Comments Add Comment

लोकसेवाको प्रश्नपत्र च्यात्न खोज्ने ४ जना पक्राउ

प्रदेश १ बन्दको घोषणा र आन्दोलनका बावजुद लोकसेवाको परीक्षा जारी

Photo Credit : चन्द्र आले/अनलाइनखबर । लोक सेवा आयोगले काठमाडौंमा सञ्चालन गरेको परीक्षामा सहभागी हुन पुगेका परीक्षार्थी र सुरक्षाका लागि तैनाथ प्रहरी ।

४ साउन, काठमाडौं । स्थानीय तहका कर्मचारीका लागि लोकसेवा आयोगले लिइरहेको परीक्षास्थलमा प्रवेश गरेर आदिवासी जनजाति कार्यकर्ताले शनिबार खोटाङमा प्रश्नपत्र च्यात्ने प्रयास गरेका छन् । प्रश्नपत्र च्यात्न खोज्ने ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएर परीक्षा सुचारू गरेको छ ।

लोकसेवा आयोगले शनिबार बिहान ८ बजेदेखि प्रदेश १ का तीनवटा केन्द्रहरु खोटाङ, धनकुटा र इलाममा परीक्षा सुरू गरेको छ । अन्य प्रदेशका केन्द्रहरूमा पनि  निर्वाध रूपमा परीक्षा भएकाे छ ।

यसक्रममा शनिबार बिहान खोटाङको सदरमुकामस्थित दिक्तेल बहुमुखी क्याम्पमा रहेको परीक्षा केन्द्रमा परीक्षा सुरु हुनै लाग्दा ‘आरक्षण बचाऊ आन्दोलन’का कार्यकर्ताहरु प्रवेश गरेर केही थान प्रश्नपत्रहरु च्यात्न खोजेका थिए ।

प्रश्नपत्र च्यात्ने प्रयास गरेकाे आरोपमा आफ्ना ४ नेता कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको आदिवासी जनजाति महासंघ खोटाङका अध्यक्ष हात्तीराम राईले बताए ।

पक्राऊ पर्नेहरुमा आदिवासी जनजाति महासंघका खोटाङ जिल्ला सचिव रविन खम्बु र सहचिव एलबी मगर समेत छन् । त्यसैगरी दलित विकास मञ्चका मिलन चाहार र सविना अछामीलाई पनि प्रहरीले पक्राउ गरेको अध्यक्ष राईले बताए ।

तर, लोक सेवा आयोग स्रोतले  प्रश्नपत्र नच्यातिएको स्पष्टीकरण दिएको छ । प्रश्नपत्र च्यात्न प्रवेश गरेकाहरू पहिले नै समातिएको उसको भनाइ छ ।

खाेटाङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक वामदेव गाैतमले प्रवेश परीक्षा विना जवरजस्ती हलमा प्रवेश गर्न खाेजेपछि उनीहरुलाई नियन्त्रणमा लिएकाे जानकारी दिए । उनीहरुलाई प्रहरीले पहिला नै नियन्त्रणमा लिएकाले प्रश्न पत्र नच्यातिएकाे डीएपी गाैतमले बताए ।

आन्दोलनकारीलाई गिरफ्तार गरेपछि कडा सुरक्षा व्यवस्थाबा वीच परीक्षा सुचारु गरिएको स्रोतले बतायो ।
यो पनि पढ्नुहोस झिँजा सल्काउँदै आरक्षण आन्दोलन !

काठमाडौंको शिवपुरी माध्यमिक विद्यालयमा परीक्षार्थी चेकजाँच गर्दै सुरक्षाकर्मी ।

स्थानीय तहमा प्रशासन समूहतर्फ र लेखा समूहतर्फ अधिकृत र सहायक पदका लागि खोटाङबाट २१४ जनाको दरबन्दस्का लागि परीक्षा भइरहेको छ भने धनकुटामा ४९१ र इलाममा २३० गरी ९३५ जनाका लागि शनिबार परीक्षा भइरहेको छ । परीक्षामा ठूलो संख्यामा युवाहरुको उत्साहजनक सहभागिता रहेको छ ।

लोकसेवाले देशभरिका स्थानीय तहबाट कुल ९ हजार १६१ पदका लागि विज्ञापन खोलेको छ ।

लोकसेवाले निकालेको विज्ञापन समावेशी नभएको भन्दै आदिवासी जनजातिको अगुवाइमा आन्दोलन हुँदै आइरहेको छ । लोकसेवाको परीक्षालाई प्रभावित पार्ने उद्देश्यले आरक्षण बचाऊ आन्दोलनले आज प्रदेश १ बन्दको घोषणासमेत गरेको छ । बन्दका बावजुद लोकसेवाले सबै केन्द्रहरूमा परीक्षा सञ्चालन गरिरहेको छ ।

यसैवीच लोकसेवा आयोगको विज्ञापनविरुद्ध इटहरी बजार बन्द गराउँदै हिँडेका आदिवासी जनजाति महासंघका सुनसरी जिल्ला नेता राम राई शनिबार बिहान इटहरीबाट पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा राईसहित अन्य कार्यकर्ता पनि रहेको महासंघले जानकारी दिएको छ ।

प्रदेश ५ मा पनि आन्दोलन प्रभावहीन

आदिवासी जनजातिको अगुवाइमा शुरु भएको आरक्षण बचाऔं आन्दोलन प्रदेश ५ मा प्रभावहीन देखिएको छ । लोक सेवा आयोगले स्थानीय तहमा कर्मचारी भर्नाका लागि गरेको विज्ञापन असमावेशी र आरक्षणविरोधी भएको भन्दै आरक्षण बचाऔं आन्दोलन शुरु भएको थियो ।

आयोगको साउन ४ गते (आज) को परीक्षा असफल पार्ने/बिथोल्ने उद्देश्यसहित आन्दोलन घोषणा गरे पनि आन्दोलनकारीहरु परीक्षा केन्द्रहरुमा पुग्नै सकेनन् ।

नेपाल आदिबासी जनजाति महासंघले आयोगले गरेको विज्ञापनविरुद्ध प्रदेश ५ मा गरेको प्रदर्शन ।तस्वीरः टोपराज शर्मा/अनलाइनखबर

बुटवलका ३४ वटा परीक्षा केन्द्रमध्ये कुनै पनि केन्द्रमा आन्दोलनकारीहरु बिहान ७ बजे पुग्न सकेनन् । परीक्षा केन्द्रमा ७ बजेदेखि परीक्षार्थीहरु प्रवेश गर्ने र ८ बजेदेखि परीक्षा शुरु गर्ने कार्यतालिका थियो ।

३४ केन्द्रमध्ये बुटवल–७ को सिद्धेश्वर लालकुमारी माविमा मात्रै आरक्षण बचाऔं आन्दोलन पक्षधर न्यून संख्यामा उपस्थित भए, त्यो पनि परीक्षा शुरु भएपछि ।

एक घण्टाको अवधिसम्म मुस्किलले दुई सयजनाको संख्यामा उपस्थित आन्दोलनकारीले परीक्षाकेन्द्रको गेटनजिकै चौरमा केहीबेर नाराबाजी र कोणसभा गरेर फर्के ।

प्रदेश ५ आदिवासी जनजातिको बाहुल्य भएको प्रदेश हो । रुपन्देहीमा मात्रै जनजातिको जनसंख्या दशौं हजार छ । प्रदेशमा थारुको जनसंख्या १५.२ प्रतिशत र मगरको जनसंख्या १५.१ प्रतिशत छ, जुन कूल जनसंख्यामा सबैभन्दा ठूलो हिस्सा हो ।

परीक्षामा सुरक्षा दिन बुटवल–७ स्थित श्री सिद्धेश्वर लालकुमारी माध्यमिक विद्यालय अगाडि तैनाथ सुरक्षाकर्मी ।

‘केही परीक्षा केन्द्रको परीक्षा हुन नदिने भन्ने थियो, तर हाम्रा साथीहरु नै बिहान ७ बजे अघि निर्धारित ठाउँमा जम्मा हुनै सकेनन्’, आरक्षण बचाऊ आन्दोलनको प्रदेशमा नेतृत्व गरिरहेका दीपक गुरुङले भने, ‘प्रदेशमा आदिवासी जनजातिको जनसंख्या धेरै हुँदाहुँदै आफ्नै आन्दोलनमा अति न्यून उपस्थितिले चिन्तित बनाएको छ, हामी यसबारे गहिरो समीक्षा गरेर आन्दोलनलाई नयाँ ढंगले अघि बढाउँछौंं ।’

कोणसभामा बोल्दै मगर संघ रुपन्देहीका अध्यक्ष विमल सारु,छन्त्याल संघका दलबहादुर छन्त्याल, मनोज राना, छविलाल नेपाली,कलिम मुसलमानले लोकसेवा आयोगको विज्ञापन संविधानविपरीत असमावेशी र आरक्षण विरोधी भएकाले आन्दोलन नरोकिने बताए ।

आयोगको परीक्षामा आदिवासी जनजातिका युवायुवती समेत उल्लेख्य मात्रामा सहभागी भएका छन् । आन्दोलनका कारण सरकारले शान्ति सुरक्षाको व्यवस्था मजबुद बनाएको थियो । आन्दोलनकारी नै उपस्थित हुन नसकेकाले र सुरक्षा व्यवस्था मजबुद भएकाले बुटवलका ३४ वटै परीक्षा केन्द्रको परीक्षा शान्तिपूर्णरुपमा सञ्चालन भएको रुपन्देही प्रहरीका प्रवक्ता डीएसपी धर्मराज भण्डारीले बताए ।

प्रदेश ५ मा लोकसेवाले आयोगले बुटवल, दाङ र बाग्लुङबाट परीक्षा लिइरहेको छ ।

त्यसैगरी प्रदेश २ का लागि जलेश्वर परीक्षा केन्द्र ताकिएको छ भने प्रदेश ३ मा काठमाडौं र हेटाैंडा परीक्षा केन्द्र तोकिएको छ । प्रदेश ३ मा पनि शान्तिपूर्णरुपमा परीक्षा भएको छ ।

लोक सेवाले परीक्षा केन्द्र तोकेको काठमाडौंको शिवपुरी माध्यमिक विद्यालय ।

त्यसैगरी कर्णाली र सुदुरपश्चिम प्रदेशका लागि सुर्खेत, जुम्ला, दिपायल र महेन्द्रनगरमा परीक्षाकेन्द्रहरु तोकिएका छन् । गण्डकी प्रदेशका लागि लोकसेवाले पोखरामा परीक्षाकेन्द्र तोकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment