना संसद बैठकको अभ्यास देखाएका छन् । राष्ट्रिय युवा परिषद्को आयोजनामा ‘नमूना युवा संसद बैठक’ देखाइएको हो ।

जसमा युवाको तर्फबाट ‘नमूना संसद’ का प्रधानमन्त्री सञ्जिव न्यौपानेले नीति तथा कार्यक्रमका विषयमा उठेका सवालबारे सम्बोधन गरेका थिए । उनले युवालाई उद्यमशील र उत्पादनसँग जोड्दै समृद्धिको यात्रामा युवा सरकार लाग्ने प्रतिबद्धता व्यक्त गरे ।

युवाको संसदीय अभ्यास हेरेका प्रधानमन्त्री ओलीले नमुना युवा सांसदले युवामा देश कसरी सञ्चालन गर्ने, विकास कसरी गर्ने भन्ने विषयका सैद्धान्तिक तरिकाहरु के कस्ता हुन्छन् भन्ने कुरा जानकारी दिएको बताए ।

‘उहिले हाम्रा पालामा सरकारले तँ राजनीति गर्ने, मन्त्री हुने भन्दै जेलमा लगेर कुट्थ्यो’, ओलीले भने, ‘अहिले सरकारले बोलाएरै तपाईंहरुलाई राजनीति गर्न सिकाइरहेको छ । यो सिकाइलाई समाज सुधारसँग तपाईंहरुले जोड्नुहुन्छ भन्ने अपेक्षा छ ।’

सोही अवसरमा ओलीले विगतका शासकका कमजोरी र निजी स्वार्थले नेपालको विकास हुन नसकेको बताए । ‘विगतका शासकहरुको अदुरदर्शीता र निजी स्वार्थका कारणले देशको विकास हुन सकेन तर अब त्यो अवस्था छैन’, उनले भने, ‘अहिले आफ्नो लागि भन्दा देशको स्वार्थलाई माथि राख्नेहरु सरकारमा छन् । त्यसकारण नेपालको विकास गर्न समस्या छैन ।’

प्रधानमन्त्री ओलीले देशमा अहिले काम गर्न सक्ने जनसंख्याको बाहुल्यता भएकोले पनि देश विकासका लागि अनुकुल समय भएको बताए । ‘हामीसँग यतिबेला युवा जनसंख्या ४० प्रतिशत र काम गर्न सक्ने जनसंख्या ६० प्रतिशत छ’, उनले भने, ‘जनसंखिक लाभको यो अवसरलाई हामीले सदुपयोग गरेर देश विकास गर्न सक्दछौं ।’

प्रधानमन्त्री ओलीले आफूले २०४० सालतिर जेलमा छँदा खर्पन भन्ने कविता लेखेको स्मरण गर्दै देश विकासका लागि आफू सबै जनतालाई खर्पनमा बोकेर हिड्न तयार भएको जनाए ।

‘देशको विकासका लागि म युवालाई,बालबालिकालाई,ज्येष्ठ नागरिकलाई दुवैतिर खर्पनमा बोकेर हिड्न तयार छु’, उनले भने ।

नमूना संसदमा गृहमन्त्रीको रुपमा विष्णु पोखरेल, परराष्ट्रमन्त्रीमा समुन्द्र तिमिल्सिना, स्वास्थ्यमन्त्रीमा दुर्गा आचार्य, शिक्षामन्त्रीमा दिनेश कार्की र प्रतिपक्षी दलको नेतामा झापाका सरोज ढकाल चुनिएका थिए ।

देशभरिका वडा युवा क्लब, नगर सञ्जाल र प्रदेश युवा सञ्जाल समितिबाट नमूना युवा संसद अभ्यास गर्दै संघीय नमुना गरिएको हो । कार्यक्रममा ८० युवा सहभागी थिए भने भेलाले विवेक त्रिपाठीको नेतृत्वमा ११ सदस्यीय राष्ट्रिय युवा सञ्जाल पनि चयन गरेको छ ।

कार्यक्रममा युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्मा, सांसद् पम्फा भुसाल लगायतको उपस्थिति थियो । कार्यक्रमअघि तीन दिन पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ, प्रतिनिधिसभा सदस्य महेश बस्नेत, राष्ट्रियसभा सदस्य बद्री पाण्डे, पहिलो युवा सरकारका प्रधानमन्त्री अशोक खनाल लगायतले संसदीय अभ्यासबारे प्रशिक्षण दिएका थिए ।

नमूना प्रधानमन्त्रीलाई बालुवाटारमा निमन्त्रणा

कार्यक्रमलगत्तै नमूना प्रधानमन्त्री न्यौपानेसहित टोलीलाई प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको थियो ।

प्रधानमन्त्री ओलीकै आग्रहमा सोमबार बिहान उनीहरु बालुवाटार पुगेका थिए । बालुवाटारमा प्रधानमन्त्रीसँग भेटघाट र छलफलपछि ओलीको भाषणको सारंश पनि उनीहरुले लगेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment