Comments Add Comment

सय शैय्याको प्राकृतिक चिकित्सालय बनाउँदै विन्ध्यवासिनी

१ साउन, पोखरा । पोखरामा करिब ०५४/५५ सालसम्म प्राकृतिक चिकित्सालय थियो, सीमपानीमा । डा चन्द्रकान्त सुवेदीले व्यक्तिगत रुपमा बनाएको उक्त चिकित्सालय त्यतिबेला पोखरामा प्रभाव जमाउन नसकेपछि नवलपुर सर्‍यो ।

भएको प्राकृतिक चिकित्सालय अन्तै सरेपछि प्राकृतिक चिकित्सा विधिमा रुचि भएका पोखरेलीलाई नवलपुर पुग्नुपर्छ । अहिले पनि कैयौं पोखरेली प्राकृतिक उपचारविधि खोज्दै नपवलपुर पुग्ने गरेका छन् । पोखरामै पुनः प्राकृतिक चिकित्सालय खोल्न उनीहरुले माग पनि गर्दै आइरहेका थिए ।

सीमपानीमा भएको प्राकृतिक चिकित्सालय नवलपुर पुगेको करिब १ दशकपछि पोखरामा फेरि प्राकृतिक चिकित्सालय खुल्ने भएको छ । पोखरामा रहेको विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले प्राकृतिक चिकित्सालय बनाउने भएको छ । १ वर्षभित्रै सेवा दिने गरी मंगलबार चिकित्सालयको उद्घाटन पोखरा महानगरका मेयर मानबहादुर जिसीले गरेका हुन् ।

पोखरा १ नदीपुरमा रहेको विन्ध्यवासिनी धार्मिक गुठीको २१ रोपनी जग्गामा चिकित्सालय बन्ने भएको हो । आधुनिक चिकित्सा विधामा आधारित रहेर ल्याबसहिकतको प्राकृतिक चिकित्सालय बनाउन लागिएको समितिले जनाएको छ । ल्याबको अनुमानित लागत २६ करोड छ ।

चिकित्सालय २ चरणमा बन्ने समितिका सचिव तीर्थ श्रेष्ठले जानकारी दिए । उनले पहिलो चरणमा सय शैय्याको चिकित्सालय बनाउने र बाँकी शैय्या पछि थप्दै जाने जानकारी दिए । उनले भने, ‘पहिलो चरणमा करिब १५ करोड लाग्ने अनुमान गरेका छौं । पछि ३ सय शैय्यासम्म बढाउने गरी योजना बनाएका छौं ।’

सचिव श्रेष्ठले चिकित्सालयमा दीर्घ तथा सरल पद्धतिबाट विभिन्न रोगको उपचार हुने जानकारी दिए । उनले भने, ‘यसमा विभिन्न प्राकृतिक उपचार विधि अपनाइन्छ । पञ्चकर्म पद्धति, थेरापी, वाष्प स्नान, माटो लेपन उपचार लगायत विधिबाट उपचार हुन्छ ।’ चिकित्सालय बनाउन प्रदेश सरकारबाट ५० लाख रुपैयाँ प्राप्त भएको छ । सचिव श्रेष्ठले चिकित्सालय बनाउन दाताहरुको खोजी पनि सँगसँगै भइरहेको सुनाए ।

चिकित्सालय सञ्चालनका जिम्मा लिएका डा विनोद गौतमले बन्न लागेको चिकित्सालय अस्पताल नभई जीवन जिउन सिकाउने विद्यालय हुने बताए । उनले भने, ‘चिकित्सालय भन्ने वित्तिकै धेरैले कस्तो होला ? के होला ? भन्ने जिज्ञासा राख्नु भएको छ । यो अस्पताल भन्दा पनि जीवन जिउज सिकाउने विद्यालय हुनेछ ।’ उनले प्राकृतिक चिकित्सालय औषधिविहीन चिकित्सालय भएको बताए ।

गौतमले प्राकृतिक उपचार पद्धतिबारे आम मान्छेमा गलत धारणा रहेको सुनाए । उनले पहिले सबै ठूला अस्पताल धाउने र अन्तिममा मात्रै प्राकृतिक उपचार विधि लिन आउँदा समस्या थपिने गरेको बताए । ‘सबैतिर धाइसकेपछि बल्ल प्राकृतिक चिकित्सालय जाने मान्यता छ । यो एकदम गलत हो । प्राकृति चिकित्सालयमा सुरुमै उपचार गरे रोगव्याधीबाट छुटकारा पाउन सकिन्छ,’ उनले भने ।

सर्ने रोग करिब न्युनीकरणकै अवस्थामा पुगिसकेपछि पनि हाल नसर्ने दीर्घ रोग प्रमुख समस्याका रुपमा देखा परिरहेको गौतमले दाबी गरे । ‘नसर्ने रोगको प्रमुख समस्या नै हाम्रो अव्यवस्थित जीवनशैली हो । यसलाई अन्त्य गर्न पनि प्राकृतिक चिकित्सालय अत्यावश्यक छ,’ उनले भने । उनले प्राकृतिक चिकित्सालयमा उपचार गर्न विदेशीको बाक्लो उपस्थिति रहने हुनाले स्वास्थ्य पर्यटनलाई पनि प्रवद्र्धन हुने दाबी गरे ।

पोखरा महानगरका मेयर मानबहादुर जिसीले चिकित्सालय बनाउन प्राविधिक सहयोग गर्ने बताए । उनले भने, ‘चिकित्सालय ६ महिनामै तयार होस् । महानगर यसमा प्राविधिक सहयोग गर्नेछ ।’ उनले विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले उल्लेखनीय र प्रशंसायोग्य काम गरिरहेको बताए ।

पोखरा १ वडाध्यक्ष शारदा पराजुलीले चिकित्सालयलाई पोखराकै गौरवको योजना भएको दाबी गरिन् । उनले भनिन्, ‘विन्ध्यवासिनीले पोखराको अस्तित्व र सम्भावना बोकेको छ । चिकित्सालय बनाउन थालेर यसले गौरवको योजना पनि सुरु गरेको छ ।’ उनले विन्ध्यवासिनी क्षेत्रलार्ई व्यापारीकरण नगर्नका लागि समेत रहन समितिलाई सुझाव दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment