Comments Add Comment

यी सात पुस्तक, जो मदन पुरस्कारको सूचीमा परेनन्

दुई साताअघि मदन पुरस्कारको सूची सार्वजनिक भएपछि एकातिर यो सूचीको प्रसंसा सँगै सूचीमा पर्नुपर्ने तर पर्न नसकेका पुस्तकहरुको लिस्ट सार्वजनिक भयो । यसलाई कतिपयले संकेतिक रुपमा विरोधका रुपमा पनि लिए । यद्यपि यसपटक सार्वजनिक भएको सूचीमा पहिले जस्तो सोझो विरोध देखिएन तर केही पुस्तक नपरेकोमा भने धेरैको अपशोच देखिन्थ्यो । सामाजिक सञ्जालमार्फत भिन्न भिन्न ठाउँबाट सयौं पाठकहरुले आफ्नो तर्फबाट लिस्ट सार्वजनिक गरेपछि अनलाइनखबरले ती पुस्तकका नाम संकलन गर्‍यो । त्यसपछि समीक्षकहरुसँग त्यसका सम्बन्धमा राय माग्यो । हामीले समाजिक सञ्जालमा आएका दर्जनौ प्रसंसित पुस्तक मध्ये समीक्षकहरुलाई ७ पुस्तक छान्न अनुरोध गर्‍यौं । सात पुस्तक छान्नुको अर्थ मदन पुरस्कारको सूचीमा रहेको ७ पुस्तकसँग संगति मिलाउनु थियो ।

शिलान्यास
गैरआख्यान विधामा पाठकबाट निकै प्रससित पुस्तक ‘शिलान्यास’ समीक्षकहरुले पनि मनपराएको पुस्तक हो । धेरैले यो पुस्तक मदन पुरस्कारको सूचीमा पर्ने अपेक्षा गरेका थिए । तर अपेक्षाअनुसार पुस्तक सूचीमा नपरेपछि पाठकले यो पुस्तकको विषयमा चर्चा चलाए । यसलाई समीक्षकहरुले पनि पढ्नुपर्ने पुस्तकको सूचीमा राखेका छन् ।
सुजित मैनालीद्वारा लिखित शिलान्यासले सञ्चारमाध्यममा पनि निकै ठूलो स्थान पाएको थियो । नेपाल साप्ताहिकले वर्षका उत्कृष्ट पाँच गैरआख्यान पुस्तकको सूचीमा यसलाई पहिलो नम्बरमा राखेको थियो । पुस्तक प्रकाशन हुनेवित्तिकै लगातार समीक्षा पनि छापिएका थिए । यो वर्ष बढि विक्री हुने पुस्तकहरुमा पनि यो पुस्तक परेको थियो ।
पुस्तकले पृथ्वीनारायण शाहको नेपाल एकीकरणलाई फरक दृष्टिकोणबाट प्रस्तुत गरेको छ । यो पुस्तक समाजशशास्त्रीय दृष्टिकोणले पनि पठनीय भएका कारण यसको चर्चा चलेको हो ।

तपाईंको पहाड कहाँ हो ?
गैरआख्यानकै फरक शैलीको पुस्तक ‘तपाईंको पहाड कहाँ हो ?’ लाई पनि पाठकहरुले मदन पुरस्कारको सूचीमा पर्नुपर्ने पुस्तकका रुपमा अभियान चलाएका थिए । नेपाली साहित्यका केही पुराना हस्तीहरुको व्यक्तिचित्र समेटिएका कारण पनि यो पुस्तकको चर्चा चलाइएको अनुमान गर्न सकिन्छ ।

निजात्मक अनुभूति र व्यक्तिचित्रलाई समेटेर तयार भएको यो पुस्तकको शीर्षक पनि आकर्षक छ । आम चलनचल्तीमा सोधिने ‘तपाईंको पहाड कहाँ हो ?’ निबन्ध पुस्तककै शक्तिशाली निबन्ध हो । यद्यपि यो पुस्तकले समग्र देशको भन्दा पहाडे समुदायको मात्र प्रतिनिधित्व गरेको आरोप पनि लागेको थियो । यद्यपि लेखक भीष्म उप्रेतिले एउटा मात्र निबन्धले पुस्तकको प्रतिनिधित्व गरेको भन्न नमिल्ने बताएका थिए ।

राष्ट्र बैंकका उप निर्देशक भीष्म उप्रेति मुद्रा विशेषज्ञ पनि हुन् । प्रारम्भदेखि नै कविता, नियात्रा र निबन्धमा अब्बल भएर पनि मदन पुरस्कारको सूचीमा नपरेका कारण पनि सामाजिक सञ्जालमा यो पुस्तकको चर्चा भएको हो ।

सिकाउने शैली
सामाजिक सञ्जालमा चर्चा चलेको अर्को गैरआख्यान पुस्तक ‘सिकाउने शैली’ पनि हो । शिक्षा सचिव खगराज बरालको यो पुस्तक समग्र शिक्षामा केन्दि्रत छ । बाल्यकालको शिक्षा अनुभव र अहिले शिक्षाकै नेतृत्व तहमा पुगेपछिको यथार्थ अवस्थाका कारण पुस्तकले एकैसाथ शिक्षाको समग्र वस्तुस्थितिको जानकारी दिन्छ ।

यो पुस्तकलाई नेपाल साप्ताहिकले वर्षका उत्कृष्ट गैरआख्यानको सूचीमा राखेको थियो भने पुस्तक प्रकाशनपछि लगातार सञ्चारमाध्यममा चर्चा कमाएको थियो । पुस्तकमा ३१ वटा लेखोट छन् । सबै लेखोटले नेपालका सामुदायिक विद्यालय, सरकारी क्याम्पस, विदेशी शिक्षा, नेपालको निजी शिक्षा, विद्यार्थीका अनुभवहरुको बयान गर्छ । पुस्तक आत्मकथात्म शैलीमा लेखिएको छ । यो पुस्तक पठनीय भएको भन्दै सामाजिक सञ्जालमा मदन पुरस्कारको सूचीमा पर्नुपर्ने राय पाठक र समीक्षकहरुको थियो ।

टुकी

काठमाडौंमा खासै चर्चा नभएको तर मोफसलका साहित्यकारले निकै आशा गरेको उपन्यास हो- टुकी ।

पेशाले शिक्षक एवं रेडियोकर्मी रहेका लेखकको खास नाम मनोज चौधरी हो । पुस्तकमा भने श्रष्टाको नाम मनोज अज्ञात राखिएको छ । पुस्तकले मध्य तराईमा बसोबास गर्ने थारु समुदायको कथा भन्छ । यसले थारु इतिहास, संस्कृति र चालचलनको अभिलेखिकरण गरेको छ । नेपाली भाषामा लेखिए पनि यसमा थारु भाषामा प्रचलित शब्दहरुको प्रयोग भरपुर छ । आञ्चलिक स्वादका कारण पुस्तक पढिरहँदा कतै पनि झिँझो लाग्दैन । उपन्यासकले थारु समुदायको उत्पिडन कथा भन्दैन तर सङ्केत गर्छ । पुस्तकको मुख्य उद्देश्य नै यसको इतिहास र संस्कृतिलाई बढि भन्दा बढि पाठकसम्म पुर्‍याउने देखिन्छ ।

थारुको जनजीवन, पर्व, खानपान, संस्कार जीवनशैलीलाई आख्यानका रुपमा प्रस्तुत गरिएका कारणले यो पुस्तक मदन पुरस्कारको सूचीमा पर्नुपर्ने दावी सामाजिक सञ्जालमा सुरुदेखि नै गरिएको थियो । पछि सूचीमा नपरेपछि चितवनका लेखक-पत्रकारहरुले मदन पुरस्कार गुठीले मोफसलको लेखकले लेखेका कारण यो पुस्तक पढ्न कञ्जुस्याईं गरेको आरोप लगाए ।

मैदारो

पाठकहरुले मदन पुरस्कारको सूचीमा पर्ने दावी लगातार गरिरहे पनि भूपिन खड्काको मैदारो यो सूचीमा परेन । माझिएका कवि र निबन्धकार रुपमा प्रख्यात भएका कारण पनि पाठकलाई उपन्यासबाटबाट निकै आशा थियो । प्रकाशनपछि यसले केही हदसम्म पाठकको आशालाई पूर्ति पनि गरेको प्रतिक्रिया सामाजिक सञ्जालमा देखिन्थ्यो । कतिपयले यो पुस्तकलाई मदन पुरस्कारको सूचीमा पर्ने दावी गरेका थिए ।

