Comments Add Comment

अफ्रिका कप अफ नेसन्सको उपाधि अल्जेरियाको पोल्टामा, सेनेगल स्तब्ध

Photo Credit : Getty images

४ साउन, काठमाडौं । अफ्रिका कप अफ नेसन्सको उपाधि अल्जेरियाको पोल्टामा परेको छ । कायरोमा शुक्रबार राति भएको फाइनल खेलमा सेनेगललाई १–० गोलको अन्तरले स्तब्ध पार्दै अल्जेरिया च्याम्पियन बनेको हो ।

अल्जेरियाका लागि बग्दाद बोएनेजाले खेलको दोस्रो मिनेटमै गोलको खाता खोल्दै अग्रता दिलाएका थिए । सेनेगलका सालिफ सानेको गल्तीलाई भरपुर उपयोग गर्न सफल बग्दादको त्यही गोलले नै अन्ततः अल्जेरियालाई च्याम्पियन बनायो ।

खेलको दोस्रो हाफमा सेनेगलले पेनाल्टी पाएको थियो । यद्यपि, भीएआर रिभ्यूमा हातले बलमा छोएको पुष्टि नभएपछि त्यो फिर्ता भयो । जसले सेनेगलको आश निराशामा बदलिन पुगेको थियो ।

खेल अवधिमा सेनेगलले गोल गर्ने केही मौका नबनाएको होइन । तर, त्यसलाई उसले उपयोग गर्न नसक्दा अफ्रिका कप अफ नेसन्सको उपाधि हत्याउने सेनेगलको दाउमा फेरि पनि तुषारापात लागेको छ । लयमा हुँदा–हुँदै पनि सेनेगलले अहिलेसम्म यसको उपाधि जित्न सकेको छैन ।

खेलमा हार व्यहोरेपछि सेनेगलका खेलाडी मैदानमै रोएका थिए । जसले त्यहाँको वातावरणलाई भावुक बनाएको थियो ।

अफ्रिका कप अफ नेसन्सको उपाधि अल्जेरियाले हत्याएको यो दोस्रोपटक हो । यसअघि सन् १९९० पनि उसले उपाधि जितेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment