Comments Add Comment

डुवान समस्या समाधानका लागि बस्ती स्थान्तरणको माग

२ साउन, वीरगञ्ज । वीरगञ्ज महानगरपालिका-१६ ईनर्वा पशुपतिनगर रामटोलकी लालपरीदेवी बाढीले घर डुबानमा परेको ४ दिनपछि बुधबार मात्रै घर फर्किन् ।

घरमा सर्प बसिरहेको देखेपछि उनको सातो गयो । त्यसपछि उनी घर एक्लै जाने आँट गर्न सकिरहेकी छैनन् ।

टाँटी -भित्ता)को बेरा र खरले छाएको घरमा पानी पसेपछि अन्नपात खान लायकको छैन, लत्ताकपडा लगाउन लायकको छैन ।

गाउँछेउमै रहेको सानो पसलमा विष्कुट, चकलेट, चाउचाउ बिक्री गरेर उनी गुजारा चलाउँदैछिन् ।

६ वर्ष अघि श्रीमान चन्द्रीरामले संसार छोडेपछि ८ वटा छोरीकी आमा लालपरी कै काँधमा घरको जिम्मेवारी आयो । ३ वटा छोरी विवाह गरेर गईसकेपनि ५ वटा छोरी साथमा छन् ।

सोही टोलकी ललितादेवी बाढीले क्षति पुर्‍याएको घरको मर्मत गर्दै गरेको अवस्थामा भेटिइन् । उनको पनि टाँटी र फुस कै घर छ ।

घरभित्रै माटो मुछ्दै टाँटीमा लिप्दै गरेकी उनी किरा फट्याङ्ग्राबाट जोगिन टालटुल गरेको बताउँछिन् ।

अबिरल वर्षापछि सिर्सिया नदीमा आएको बाढी घरभित्र पसेपछि तीन दिन उनीहरु सडकमै बास बसे ।

अन्न, लत्ता कपडा सबै भिजेपछि १० जनाको परिवार समस्यामा छ । घर भित्रै कम्मरभन्दा माथिसम्म पानी आएपछि घरको समान जोगाउन नसकिएको उनी सुनाउँछिन् ।

गाउकै गोवर्धन राम जनकपुरमा राज मिस्त्रीको काम गर्छन् । अबिरल वषर्ा हुँदा उनी उतै थिए । घर डुबानमा परेको जानकारी पाएपछि जनकपुरबाट वीरगञ्ज हानिए ।

बर्दिबासको भप्सी पुल भत्केका कारण दुई दिनअघि मात्रै उनी वीरगञ्ज आई पुगे । ‘काम गरेको ज्याला पनि लिन पाएको थिइँन, घर डुबानमा पर्‍यो भन्ने सुनेपछि आईहाले,’ उनले भने, ‘अन्न लत्ता कपडा सबै भिजेको छ, घर पनि धराप भएर बसेको छ । साथीभाइसँग सर सापटी लिएर खाँदैछु ।’

उनले बाढी प्रभावित क्षेत्र भएपनि राहत खासै नपाईएको गुनासो गरे ।

डुवान प्रभावित भन्छन : राहत पाएकै छैनौं

वीरगञ्ज रक्सौल नाकास्थित शंकराचार्य गेटदेखि दक्षिण पश्चिमतर्फ सिर्सिया नदी किनारमा सानो बस्ती छ ।

ऐलानी जमीनमा हुर्किएको बस्तीको प्रत्येक घरमा अबिरल वर्षापछि आएको बाढी पसेको छ । बस्तीका हरेक नागरिक समस्यामा परेका छन् ।

यो समस्या यसवर्ष मात्रै भएको भने होईन, वर्षाैं देखि बाढी आउँदा बस्ती डुबानमा पर्दै आएको छ ।

बस्तीमा अहिले दलित राम समुदायका ३९ परिवार बस्दै आएका छन् । बिहिबार बस्तीमा पुग्दा स्थानीय पानीले भिजाएर लत्ता कपडा घाममा सुकाउँदै थिए ।

बाढी आएको दिन शनिबार प्रति परिवार एक किलो चिउरा, ४/४ प्याकेट चाउ चाउ र विष्कुट तथा तीन बोतल पानी उनीहरुलाई मिलेको छ । त्यसपछि उनीहरुले राहतमा केहि पनि पाएका छैनन् ।

स्थानीय महेन्द्र कुमार राम बस्ती स्थानान्तरणका लागि छलफल शुरु गरिएको बताउँछन् । ‘अलिकति पानी पर्ने वित्तिकै सिर्सिया नदीको पानी गाउँमा पस्छ, ऐलानी जमीन भएकोले जनता आवासले पनि घर निर्माण नगर्ने रहेछ,’ उनले भने, ‘वडा कार्यालयलाई उचित स्थानमा बस्ती स्थानान्तरण गरेर सुरक्षित बसोबासको व्यवस्थापन गर्न माग गरेका छौं ।’

बाढी आएको दिन शनिबार समेत बस्ती पुगेका सामाजिक अभियन्ता प्रकाश थारु नदि किनारको बस्ती स्थानान्तरण गर्नुको विकल्प नभएको बताउँछन् ।

‘बाढीको दिन यहाँ आईपुगेको थिँए, गाउँका सबै जना सडकमा पुगेका थिए । गाउँ पुरै डुबेको थियो,’ उनले भने, ‘नदी किनारमा बसेको बस्ती जोखिम कम भएको ठाउँमा सार्नुपर्छ ।’

वडा नं १६ का अध्यक्ष बस्ती सार्न सकिन्छ कि भनेर संभावित जग्गाको खोजी गरिरहेको बताउँछन् । ‘बस्ती सार्नलाई त्यति सहज छैन, पहिला उपयुक्त जग्गा खोज्नुपर्‍यो, विभिन्न पक्रिया पुरा गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘रजत जयन्ती चोक भन्दा पश्चिममा पनि ऐलानी जग्गा छ । कति छ थाहा छैन । सोचमा छ तर समय लाग्छ ।’

नगरस्तरीय योजना मार्फत सिर्सिया नदीमा तटबन्द निर्माण गर्नेबारे महानगरपालिकाको बोर्डमा कुरा राख्दा नगर प्रमुख विजय सरावगीले ‘हुन्छ’ भन्ने आश्वासन पाएको उनको भनाइछ ।

यस्तो छ बस्तीको कथा

वर्षौ पहिले धरिक्षन महरा नाम गरेका एक व्यक्ति दक्षिणतिरबाट आएका थिए । सिर्सिया नदी अहिले भएको भन्दा दक्षिणतिरबाट बगीरहेको थियो ।

त्यहाँ सियाराम (सिताराम) को मठ थियो । पछि नदीले धार परिवर्तन गरेपछि बस्ती पनि यता सरेको हो ।

धरिक्षनको ४ भाइ छोरा थिए । ती चार भाइ छोराका सन्तान अहिले ३९ परिवारको भइसकेको छ । उनीहरुसँग नेपाली नागरिकता पनि छ ।

धरिक्षनकी जेठी बुहारी बताउने अन्दाजी ७५ वर्षीया पन्नादेवी सामाजिक सुरक्षा भत्ता लिन्छिन् ।

वर्षामा सँधै सडकमा गएर बस्ने गरेको दुःखद अनुभव उनको छ । ‘पानी पर्ने वित्तिकै वर्षेनी गाउँमा पानी आउँछ । भागेर सडकमा जान्छौं । सुकेपछि आएर घर टालटुल गरेर बस्छौं,’ उनले भनिन्, ‘मैले थाहा पाएदेखि नै यसैगरी हाम्रो जीवन चलेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment