Comments Add Comment

सद्दे गाडी ग्यारेजमा थन्काएर संसदीय समितिका सभापतिलाई नयाँ गाडी

सरकारले असारमै सक्यो साढे २ खर्ब बजेट

१ साउन, काठमाडौं । आज पत्रिकामा फरक-फरक समाचार प्रकाशित भएका छन् । कान्तिपुर दैनिकमा असार महिनामै साढे २ खर्ब बजेट सरकारले सकेको समाचार छ । नागरिक दैनिकमा सद्दे गाडी ग्यारेजमा थन्काएर संसदीय समितिका सभापतिलाई सरकारले नयाँ गाडी उपलब्ध गराएको समाचार छ ।

मंगलबार साँझसम्म बजेटको कुल खर्च १० खर्ब ८२ अर्ब ८५ करोड रुपैयाँ भएको र खर्च भएको बजेटको करिब २४ प्रतिशत अर्थात् २ खर्ब ५६ अर्ब ४० करोड ५३ लाख रुपैयाँ असारमै सकिएको कान्तिपुरले लेखेको छ ।

विकासतर्फको कुल पुँजीगत खर्चमध्ये ३५ प्रतिशत असारमै सकिएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ । सरकारले असार अन्तिम साताको एकै दिनमा ३२ अर्ब रुपैयाँ खर्चिएको छ । असार २६ गते सबैभन्दा बढी अर्थात ३२ अर्ब, २९ गते ३१ अर्ब र ३० गते २४ अर्ब रुपैयाँसम्म खर्चियो ।

कान्तिपुर लेख्छ- यति हुँदाहुँदै पनि सरकारले मध्यावधि समीक्षामार्फत् संशोधन गरेको खर्च र राजस्वको लक्ष्य भेट्न सकेन । त्यसमा १२ प्रतिशतले राजस्व संकलन कम भयो ।

कान्तिपुरले नेपालसहित दक्षिण एसियाको मुख्य रोजगारी क्षेत्र मानिएको खाडीका ६ वटा देश साउदी अरब, यूएई, ओमन, कुवेत, कतार र बहराइनमा रोजगारको अवसर घट्दै गएको समाचार पनि छापेको छ । आर्थिक वर्ष २०७५/७६ मा विदेश जाने नेपाली कामदारको संख्या १६.९५ प्रतिशतले कम भएको समाचारमा उल्लेख छ ।

नागरिक दैनिकले संघीय संसदअन्तर्गत विभिन्न समितिका सभापतिले प्रयोग गर्दै आएका सद्दे गाडी ग्यारेजमा थन्काउँदै उनीहरुलाई नयाँ गाडी दिने तयारी भएको समाचार छापेको छ । पहिलो लटमा चार समितिका सभापतिलाई गाडी उपलब्ध गराइसकिएको छ । दोस्रो लटमा ११ सभापतिलाई गाडी उपलब्ध गराइने जनाएको छ । सचिवालयले ६ करोड १६ लाख रुपैयाँ खर्चेर ११ स्कोर्पियो गाडी खरिद गरिसकेको समाचारमा उल्लेख छ ।

नागरिकमा विभिन्न मठमन्दिरका अर्बौं रुपैयाँ पर्ने जग्गा आफ्नो स्वामित्वमा ल्याएर बेचेको आरोप लगाएका महोत्तरीको लक्ष्मीनारायण मठ मटिहानीका महन्त जग्गनाथ दास वैष्णवलाई गुठी संस्थानले निलम्बन गरेर छानबिन सुरु गरेको समाचार पनि छ ।

राजधानी दैनिकले सीटीईभीटीबाट तालिम लिएर पाँच लाख प्राविधिक जनशक्ति उत्पादन हुँदा दुई लाख बेरोजगार हुने गरेका समाचार छापेको छ । राजधानीमै न्याय प्रणाली सुधार्न सर्वोच्च अदालतले चौथो पञ्चवर्षीय रणनीतिक योजना सार्वजनिक गरेको समाचार पनि छ । योजनाअनुसार ५० प्रतिशत मुद्दा फर्छ्यौट गर्नैपर्ने समाचारमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment