Comments Add Comment

सुरु भयो भेहिकल ट्र्याकिङ सिस्टम

१ साउन, काठमाडौं । राजश्व चुहावट रोक्न भन्दै सरकारले बुधबारदेखि भेहिकल कन्साइनमेन्ट ट्र्याकिङ सिस्टम शुरु गरेको छ । बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले सिस्टमको उद्घाटन गरे ।

उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम रहे पनि उनी उपस्थित भएनन् । विशेष कार्यव्यस्ताका कारण देखाउदै उपस्थित नभए पनि प्रधानमन्त्रीले लिखित मन्तव्य पठाएका थिए । प्रधानमन्त्रीको लिखित मन्तव्य राजश्व अनुसन्धान विभागका महानिर्देशक दीर्घराज मैनालीले पढेर सुनाए ।

भेहिकल ट्र्याकिङ सिस्टमले सरकार र निजी क्षेत्र दुबैका लागि अतिउत्तम हुने प्रधानमन्त्रीले बताए । यसले कारोबारलाई थप पारदर्शी बनाउने उनले बताए ।

के हो भेहिकल ट्र्याकिङ सिष्टम

राजस्व अनुसन्धान विभागले तयार पारेको सफ्टवेयरमा उल्लेख भएको सम्पूर्ण विवरण ‘इन्ट्री गरिसकेपछि एक स्थानबाट हिँडेको सवारी साधन निर्वाध रुपमा गन्तव्यमा पुग्न सक्नेछ । विभागका महादिर्नेशक दीर्घराज मैनालीका अनुसार अब देशभरबाट विभागका चेक पोष्ट हट्नेछन् ।

विभागको वेवसाइटमा गएर विवरण राख्दा प्राप्त हुने ‘क्यू आर कोड’का माध्यमबाट उक्त सवारी साधन कहाँबाट छुट्यो, कहाँ पुग्यो र सामान कहाँ झार्यो भन्नेबारे निगरानी गर्न सकिने उनले जानकारी दिए । विभागले १ साउनबाट ‘भेहिकल एण्ड कनसाइनमेन्ट ट्राकिङ सिस्टम’ कार्यान्वयनमा ल्याउन लागेको हो ।

सरकारले २०७१ सालमै वेवमा आधारित निगरानी प्रणाली अपनाउने घोषणा गरेको थियो । यसबाहेक जीपीएस जडान गरी सवारी साधनको निगरानी गर्ने घोषणासमेत सोही समयमा भएको थियो ।

तर, आवश्यक सफ्टवेयर बनाउन नसक्दा घोषणा कार्यान्वयन हुन सकेको थिएन । आगामी आर्थिक वर्ष २०७६/७७ को बजेट भाषणबाटै सरकारले यो योजना कार्यान्वयन गर्ने घोषणा गरेको थियो । सोही अनुसार सफ्टवेयर बनाएर मालसामान ढुवानी कार्यलाई ‘पेपरलेस’ बनाउने तयारी सरकारले गरेको हो ।

सरकारले बजेटमा चोरी निकासी पैठारी र आन्तरिक उत्पादनको परिवहनमा हुने विचलनलाई न्यूनीकरण गरी राजस्व चुहावट नियन्त्रण गर्न उत्पादन, परिवहन र बिक्रीसम्मको श्रृङ्खलालाई ट्याकिङ प्रणालीमा आवद्ध गर्ने घोषणा गरेको थियो ।

ढुवानी सेवा कम्पनी, उद्योग, थोक व्यापारी, आयातकर्ता, भन्सार एजेन्टजस्ता मालवस्तु ओसारपसारमा संलग्न प्रयोगकर्ताले सर्वप्रथम विभागको वेवसाइटमा गएर दर्ता गर्नुपर्छ । दर्ता गर्ने क्रममा स्थायी लेखा नम्बर पनि राख्नुपर्ने हुन्छ । दर्ता भइसकेपछि देखिने मेनुबाट प्रयोगकर्ताले आफ्नो र अन्तर्गत शाखाको ‘यूजरआइडी/पासवर्ड’ बनाउन सकिन्छ ।

यसबाहेक प्रयोगकताले ढुवानी साधनको विवरण यस प्रणालीमा प्रविष्टी गर्न सक्छन् । सोही मेनुबाट विलविजक÷प्रज्ञानपत्र, चलान, डेविट क्रेडिट/नोटजस्ता विवरण भर्न सकिन्छ । स्वघोषणा गरेका सामग्रीको विवरण हेर्न सक्छन् ।

‘कुनै व्यापारी अमेरिका बसेर वीरगन्जबाट नेपालगन्जका लागि छूटेको आफ्नो सामान बोडेको गाडीको निगरानी गर्न सक्छन्,’ महानिर्देशक मैनाली भने, ‘यो प्रणाली आन्तरिक राजस्व विभाग र भन्सार विभागको सफ्टवेयरसँग पनि लिङ्क हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment