Comments Add Comment

नेकपामा विभागको भागबन्डा : संगठन र विदेश पूर्वएमालेलाई, पूर्वमाओवादीलाई आर्थिक र प्रचार

१ साउन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्षबीच पार्टी एकीकरण सम्पन्न गर्ने गृहकार्यमा सहमति भए पनि केही विभाग र जिल्ला इञ्चार्जमा कुरा मिल्न बाँकी रहेको खुलेको छ । दुई अध्यक्षले माधव नेपाललगायतका नेताहरूसँग परामर्शपछि सचिवालय बैठकबाट टुंगो लगाउने सहमति भएको एक नेताले बताए ।

मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्षद्वय केपी ओली, प्रचण्ड, महासचिव विष्णु पौडेल र सचिवालय सदस्य रामबहादुर थापा बादलबीच छलफलपछि एकता र एकीकरणसँग सम्बन्धित सबै प्रक्रिया टुंगो लागेको बताइएको थियो । केही जिल्ला इञ्चार्ज र विभागमा थप छलफल आवश्यक भएको नेताहरूले बताएका छन् ।

नेकपाका सचिवालय सदस्यहरूले नेतृत्व गर्ने ठूला विभागहरूमध्ये पार्टी स्कुल विभाग कसले लिने भन्ने टुंगो लाग्न बाँकी रहेको स्रोतले जनाएको छ । संगठन विभाग, विदेश विभाग, संसदीय विभाग र राज्य व्यवस्था विभाग पूर्वएमालेको भागमा परेका छन् ।

त्यस्तै, प्रचार विभाग र आर्थिक विभाग पूर्वमाओवादीको भागमा परेका छन् । ३२ वटा विभागमध्ये १८ विभागका प्रमुख पूर्वएमालेका नेता हुनेछन् भने १४ वटा विभागको नेतृत्व पूर्वमाओवादीले गर्नेछन् ।

पूर्वएमाले र पूर्वमाओवादीबीच विभाग बाँडफाँट भए पनि व्यक्ति आ–आफ्नो समूहबाट तोक्ने सहमति भएको बताइएको छ । पूर्वएमालेले नेतृत्व गर्ने विभागका प्रमुखको नाम ओलीले प्रस्ताव गर्ने र पूर्वमाओवादीबाट नेतृत्व गर्नेको नाम प्रचण्डले तोक्ने सहमति भएको छ ।
यो पनि पढ्नुहोस ओली–प्रचण्ड वार्ता : भागवण्डा टुंगियो, व्यक्ति तोक्न बाँकी स्रोतका अनुसार पूर्वएमालेले पाएका विभागमध्ये विदेश विभागको प्रमुखमा माधव नेपालको दाबी छ । झलनाथ खनाल पनि सो विभागप्रति इच्छुक बताइन्छ । संगठन विभागमा वामदेव गौतमको दाबी रहे पनि उनलाई दिने सम्भावना कम छ ।

संसदीय विभाग प्रमुखमा सुवास नेम्वाङको सम्भावना छ । दुई अध्यक्ष र महासचिवले कुनै विभागको नेतृत्व नलिने बताइएको छ । पूर्वएमालेको भागमा परेको संगठन विभागको नेतृत्व ओलीले आफ्नै गुटका नेतालाई दिन चाहेकाले ईश्वर पोखरेलको सम्भावना छ ।

पूर्वमाओवादीले पाएका ठूला दुई विभागमध्ये प्रचार विभागमा नारायणकाजी श्रेष्ठको सम्भावना छ । उनी पार्टी प्रवक्ता समेत भएकाले प्रचार विभाग प्रमुख बनाउने प्रचण्डको प्रस्ताव छ । आर्थिक विभाग प्रमुख प्रचण्डले कसलाई तोक्लान् भन्ने चासो छ ।

यसैबीच, ७७ जिल्लाका इञ्चार्ज र सहइञ्चार्ज साविक पार्टीका इन्चार्जबाटै तोकिने भएका छन् । पूर्वएमालेले बढीमा ४४ जिल्लाको इञ्चार्ज पाउने छ भने पूर्वमाओवादीले बढीमा ३३ जिल्लाको इञ्चार्ज पाउने भएको छ ।

यसरी भागबन्डा हुँदा केही जिल्लामा अध्यक्ष र इञ्चार्ज दुवै पूर्वएमालेका हुनेछन् । उदाहरणका लागि काठमाडौंको जिल्ला इञ्चार्ज पूर्वएमालेकै सावित्रा भुसाल हुने सहमति भएको छ । काठमाडौंको जिल्ला अध्यक्ष पनि पूर्वएमालेकै कृष्ण राई छन् ।

यही मोडालिटीबाट इलाम, झापा, भोजपुर, दोलखा, मकवानपुर, रुपन्देहीलगायतका जिल्लामा पूर्वएमालेले इञ्चार्ज र अध्यक्ष दुवै पाउने बताइएको छ । त्यस्तै, रोल्पा, रुकुम, पूर्वी रुकुमलगायतका केही जिल्लामा इञ्चार्ज र अध्यक्ष दुवै पूर्वमाओवादीबाट हुने सम्भावना छ ।

साउन ५ गते बस्ने सचिवालय बैठकले एकता र एकीकरणलगायत पार्टीका सबै कार्यविभाजनहरू टुंगो लगाउने महासचिव पौडेलले बताए । यसै महिना स्थायी कमिटी बैठक पनि बस्ने र त्यसले सचिवालयले टुंगो लगाएका विषयलाई अनुमोदन गर्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment