
१ साउन, पोखरा । पोखरा रामबजारमा मोबाइल पसल चलाइरहेका रमेश नेपालीले श्रीमती हराएको भन्दै खोजी गरिदिन २ असारमा जिल्ला प्रहरी कार्यालयमा निवेदन दिए ।
रमेशकी श्रीमती २७ वर्षीया लक्ष्मी १ असारमा बेपत्ता भइन् । १ लाख ५० हजार लिएर श्रीमती गायब भएको र छोराछोरीको विचल्ली भएको भन्दै रमेशले प्रहरीमा हारगुहार गरे । प्रहरीले उनको निवेदन दर्ता ग¥यो र लक्ष्मीको खोजी थाल्यो ।
११ असारमा लक्ष्मीकी आमा मिठुमाया परियारले पनि खोजतलास तथा कारबाही गरिपाऊँ भन्दै प्रहरीमा निवेदन दिइन् । तर २५ दिनसम्म लक्ष्मीको अत्तोपत्तो छैन ।
अनुसन्धानका क्रममा भेटिएका केही तथ्यले प्रहरीलाई रमेशप्रति नै शंका लाग्यो । उनीमाथि प्रहरीको निगरानी थाल्यो । प्रहरीको शंका त्यतिबेला झनै बलियो भयो, जतिबेला लक्ष्मीले प्रयोग गर्दै आएको मोबाइल, सिक्रीलगायत सामान डेरामै भेट्यो । यसकै आधारमा प्रहरीले रमेशलाई हिरासतमा लिएर केरकार थाल्यो । उनी विस्तारै आफ्ना कर्तुत खुलाउन थाले ।
अन्ततः उनले स्वीकारे श्रीमतीको हत्या । अनि श्रीमती वेपत्ता भइन् भन्दै निवेदन दिने उनै रमेशले लक्ष्मीको हत्या गरी फालेको ठाउँ देखाइदिए, पोखरा २२ को कर्कले जंगल । असार २५ गते पोखरा प्रहरी त्यहाँ पुग्दा शव कुहिएर कंकाल मात्र बाँकी थियो । टाउको एकातिर थियो भने शरीर अर्कातिर ।
वर्ष दिनअघि नै बनेको थियो हत्या योजना
रमेश साली नाता पर्ने (मामाकी छोरी) अनु परियारसँग प्रेममा थिए । यो लक्ष्मीले चाल पाएकी थिइन् । उनले मामा माइजुलाई यसबारे सचेत पनि गराएकी थिइन् ।
तर रमेश र अनुले अर्कै योजना बनाए, प्रेममा ‘बाधक’ बनेकी लक्ष्मीलाई पन्छाउने ।
‘एक वर्ष अगाडि नै अनुले दिदीलाई साइड लगाउनू न भन्दै रमेशलाई भनेको खुल्न आएको छ,’ जिल्ला प्रहरी कार्यालय कास्की प्रमुख एसपी दानबहादुर कार्कीले भने, ‘यसरी हेर्दा लक्ष्मीलाई मार्न एक वर्षअघि देखिनै योजना बन्दै आएको देखिन्छ ।’
अनुले साथ दिने भएपछि रमेशले आफ्नै श्रीमतीको हत्या योजना बुन्न थाले । उनले पोखरामै मोबाइल पसल सञ्चालन गर्दै आएका सञ्जय शर्मालाई ‘एकजना महिलालाई मार्नु छ । त्यसका लागि राम्रो रकम पनि पाइन्छ है’ भनेका थिए ।
शर्मा र नेपालीको कुरा मिलेपछि सल्लाह भयो, ‘सर्लाही ईश्वरपुर ३ तिनघरिया स्थायी घर भई पोखरा ९ मा बस्ने चित्तरञ्जन साहलाई १० लाख दिएर भारतबाट मान्छे झिकाउने ।’ साह स्वयं पनि मोबाइल पसल सञ्चालक हुन् ।
योजना मुताबिक साहले भारतबाट ३ ‘कन्ट्रयाक्ट किलर’ झिकाए । जेठ ३० गते पोखरा पृथ्वीचोकस्थित कोशी होटलमा बसे । होटलले उनीहरुको रजिस्ट्रेसन इन्ट्री नगरेका कारण पहिचान हुन नसकेको एसपी कार्कीले बताए ।
रमेशले श्रीमतीको हत्या गर्न जेठ ३१ गते सञ्जय शर्मालाई १ लाख रुपैयाँ बुझाएको बयान दिएका छन् । रकम पाएपछि उनीहरु घटना गराउने स्थानको खोजीमा जुटे । पोखरा २२ कर्कले जंगललाई उनीहरुले लक्ष्मीको हत्या स्थल छाने ।
घटना भएको दिन रमेश र सञ्जय मिलेर पोखरा हल्लनचोक लेकसाइडमा रहेको पोखरा बाइक रेन्ट प्रालिबाट ग ११ प ८००३ नम्बरको स्कुटर भाडामा लिए । त्यसपछि उनीहरु पोखरा ९ नयाँबजार आइपुगे र ग १ च २३६३ नम्बरको कार भाडामा लिए ।
‘स्कुटर रमेशले नै चलाएर लगेका रहेछन् । भाडामा ल्याएको कारबाट चाहिँ सञ्जय शर्माले चलाएर होटमा रहेका ३ जना भारतीय र चित्तरन्जन साहलाई कर्कले जंगल लगेका रहेछन्,’ एसपी कार्कीले भने ।
लक्ष्मीको पहिलेदेखि गोडामा समस्या थियो । उपचार गर्दा पनि निको नभएपछि आजित उनलाई रमेशले भने, ‘कर्कले जंगलमा जंगली जडिबुटी पाइन्छ, खोज्न जाउँ’ भन्दै लगे । उनी भाडाको स्कुटरमा पछाडि बसिन् र लागिन्, कर्कले जंगल । उनलाई के थाहा केही समयपछि नै त्यहाँ कस्तो निर्मम घटना हुन्छ भन्ने ?
रमेश श्रीमती लिएर जंगल पुगे । जडिबुटी खोज्दै गर्दा रमेशले शौच आयो भन्दै श्रीमतीलाई केही पर पठाए । ‘त्यही समयमा नै योजनामुताविक त्यहाँ पहिलेदेखि लुकेका व्यक्तिले मुख र आँखामा सलले बाँधेर घाँटी रेटेका रहेछन्’ एसपी कार्की भन्छन् ।
लक्ष्मीको हत्यापछि नेपालीले सञ्जयलाई ५ लाख रुपैयाँ बुझाएको र बाँकी ४ लाख पछि दिने सहमति गरेको पक्राउ परेकाहरुको बयानबाट खुलेको छ । हत्यामा संलग्न भारतीयहरु फर्किए, बाँकी पैसा चित्तरञ्जनमार्फत पठाउने सहमति भयो ।
श्रीमतीको हत्या गरेर फर्किएका रमेशले ‘मेरी श्रीमती हराई । खोजतलास गरिदिनुप¥यो’ भन्दै अर्को दिनबाट नाटक सुरु गरे । २ असारमा प्रहरीमा निवेदन दिएका उनले पटकपटक श्रीमतीको खोजीका लागि प्रहरीलाई दबाव दिए ।
तर उनको अपराधकर्म लुकेन । प्रहरीले लक्ष्मीको हत्यामा संलग्न चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मुख्य योजनाकार रमेश नेपाली, रमेशकी साली १९ वर्षीया अनु परियार, सर्लाही ईश्वरपुर ३ घर भई हाल पोखरा ८ पृथ्वीचोक बस्ने २६ वर्षीय चित्तरञ्जन कुमार साह, भोजपुर नपा ५ बैंकरोड घर भई हाल पोखरा ९ महेन्द्रपुल बस्ने ३२ वर्षीय सञ्जय शर्मा छन् । कन्ट्रयाक्ट किलर तीन भारतीय नागरिकको पहिचान खुलेको छैन र उनीहरु फरार छन् ।
प्रहरीका अनुसार रमेशले चार महिनाअघि लक्ष्मीको एक करोडको जीवन बीमासमेत गराएको पाइएको छ । यसलाई समेत हत्यासँग जोडेर अनुसन्धान भइरहेको छ ।
प्रतिक्रिया 4