तर सूचीमा यो नाम नदेखेपछि भने सामाजिक सञ्जालमा धेरै पाठकले यो पुस्तकको सम्झना गरे । पुस्तकले नेपाली समाजमा शोषित र दमित जीवन बाँचिरहेका मानिसको कथा भनेको छ । दलित पात्र, जनयुद्धको पृष्ठभूमि र कलकाकारिताको शुक्ष्म ब्याख्या गरेकोले पनि यो पुस्तकलाई मदन पुरस्कार गुठीले न्याय नगरेको सन्देश समाजिक सञ्जालमा अझै पनि आइरहेका छन् ।

जेब्राक्रश

जेब्राक्रसकी लेखिका तर्कना शर्मा सञ्चारमाध्यममा देखिइरहने नाम हो । शर्माले प्रारम्भदेखि नै सीमान्तकृत समुदाय र विषयलाई महत्व दिएर लेखिन् । यही कारण उनको पहिलो उपन्यास ‘जेब्राक्रश’ निस्कने वित्तिकै यसको चर्चा चल्यो । उपन्यासले महिला स्वाभिमानको पक्षमा बहस चलाएको थाहा पाएपछि यो पुस्तकको प्रचार गर्न महिला समुदाय नै लागे । शक्तिशाली महिला लेखकले पुस्तकको प्रसंसा गर्न थालेपछि यो पुस्तक मदन पुरस्कारको सूचीमा पर्ने आँकलन गरिएको थियो ।

तर पुस्तकको नाम सूचीमा नदेखिएपछि पुनः यो पुस्तकको सम्झनामा स्टाटसहरु लेखिन थाले । पुस्तकले एकैसाथ नेपाली समाजको पहिला पुरुषबीचको फरक, आर्थिक र सामाजिक विभेद र आधुनिक ममाजको कुरुपता देखाएका कारण यो पुस्तक सूचीमा हुनुपर्ने दावी गरिएको थियो । महिला लेखक भएका कारण पनि उनलाई महत्व दिनुपर्ने दावी कतिपय पाठकको देखिन्थ्यो ।
शून्य प्रहरको साक्षी
एक दर्शनमा एक कविता, त्यो पनि छोठा छोठा । पूर्वीय र पाश्चत्य दर्शनलाई छोटा कवितामार्फत प्रस्तुत गरिएको शून्य प्रहरको साक्षी प्रकाशन भएलगत्तै चर्चामा रह्यो । सामान्य पाठकले एकैपटकमा बुझ्न नसक्ने तर आकर्षक शैलीका कारण त्यसलाई गुन्गुनाइ रहने कविता भएका कारण यसको चर्चा भयो ।

त्यसपछि यो लगातार सञ्चारमाध्यममा यो पुस्तकको चर्चा सुरु भयो । पाठकहरुले यसलाई वर्षका उत्कृष्ट कविता कृतिमध्ये एक माने । कतिपयले यो पुस्तक मदन पुरस्स्कारको सूचीमा पर्ने आँकलन गरे । जसै सूची प्रकाशित भयो, त्यसपछि भने यो पुस्तकलाई पाठकले मदन पुरस्कारको सूचीमा किन परेन भनेर चर्चा सुरु भयो ।

अंग्रेजी साहित्यका प्राध्यापक भएका कारण श्रष्टालाई विश्व साहित्यको राम्रो ज्ञान छ । यहि कारण महेशले नेपाली साहित्यमा यसअघि नआएको शैली कवितामा प्रयोग गरेका छन् । शून्य प्रहरको साक्षीलाई सामाजिक सञ्जालमा सम्झिनुमा यसले पनि काम गरेको छ ।

सामाजिक सञ्जालमा मदन पुरस्कारको सूचीमा पर्नु पर्ने पुस्तकको मुख्य नाम यी भए पनि अन्य दर्जनौ पुस्तकलाई पनि पाठकले सम्झिरहेका छन् । यद्यपि, माथि उल्लेखित पुस्तकहरुमा भने समीक्षकहरुको पनि समर्थन छ । यहाँ बुझ्नुपर्ने कुरा के छ भने यी पुस्तकमध्ये धेरैले बजारमा चर्चा पाएका, पाठक पाएका कारण धेरै पाठकसम्म पुगेका पुस्तक हुन् । जुन पुस्तकका पाठक धेरै हुन्छन्, त्यही पुस्तकको चर्चा बढी हुन्छ । जबकि मदन पुरस्कार गुठीले आफ्ना निर्णयक मण्डलले पूर्णकालीक पाठक भएर आफ्नो लिस्ट पठाएको दाबी गरेको छ ।

धेरै पाठक हुनेवित्तिकै पुस्तकको गुणस्तर राम्रो हुन्छ भन्ने कुरा सत्य होइन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment