Comments Add Comment

प्रदेश २ सरकारले केन्द्रसँग माग्यो हेलिकोप्टर

जनकपुरधाम, १ साउन । प्रदेश २ सरकारले विपदमा तत्काल उद्धारका लागि संघीय सरकारसँग हेलिकोप्टर माग गरेको छ । बाढी क्षेत्रको निरीक्षण गर्न आएका संघीय सरकारका मन्त्रीहरु मार्फत् प्रदेश सरकारले हेलिकोप्टर माग गरेको हो ।

हेलिकोप्टरै मार्फत् प्रदेश २ को बाढी निरीक्षण गर्न पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव, गृहमन्त्री रामबहादुर थापा, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ, जलस्रोत तथा सिञ्चाई मन्त्री वर्षमान पुन, सांसदहरु अनिल झा, प्रभु साहसहितका नेताहरु बुधबार आएका छन् ।

यो टोलीले प्रदेश २ को रौतहट, सर्लाही, महोत्तरी, सप्तरी, सिरहाको स्थलगत निरीक्षण गर्दै प्रदेश राजधानी जनकपुर आइपुगेर प्रदेश सरकारसँग छलफल गरेका छन् ।

छलफलका क्रममा मुख्यमन्त्री लालबाबु राउतले विपदको हिसाबले प्रदेश २ अत्यन्तै जोखिममा रहेकोले तत्काल प्रदेश सरकारलाई एउटा हेलिकोप्टर उपलब्ध गराउन माग गरे ।

बाढीको अवस्था र राहत तथा उद्धारबारे टोली लाई जानकारी गराउँदै मुख्यमन्त्री राउतले बाढी आए लगत्तै आफूहरुले राहत तथा उद्धारको लागि तत्काल विपद व्यवस्थापन समितिलाई १०/१० लाख रुपैयाँ उपलब्ध गराएको, मृतकको परिवारलाई ३ लाख रुपैयाँको दरले राहत दिने घोषणा गरिएको बताए ।

त्यस अवसरमा उपप्रधानमन्त्री यादवले विपद व्यवस्थापनमा तीन तहका सरकारलाई समन्वय गरेर अघि बढ्नुको विकल्प नरहेको बताउँदै बाढी पहिरोको दीर्घकालीन व्यवस्थापनका लागि चुरे संरक्षणमा विशेष जोड दिए ।

उनले चुरे क्षेत्र भएर राजमार्ग जस्ता सडकहरुको निर्माण निषेध गर्नुपर्ने, मानव वस्ती क्रमशः घटाएर वृक्षारोपण गर्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment