
३ साउन, चितवन । चितवन जिल्ला अदालतमा मुद्दाको चाप बढ्दैं गइरहेको छ ।
गत आर्थिक वर्ष ०७५/७६ मा तीन हजार ९२१ मुद्दा दर्ता भएको चितवन जिल्ला अदालतले जनाएको छ । अघिल्लो आर्थिक वर्षमा ०७४/७५ मा भने तीन हजार ५२६ मात्रै मुद्दा दर्ता भएका थिए ।
मुद्दाको चाप बढेसँगै मुद्दाको फर्छ्यौट भने सोही अनुपातमा बढ्न सकेको छैन । आव ०७५/७६ मा चितवन जिल्ला अदालतमा ६० प्रतिशत मात्रै मुद्दा फर्छ्यौट भएको अदालतले जनाएको छ ।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमा यसअघिको भन्दा ९ प्रतिशत मुद्दा कम फर्छ्यौट भएको जानकारी दिएको छ ।
आव ०७४/७५ मा ६९.६५ प्रतिशत मुद्दा फर्छ्यौट भएको थियो । पछिल्लो तीन वर्षमा मुद्दा फर्छ्यौटको प्रतिशत घट्दो छ ।
०७०/७१ मा ६० प्रतिशत मुद्दा फर्छ्यौट भएकोमा ०७२/७३ मा ७५.७८ र ०७३/७४ मा ७३.०४ प्रतिशत मुद्दा फर्छ्यौट भएको छ ।
जिल्ला न्यायाधीश विनोदकुमार गौतमले मुद्दाको चाप बढ्नु र परिवर्तित नियम कानूनले गर्दा मुद्दा फर्छ्यौटमा केही कमी आएको स्वीकार गरे । उनले चालु आवमा मुद्दाको फर्छ्यौटलाई बढाउने गरी कार्य गरिने दावी गरे ।
प्रतिक्रिया 4