+
+

कुन्मिङकी कान्छी

विनोद घिमिरे विनोद घिमिरे
२०७६ साउन ४ गते ११:४५
चिनियाँ स्वयम्सेवक 'कान्छी' (दायाँ) र मालदिभ्सकी पत्रकार सिफ्ना ।

ठ्याक्कै एक वर्षपछि चीन भ्रमणको अवसर मिल्यो । तर यसपटक पहिलेको जस्तो धेरै प्रान्त होइन, एउटा मात्र प्रान्त- युनान प्रान्तको राजधानी कुन्मिङ ।

युनान प्रान्तीय सरकारबाट राजधानी कुन्मिङमा आयोजित दक्षिण पूर्वी एसिया लगानी सम्मेलन तथा व्यापार मेला एवं दक्षिण एसिया मिडिया फोरममा सहभागी हुने निम्तो आएको थियो । कुन्मिङ यात्रा मेरो पहिलो थियो ।

फूलहरुको शहर, स्प्रिङ सिटी, एसियाको गेट आदि उपमा पाएको कुन्मिङमा ओर्लिंदा स्थानीय समयअनुसार रातिको १० बजेको थियो । एयरपोर्टमा एक चिनियाँ युवती ‘हाई’ भन्दै रिसिभ गर्न आइपुगिन् । उनी युनान प्रान्त सरकारको कुन्मिङस्थित सूचना विभागकी एक कर्मचारी वाङ्ग यी थिइन् ।

एक छिनपछि कालो कार हाम्रो अगाडि आएर रोकियो । त्यो कार हामीलाई होटलसम्म पुर्‍याउन आएको रहेछ । वाङ्ग यी भने अरु साथीहरुलाई रिसिभ गर्नुछ भन्दै एयरपोर्टमै बसिन् ।

अँध्यारो चिर्दै चम्किरहेका झिलिमिली बत्तीलाई पछ्याउँदै कार चिल्लो सडकमा बत्तियो । एयरपोर्टबाट झण्डै ४५ मिनेटको यात्रापछि दियान्ची गार्डेन रिसोर्ट एण्ड स्पाको गेट अगाडि पुगेर कार रोकिँदा स्वागतका लागि अर्की एक किशोरी तैनाथ थिइन् । पातलो ज्यान भएकी, पावरवाला चस्मा लगाएकी उनले आफ्नो परिचय दिइन्, ‘…मेरो अंग्रेजी नाम जेसिका, म स्वयंसेवक हुँ ।’ उनले आफ्नो चिनियाँ नाम त के भनिन् कुन्नि बुझिएन ।

विनोद घिमिरे

भाषाको समस्या

होटलमा पुग्दा स्थानीय समय अनुसार रातिको करिब ११ बजेको थियो । लगेजहरु कोठामा थन्काएर खाना छ कि छैन भनेर सोध्न रिसेप्सनमा ओर्लिंदा भाषाको समस्या पर्‍यो । होटलका कर्मचारीले अंग्रेजी नबुझ्ने, हामीले चाइनिज भाषा नबुझ्ने । कतिबेला हातको इसारा त कतिबेला कागजमा चित्र बनाएर देखाउनुपर्ने । कतिबेला बिच्याटमा चाइनिज-अंग्रेजी, अंग्रेजी-चाइनिज भाषा अनुवाद गर्नुपर्ने ।

एकछिनपछि थाहा भयो, होटलमा खाने कुरा केही पनि रहेनछ । चीनमा साँझ ६-७ बजेभित्रै खाना खाइसक्ने चलन छ । राति ११ बजे कसले खाना दिओस् ! चीनका सुन्दरी, आदर सत्कार र झिलिमिली बत्तीको उज्यालोले पेटको भोक नमर्ने ! हवाईजहाजभित्र खान दिइएको एउटा पाउरोटी र एक कप जुसले कति समय पो धान्थ्यो र । त्यसबाहेक पेटमा केही परेको थिएन ।

बरबराउँदै ऊ हामीतर्फ अगाडि बढ्दै थिई । हामी भने पछिपछि हटिरहेका थियौं । पातलो ज्यान, खैरो कपाल, ओंठमा अस्वाभाविक जस्तो लाग्ने गाढा रातो लिपिस्टिक, शरीरमा टाटु खोपेकी ती युवतीले हामीतर्फ अघि बढाएको हात काँपिरहेको थियो

कुन्मिङ भ्रमण टोलीका अर्का एक सदस्य राइजिङ्ग नेपालका ऋतुराज सुवेदीले आफूसँग सुगर फ्री बिस्कुट रहेकाले त्यही बाँडीचुँडी खाने प्रस्ताव गर्नुभयो । वीरगञ्जबाट प्रकाशित हुने प्रतीक दैनिककी सुष्मा शर्माले आफूसँग केही क्याडबरी चकलेट रहेकाले त्यही खाएर आजको रात धकेल्ने प्रस्ताव गर्नुभयो । कान्तिपुर दैनिकका घनश्याम खड्काको रुममा बसेर हामी चारैजना बिस्कुट चपाउन थाल्यौं ।

ढोकामा कसैले टकटक गरेको आवाज आयो । ढोका खोलेर हेर्दा उनै भोलेन्टियर जेसिका थिइन् । ‘बाहिर सडक किनारमा केही पसल खुल्लै रहेछन् । धेरै त होइन, यत्तिमात्रै पाइयो,’ उनले स्ट्रीट फुडका दुईवटा प्याकेट हामीतर्फ सोझ्याउँदै भनिन् ।

हामी भोका प्राणीका लागि यो सरप्राइज थियो । यो मध्यरातमा एक किशोरी सडकमा निस्किन्छे र दूर देशका पाहुनालाई खाना खोज्दै हिँड्छे । अंग्रेजीका शब्द बटुलेर हामीले उनीप्रति कृतज्ञता व्यक्त गर्‍यौं । फेरि चाइनिज भाषामा पनि थप्यौं- से से । उनी मुस्कुराइन् । हामीलाई लाग्यो, सायद चिनियाँहरु पनि नेपालीजस्तै साँझका पाहुनालाई देउता समान मान्दा हुन् कि ?

पैसा कति खर्च भयो लेऊ भन्दा पनि उनले लिन मानिनन् । भनिन्- खर्चको कुरा तपाईंहरुसँग होइन, मेरो टिमको सिनियरसँग गर्छु । प्याकेट खोल्दा आइटम आइटमका परिकार देखिए । कुनैकुनै त हामीले नेपालमा खाने मिठाइजस्तै देखिन्थे । मध्यरातमा भोको पेट, टेबुल अगाडि परिकार । हात थामिन सकेनन् । तर, मुख थामियो । हेर्दा गुलिया मिठाइ जस्ता देखिने ती परिकारमा जिभ्रो बानी परेको भए पो । स्वाद लागेन । कुनै जीवनजल खाएजस्तो, कुनै काँचै, कुनै लेउको गन्ध जस्तो । सधैं दालभातको स्वाद पाएको यो जिब्रोलाई त्यो बिल्कुल फरक लाग्नु स्वाभाविक थियो ।

पहिलो पटक चीन भ्रमणमा गएकी सुष्माजीलाई त असैह्य नै भयो । पेटमा अलिअलि भएका चिज पनि बाहिर निकालुँला जस्तो गर्नुभयो ।

जेसिका यी सबै हेरिरहेकी थिइन् । उनी पेट भरियो कि भरिएन भनेर सोध्दै पनि थिइन् । हामीले अघाएको बतायौं । उनी फेरि मुस्कुराइन् । हामीले झूठ बोलेको कुरा उनले बुझिन् कि बुझिनन् कुन्नि ? गुडनाइट भन्दै कोठबाट बाहिरिँदै उनले भनिन्, भोलि बिहान ७ बजे ब्रेकफास्टको टाइम छ, समयमै आउनुहोला । दिनभरि अरु केही कार्यक्रम छैन । आफ्नो तरिकाले घुम्न सक्नुहुन्छ ।
०००
बिहानको नित्य कर्म नसकिँदै ब्रेकफास्टको समय सुरु भइसकेको थियो । बिहान उठेपछि एकैपटक मध्याह्न १२ बजेपछि खाना खाने बानी परेको हामीलाई बिहान सातै बजे नास्ता रुच्ने कुरा भएन । तर, खाइदिनुपर्ने बाध्यता थियो । नत्र, व्यवस्थापकले नास्ता किन नखाएको भनेर सोधीखोजी गरिहाल्थे । पाहुनालाई होटल मन परेन कि ? खाना मन परेन कि ? अथवा बिसन्चो पो भयो कि ? यस्ता प्रश्नको सामना मैले अघिल्लो वर्षको चीन भ्रमणमै गरेको थिएँ । यस्ता प्रश्नको सामना गर्नुभन्दा ब्रेकफास्ट खाने रुममा देखिएमात्रै पनि पुग्थ्यो । अथवा एक चुस्की चिया नै सहीखानु नै उपयुक्त हुन्थ्यो ।

तर, चाइनिज चिया नेपाली जस्तो ट्वाक्क चिनी लागेको नहुने । अलि धेरै चियापत्ती, धेरै दूध हालेर बाक्लो चिया खाएको बानी । कुन्मिङ बसाइको अवधिभर हामीले नेपाली चिया मिस गरिरह्यौं ।

नास्ताको समयपछि हामी नेपाली टोलीका सदस्य बाहिर घुम्न निस्कियौं ।

होटल नजिकै विशाल दियान्छी लेक (ताल) छ । आइतबार सार्वजनिक विदाको दिन भएकाले त्यहाँ .स्थानीयको घुइँचो थियो । त्यो घुइँचोमा नेपालको चार सदस्यीय टोली पनि मिसियो । कोही फेमिली ड्राई पिकनिक खाइरहेका, कोही कुकुरलाई लिएर घुमिरहेका, कोही एक्लै मोबाइल चलाएर बसिरहेका र युवायुवतीले परेवाका जोडीले जस्तै माया साटिरहेका ।

पहाडको फेँदमा विशाल ताल, तालमा तैरिरहेका पानी जहाज जस्ता देखिने ठूला डुंगा, मोटर बोट, ताल किनारमा बुट्यानसहितको पार्क, अग्ला अग्ला मसलाका रुख । ती रुखकै काखमा पैदल र साइकल यात्रीमात्र हिँड्ने रातो रंगले रंग्याइएको बाटो । कम्ता सुन्दर दृश्य थिएन त्यो । वरिपरिको सरसफाइ र सजावटले होलातालको हल्का धमिलो पानी पनि सुन्दर नै लाग्यो ।

ताल किनारका रुख मुनि लहरै राखिएका कुर्सीमा भर्खर बसेका मात्र के थियौं, एक अधवैंशे महिला आइपुगिन् र लेमिनेसन गरेको रंगीबिरंगी कागज तेर्स्याइन् । उनले केही कुराहरु भन्न त भनेकी पनि थिइन् तर चाइनिज भाषा बुझिने भए पो ! हामीले अंग्रेजी बोलेको उनले नबुझ्ने, उनले चाइनिज भाषा बोलेको हामीले नबुझ्ने । तर, कागजका चित्र हेर्दा थाहा भयो, त्यो कुनै रेष्टुरेन्टको मेनु थियो । यद्यपि मेनुमा सबै चाइनिज अक्षर थिए । हामीले अनुमान लगायौं, ताल किनारमा लहरै राखिएका कुर्सी कुनै रेष्टुरेन्टका थिए र ती हाम्रो अर्डर लिन आएकी कर्मचारी ।

हामी त्यत्तिकै उठ्यौं । अलि पर पुग्दा चिनियाँ परम्परागत नाच नाचिरहेको टोली भेटियो । रंगीविरंगी परम्परागत पोशाक लगाएर र कसैले नलगाइकन गोलो घेरा बनाएर महिला पुरुषहरु मिलेर नाचिरहेका थिए । हेर्दा नेपालको सुदूरपश्चिममा खेलिने देउडा जस्तै थियो, तर खुट्टाको ताल फरक थियो ।

हामी पनि त्यो गोलो घेरामा मिसिएर चिनियाँ टोलीसँग ताल मिलाउन खोज्यौं । हाम्रो नाच देखेर उनीहरु हाँस्न थाले, तर हामीलाई त्यसको कुनै मतलव थिएन । बस् नाच्नु थियो, रमाइलो गर्नु थियो । हामी जानी नजानी नाच्यौं ।

उनीहरुको भिडमा घुसेर नाचिदिँदा रिसाउने पो हुन् कि ? तर, हाम्रो डर एकछिन पनि टिकेन । उनीहरुले आफूले लगाइरहेको टोपी र हाफकोटजस्तो कपडा हामीलाई लगाइदिएर आफ्नो टोलीमा स्वीकार गरे ।

हामी त्यहाँबाट अगाडि बढेर मोटर बोट चढ्ने गेट अगाडि पुग्यौं । टिकट काउन्टरमा पुगेपछि पनि होटलमा जस्तै समस्या आयो, भाषाको । हातको संकेत गरेर हामीले मोटरबोट चढ्न आएको त बतायौं । तर, पैसा कति लाग्छ भनेर सोध्न र बुझ्न गाह्रो भयो । हामीले बुढी र चोर औंला घर्षण गरेर सोध्यौं- पैसा कति लाग्छ ? काउन्टरमा बसेका कर्मचारीले क्याल्कुलेटरका अक्षर थिचेर देखाए ३ सय युआन । यसबाट थाहा भयो चिनियाँले पनि नेपालीहरुले जस्तै पैसाको संकेत बुढी र चोर औंला देखाएरै गर्दा रहेछन् ।

घनश्याम खड्काजीले काठमाडौंबाट कुन्मिङ जाँदा प्लेनको एउटै सिटमा परेका एक चिनियाँ लेखकसँग चाइनिज भाषामा गन्ती सिकेको त्यहाँ काम लाग्यो । घनश्यामजीको सहयोगमा हामीले बुझ्यौं- तीन सय युआन तिरेमा हामी चारैजना एउटै मोटरबोटमा बसेर ताललाई एक फन्को लगाउन पाइने रहेछ ।

हामीलाई लाइफ ज्याकेट लगाइदिएर चालकले तालमा मोटरबोट हुइँकाए । उनले चिनियाँ भाषामा के-के भन्दै पनि थिए । उनको भनाइ र हातको संकेत हेर्दा लाग्थ्यो उनले यो ताल र तालसँगै रहेको पहाडका भित्तामा देखिने पुराना जस्ताकेही संरचनाबारे वर्णन गरिरहेका छन् । तर, उनको वर्णन हामीले बुझ्ने भए पो । हामी आफ्नै सुरमा मोटरबोटमा फोटो र भिडियो खिच्दै रमाइरह्यौं ।

घनश्यामजीले नेपाली १० रुपैयाँको नोट ती चालकको हातमा राखिदिनुभयो । उनी दंग पर्दै त्यसलाई ओल्टाइपल्टाइ हेर्न थाले । मैले नेपाली भाषामै भनिदिएँ- नेपालको १० रुपैयाँ हो दाइ, यो हाम्रो चिनो सम्झेर राख्नुस् । उनले फिस्स हाँस्दै अगाडिको खल्तीमा नोट कोचे । हामी पुनः होटलमा फर्कियौं ।

त्यतिबेला मलाई चाइनिज भाषा नबुझेकोमा पहिलो पटक दुःख लाग्यो । मलाई चाइनिज भाषा खड्किएझैँ यी चिनियाँहरुलाई अंग्रेजी भाषा नबुझेकोमा थकथक लाग्दो हो कि ? चीन बसाइको अवधिभर मनमा यही कुरा खेलिरह्यो ।

कुन्मिङस्थित दियान्छी प्रदर्शनी केन्द्रमा आयोजित व्यापार मेलामा होस् या युसी शहरस्थित हिल्टन होटलमा आयोजित साउथ एण्ड साउथ इस्ट एसिया मिडिया फोरममा होस्, औपचारिक-अनौपचारिक सबै कार्यक्रममा उच्च पदस्थ चिनियाँहरु आफ्नो भाषा मात्र बोल्थे ।

उनीहरुका कुरा दोभाषेले अंग्रेजीमा उल्था गरेर हामीलाई बुझाउने कोशिस गर्थे । हामीलाई अंग्रेजीमा बुझाउन सजिलो होस् भनेर आयोजकले नै अंग्रेजी बोल्न सक्ने केही विद्यार्थी र शिक्षकलाई पनि भ्रमण टोलीमा सामेल गराएका थिए ।

कुन्मिङ बसाइको दोस्रो दिन साँझ युनान प्रान्तको सूचना कार्यालयका डेपुटी डाइरेक्टर तियान हुछिङ्गको रिसेप्सन पार्टी थियो । त्यहाँ भारत, पाकिस्तान, बंगलादेश, मालदिभ्स र इन्डोनेसियाका पत्रकारहरुसँग पनि भेटघाट र परिचय भयो । पाकिस्तान, नेपाल र मालदिभ्सका पत्रकारहरु एउटै राउन्ड टेबुलमा थियौं । हाम्रो छेउँमै भारत, बंगलादेश र इन्डोनेसियाका पत्रकारहरु थिए ।

पाकिस्तानका मोहम्मद सलिम चौधरीसँग इमरान खान प्रधानमन्त्री बनेपछि भारत-पाकिस्तान सम्बन्धका विषयमा कुरा भइरहेको थियो । खासगरी भारतले चुनाव अघि गरेको हवाई आक्रमण र पाकिस्तानले भारतीय वायु सेनाका एकजना क्याप्टेनलाई नियन्त्रणमा लिएर ससम्मान रिहा गरेको विषयमा कुरा भइरहेको थियो । छेउँको टेबुलमा रहेका प्रेस ट्रष्ट अफ इन्डियाका पत्रकार सन्जीभ चोपराले हिन्दीमै भने- भारतसँग सम्बन्धित छलफलमा हामीलाई पनि सहभागी गराउनुस् न ।

सोही दिनदेखि नेपाल, भारत र पाकिस्तानका पत्रकारहरुको दोस्ती जम्यो । भारत र पाकिस्तान दुवै देशका पत्रकारहरुसँग हाम्रो सम्बन्ध समदुरीको थियो, असंलग्नताको सिद्धान्त र देशको अन्तर्राष्ट्रिय नीति जस्तै ।

‘कान्छी’ले जोगाइन्

कुन्मिङको पाँच दिनको बसाइ सकिइसकेको थियो । चिनियाँ आयोजक टोलीका सदस्यले केही किनमेल गर्नु छ कि भनेर सोधे । हामीले बजार घुम्ने इच्छा व्यक्त गर्‍यौं । हामीलाई बसको व्यवस्था गरेर करिब ३ बजे कुन्मिङको व्यस्त बजार पुर्‍याइयो ।

बस रोकिनासाथ वाङ यीले भनिन्- यो बजारमा तपाईंहरुले मज्जाले बार्गेनिङ गरेर सामान किन्न सक्नुहुन्छ । बरु पाँच बजे हामी होटल प्रस्थान गर्नुपर्छ भन्ने कुरालाई ख्याल गर्नुहोला ।

नेपाल, भारत, पाकिस्तान, बंगलादेश र मालदिभ्सका पत्रकार टोली आ-आफ्ना आवश्यकता अनुसारको पसल खोज्दै बजारमा छरियो । नेपाली टोलीसँग मालदिभ्सकी सिफ्ना अहमद थपिएकी थिइन् र हामीसँग थिइन् कान्छी । कान्छी, अर्थात् हामी नेपाली टोलीका लागि कुन्मिङ सरकारले नै खटाइदिएको एकजना किशोरी स्वंसेवक ।

हामीले सुरुमा दियान्छी होटलमा भेटेकी जेसिका यसपटक भारतीय टोलीसँग थिइन् । चिनियाँ नाम अप्ठेरो लागेर हामीले नेपाली नाम दिएका थियौं ‘कान्छी’ । कान्छीको अर्थ बताइदिएपछि उनी पनि दंग थिइन् ।

साँच्चैभन्दा परिवारको कान्छो सदस्य जस्तै थिइन् उनी । होचीहोची, मोटीमोटी, पहेंलो टिसर्ट र जिन्स पाइन्ट लगाएकी, आँखामा पावरवाला चस्मा, तारले दाँत बाँधेकी ।

हामीले उनलाई कान्छी नाम दिएपछि भ्रमण टोलीका अन्य देशका पत्रकारहरुले पनि कान्छी भनेरै बोलाउन थालेका थिए । पछि-पछि त चिनियाँ आयोजक टोलीले पनि ।

कान्छीले अन्य स्थानमाजस्तै किनमेल गर्दा पनि हामीलाई दोभाषेको रुपमा -चाइनिज-अंग्रेजी, अंग्रेजी-चाइनिज भाषा अनुवाद गरेर) सहयोग गरिन् ।

हामी गि्रन टी पाइने पसलको खोजीमा थियौं । फुटपाथमा हिँडिरहेका बेला घनश्यामजी विपरित दिशाबाट आइरहेकी एक चिनियाँ युवतीसँग ठोक्किनुभयो । ती युवतीको हातको मोबाइल भुइँमा खस्यो । उसले आफ्नो बायाँ हातले मोबाइल उठाई । मोबाइलको स्क्रिन स्पष्टसँग देखिन्थ्यो, फुटेको थिएन । तर, ऊ रातो पिरो भएर घनश्याम जीको आँखामा हेर्दै आफ्नै भाषामा बर्बराउन थाली ।

ऊ बरबराउँदैऊ हामीतर्फ अगाडि बढ्दै थिई । हामी भने पछिपछि हटिरहेका थियौं । पातलो ज्यान, खैरो कपाल, ओंठमा अस्वाभाविक जस्तो लाग्ने गाढा रातो लिपिस्टिक, शरीरमा टाटु खोपेकी ती युवतीले हामीतर्फ अघि बढाएको हात काँपीरहेको थियो । उसको हुलिया र आक्रोशयुक्त अनुहार साच्चिकै डरलाग्दो थियो । उसलाई हेर्दा लाग्थ्यो, अब यो हामीमाथि जाइलाग्छे । घनश्याम जी ‘सरी’,’सरी’ भनिरहनुभएको थियो ।

तर, ती युवतीको आक्रोश थामिएन । उसले बोलेको चाइनिज भाषा हामीले नबुझ्ने र हामीले बोलेको अंग्रेजी भाषा उसले नबुझ्ने । नेपाली त झन् उसले बुझ्ने कुरै भएन ।

हामी भने चुपचाप सुनिरहेका थियौं । उसले भनेका कुरा बुझ्ने भए पो केही बोल्ने । सधैंभरि सबैलाई हँसाउँदै भ्रमण रोमान्टिक बनाउने घनश्यामजीको अनुहार यतिबेला उदास थियो ।

सहयोगीका रुपमा हाम्रो टोलीमा रहेकी कान्छी ऋतुजीलाई केही सामान किन्न हामीभन्दा करिब दुई सय मिटर टाढै थिइन् । हामीमाथि के भइरहेको छ भन्ने कुरा उनलाई थाहा थिएन । त्यतिञ्जेल छेउछाउँका पसलेहरु पनि झुम्मिएका थिए । कान्छी दौडिँदै आइन् ।

अब त्यो युवतीका अगाडि कान्छी उभिइन् । उनीहरुबीच चाइनिज भाषामा वार्तालाप भयो । केही मिनेटपछि ती युवती हामीलाई आँखा तर्दै आफ्नो बाटो लागिन् । केही पाइला अगाडि सार्दै, रोकिँदै, हामीतर्फ फर्किंदै, आँखा तर्दै, उनी बर्बराइरहेकी थिइन् ।

हामीले कान्छीलाई सोध्यौं- उसले के भनेर गई ?

कान्छीले भनिन्- मोबाइल भुइँमा खसालिदिएवाफत् पाँच सय युनान चाहियो रे ।

‘अनि तिमीले के भन्यौ ?’

‘यिनीहरुले जानीजानी गल्ती गरेका होइनन् । यिनीहरु हाम्रो देश घुम्न आएका पाहुना हुन् । गल्ती भएको रहेछ भने पनि हामीले माफी दिनुपर्छ ।’

‘यति भन्नासाथै उसले मानी त ?’

‘मानेर त गई नि । तपाईंहरुको तर्फबाट मैले सरी भनेको थिएँ नि त ।’

‘तर, उसको रीस मरेको जस्तो देखिँदैन, फेरि फर्केर आक्रमण त गर्दिनँ ?’

‘ऊ अस्वाभाविक देखिएकी छे । ऊ मातेकी छे । सायद उसले डि्रंक्स गरेको हुनुपर्छ । ऊ गइसकी । अब तपाईंहरु पहिलेको जस्तै हाँसीखुसी सपिङ जारी राख्नुस् ।’

कान्छीको यो सहयोगबाट हामी नतमस्तक भयौं । कुनै फिल्ममा आपत परेका बेला हिरो आएर बचाएजस्तै भयो । हामीलाई ठूलो आपतबाट जोगाएको भन्दै हामीले कान्छीलाई धन्यवाद भन्यौं ।

यद्यपि हाम्रो मन प्रशन्न भएन । कतै त्यो केटी आफ्नो ग्याङ ल्याएर हामीमाथि जाइलाग्छे कि ! हामीमा डर कायमै रह्यो ।

सपिङ सकेर होटल फर्किँदासम्म पनि हामीबीच त्यही घटनाको कुरा भइरह्यो । उसले कुनै धारिलो हतियारले आक्रमण गरेको भए ! पेस्तोल पनि बोकेकी पो थिई कि ! पेस्तोलले नै हामीलाई हानेको भए ! यी सब अड्कलसँगै निचोड के थियो भने, हाम्रो ज्यान जोखिममा थियो, कान्छीले जोगाइदिइन् ।

भोलिपल्ट पनि त्यही आक्रोशित युवती र कान्छीले विनम्रतापूर्वक सम्झाइ बुझाइ गरेर संकटबाट पार लगाएको घटना आँखामा नाचिरह्यो । त्यो बेलादेखि पैदल हिँड्दा कुनै चिनियाँ नागरिक विपरीत दिशाबाट आइरहेको छ भने पनि सचेत भएर हिँड्न थालियो । घनश्यामजी भन्नुहुन्थ्यो, त्यत्तिको डर मलाई कहिल्यै लागेको थिएन ।

तर, हामी कान्छीसँग झन् निकट भयौं । कान्छी पनि हामीसँग खुलेर कुरा गर्न थालिन् ।

‘म २२ वर्ष पुगेँ, २५ पुगेपछि बिहे गर्छु । अबको तीन वर्षभित्र आफ्नो खुट्टामा आफैं उभिन सक्ने बन्नु छ, उनले भनिन्, मेरो बिहे एरेन्ज नै हुनेछ । किनभने मेरो ब्यायफ्रेन्ड छैन । लभ गरेर दुःख पाएका मेरा साथीहरुले जस्तो दुःख मलाई पाउनुछैन ।’

‘मेरा बुवाको सेकेन्ड ह्यान्ड सामानहरुको पसल छ, त्यसैबाट घर खर्च चल्छ । सरकारले गर्ने सहयोग त छँदै छ । अब बुवाले धेरै श्रम गर्न सक्नुहुन्न, अब मैले श्रम गरेर बुवाआमालाई हेर्नुछ ।’

२२ वर्षे उमेरकी कान्छीका यी कुरा निकै परिपक्व लाग्थे । म हरेक कुराहरु नेपाल र नेपालीसँग दाँजेर हेर्थें, तर अहँ, पटक्कै मेल नखाने ।

****

कुन्मिङ्गबाट अर्को पर्यटकीय नगरी दालीमा गएको बेला पनि हाम्रो किनमेल जारी थियो । दिनभरीको भ्रमणपछि साँझ होटलमा फर्किएको बेला ऋतुजीले कान्छीलाई भन्नुभयो- छोरोलाई बास्केटबल खेल्दा लगाउने जुत्ता किन्दिनैपर्ने भयो । मलाई बजार लैजान सक्छेउ ?

कान्छीले आफूले लगाएको वान पिस कपडालाई दुवै हातका बुढी र चोर औंलाले कम्मरमा कस्दै भनिन्-यी यति धेरै खुकुलो छ, यहाँनेर टाइट भएको भए पो राम्रो हुन्थ्यो

कुन्मिङकी कान्छी दालीमा नयाँ थिइन् । कस्तो खालको सामान कहाँ पाइन्छ भन्ने उनलाई थाहा थिएन । त्यसैले उनले दालीकै आफ्नो साथीलाई बोलाइन् । साथी नआउन्जेल एकछिन होटलको लबीमा कुर्नुपर्ने भयो । कुरिरहँदा कान्छी आफ्नो मोबाइलमा घरी घरी हेर्थिन् र भन्थिन्- मेरो साथी नजिकै आइपुगी, अब एकैछिन् कुरौं है ।

कुन मान्छे कहाँ गइरहेको छ, कहाँनेर रोकिएको छ, मोबाइलमा ट्रयाकिङ सिस्टमले सबै देखाउँदो रहेछ । फोन गरेर, कहाँ पुगिस् भनेर सोध्नै नपर्ने ।

फेरि एकछिनपछि मोबाइल हेरेर भनिन्- बाटोको पल्लोपट्टी आइसकि छ । अब जाऔं ।

यो आग्रहसँगै ऋतुजी कान्छीको पछि लाग्नुभयो । म होटलको लिफ्टतर्फ अगाडि बढेँ ।

‘तपाईं पनि बजार जाने होइन ? बल्ल त ७ बजेको छ, यति चाँडै कोठामा गएर के गर्नु ? बरु एकछिन बजार घुमौं,’ कान्छीको यो आग्रह मलाई थियो ।

साँझको खाना दाली युनिभर्सिटीमै खाइसकेका थियौं । अब गएर सुत्ने त हो । बरु एकछिन घुम्न नै ठीक होला भन्ने ठानेर म पनि उनीहरुसँगै मिसिएँ ।

कान्छी र कान्छीकी साथीले ठूला सपिङ मलदेखि, फुटपाथका पसल र सेलमा राखिएका सामान किन्न पाइने ठाउँमा पुर्याए । केही सामान हामीलाई किन्न सघाए, केही आफैंले किने ।

एउटा पसलमा कान्छीले मलाई भनिन्- म एउटा कपडा किन्छु, तर तपाईंको च्वाइसमा ।

उनले एउटा हातमा पहेंलो रंगको र अर्को हातमा क्रिम कलरको वान पिस कपडा लिएर सोधिन्- मलाई कुन चाहिँ ठीक होला ?

मलाई आपत् पर्‍यो । म आफ्नै लागि त कपडा किन्न जान्दिनँ, केटीहरुले लगाउने कपडा किन्न झन् कहाँ जान्नु !

मैले भनेँ- यो काम मबाट हुँदैन । किनभने मलाई कपडा रोज्नै आउँदैन । बरु तिम्रै साथीलाई सोध न ।

उनी हाँस्दै चेन्जिङ रुममा छिरिन् । पहेँलो कपडा लगाएर बाहिर निस्किइन् र फेरि मलाई नै सोधिन्- यो कपडामा म कस्ती देखिएँ ?

‘तिमीलाई पहेँलो कपडा नै सुहाउँछ । यही किन्दा हुन्छ ।’

मेरो उत्तर सुनेर कान्छी मात्र होइन, उनकी साथी पनि हाँसिन् ।

मैले सोधेँ- किन हाँसेको ?

कान्छीले आफूले लगाएको वान पिस कपडालाई दुवै हातका बुढी र चोर औंलाले कम्मरमा कस्दै भनिन्-यी यति धेरै खुकुलो छ, यहाँनेर टाइट भएको भए पो राम्रो हुन्थ्यो ।

म पनि खिस्स हाँसेँ ।

हामीबीच भइरहेको वार्तालापबारे ऋतु जी अनभिज्ञ हुनुहुन्थ्यो । उहाँ पल्लो कुनामा राखिएका भेष्ट र ओभरकोट ओल्टाइपल्टाइ हेरिरहनु भएको थियो ।

कान्छीले वान पिस कपडा ह्यांगरमै थन्काइन् र एउटा निलो जिन्स पाइन्ट बोकेर फेरि चेन्जिङ रुममा छिरिन् । एकछिनपछि बाहिर निस्किएर फेरि मलाई सोधिन्- यो पाइन्ट मलाई ठीक छ ?

उनले लगाएको पाइन्टको रंग त ठीक थियो, तर बाहुला अलि छोटा र खुकुला थिए ।

‘अरु त ठीकै हो, तर टाइट भएन,’ मैले भनेँ ।

मलाई लाग्यो कम्मरमा फिट नभएको भन्दै वान पिस फिर्ता गरेकी कान्छीलाई यो खुकुलो जिन्स पाइन्ट पनि ठीक भएन ।

तर, उनले त यही ठीक छ भन्दै पाइन्ट प्याक गर्न काउन्टरमा पो दिइन् र भनिन्- तपाईंलाई साँच्चैभन्दा कपडा रोज्न आउँदो रहेन छ ।

लेखकको बारेमा
विनोद घिमिरे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?