Comments Add Comment

देश सुब्बाको भयवाद : दर्शनशास्त्र हो कि साहित्य ?

नेपाली साहित्यमा ‘प्रशंसावाद’ एउटा डरालाग्दो मनोरोगका रुपमा विकसित हुँदै गइरहेको छ । लेखकहरु आलोचना-समालोचना भन्दा बढी प्रशंसा सुन्न र सम्मान-पत्र थाप्नतिर दौडन थालेका छन् । लेखकहरुको यही मनोविज्ञानलाई बुझेर समीक्षकहरुमा पनि आलोचनात्मक चेत हराउन थालेको छ । लेखन र समालोचना दुबै क्षेत्रमा देखा परेको यो मनोरोग नेपाली समाजको वर्तमान वस्तुस्थितिबाट आवर्तित भएको अपसंस्कृति हो ।

सुदूरपूर्वको ताप्लेजुङमा जन्मेर हङकङलाई आफ्नो कर्मथलो बनाउँदै आएका उपन्यासकार एवं चिन्तक देश सुब्बाले केही वर्षदेखि लगातार एउटा ‘सिद्धान्त’ ‘प्रतिपादन’ गरेका छन् र देश विदेशमा त्यसैको वकालत गर्दै आइरहेका छन् । सुब्बाको यो ‘सिद्धान्त’ हो- भयवाद ।

आदिवासी लगायतका उपन्यासहरु लेखेर उपन्यासकारको पहिचान बनाएका सुब्बाले जीवनलाई भयले सञ्चालन, निर्देशन र नियन्त्रण गर्छ भन्दै आएका छन् । तर, मानिसमा भयको अन्त्य भयो भने समाज सभ्य बन्ने उनको निश्कर्ष छ ।

सुब्बाले प्रतिपादन गरेको ‘भयवाद’का वाचकी र उपवाचकीहरु बजारमा धेरैजना निस्किएका छन् । तर, उनीहरुले ‘भयवाद’ले दर्शनशास्त्रको विधालाई योगदान पुर्‍याइरहेको छ या साहित्य र सौन्दर्यशास्त्रलाई भन्ने पर्गेल्न सकेको देखिँदैन ।

लेखक देश सुब्बाले प्रंशसा रुचाउँछन् या आलोचना, त्यो स्पष्ट छैन । तर, बाइबलको भाष्यमाथि पूर्णविश्वास गर्ने चाल्र्स डार्बिनले थाहै नपाई ‘विकासवादी सिद्धान्त’को प्रतिपादन गरेजस्तै सुब्बाले प्रतिपादन गरेको ‘भयवाद’ले प्रतिपादककै पूर्वमान्यताहरुमाथि प्रश्नहरु उठाइरहेका छन् । तर, यी प्रश्नलाई न त लेखकले देखेका छन्, न त उनका प्रशंसकहरुले नै ।

प्रस्तुत समीक्षामा देश सुब्बाबाट प्रतिपादित ‘भयवाद’ बारे रांैचिरा विश्लेषण गर्नतिर लागिएको छैन । तर, उनले प्रतिपादन गरेको यो सिद्धान्त सौन्दर्यशास्त्र हो कि दर्शनशास्त्र भन्ने विषयमा सामान्य प्रश्न उठान गर्नमात्र खोजिएको छ । र, यसबारेमा बहस होस् भन्न खोजिएको छ ।

मानिस र मानव समाज केबाट सञ्चालित हुन्छ भन्ने विषयमा दार्शनिकहरुवीच परापूर्वकालदेखि विवाद हुँदै आएको छ । मानव जापत ईश्वरको लीला हो भन्ने दैवी स्कुल एकातर्फ छ भने कसैले मानिस कामवासनाबाट, कसैले वर्गसंर्घषबाट त कसैले अहमबाट सञ्चालित हुन्छ भन्दै आएका छन् । जस्तो फ्रायडले मानिस कामवासना र अवचेतन/चेतन मनबाट सञ्चालित हुन्छ भनेका छन् भने कान्टले ‘अहम’ लाई मानिसको सञ्चालक मानेका छन् । कार्ल मार्क्सले चाहिँ वर्गसंघर्षलाई मानव समाजको मुख्य चालक मानेका छन् ।

र, यही विश्वस्तरीय विवादको वीचमा नेपाली नागरिक देश सुब्बाले मानिस भयबाट सञ्चालित र निर्देशित हुँदै आएको फरक व्याख्या गर्ने प्रयास गरेका छन् । मानिस भयको वीचमा घेरिएको हुन्छ र त्यसबाट मुक्त हुने उपायको खोजी नै अहिलेसम्मको मानव समाजको इतिहास हो भन्ने प्रकारको उनको विश्लेषण छ ।

जसरी समाजशास्त्री एवं राजनीतिशास्त्रीहरुले मानव समाजलाई आर्थिक सम्बन्धहरुका आधारमा आदिम युग, सामन्ती युग, पुँजीवादी युग, समाजवादी युग इत्यादिमा वर्गीकरण गरेका छन्, सुब्बाले पनि भयका आधारमा त्यसैगरी युगको वर्गीकरण गर्ने प्रयास गरेका छन् ।

सुब्बाले प्रतिपादन गर्न खोजेको भयवादी दर्शनबारे यहाँ यतिमात्रै भनौं- कुनै पनि समाजशास्त्र पूर्ण हुँदैन । मार्क्सवाद पनि पूर्ण छैन । प|mयण्वाद पनि पूर्ण छैन । समाजको व्याख्या-विश्लेषण गर्ने दर्शन भनेको समाजलाई हेर्ने एकप्रकारको एङ्गल अर्थात दृष्टिकोण मात्रै हो ।

यसअर्थमा भयवाद पनि एउटा दृष्टिकोण हो । यो सही पनि छ, तर अरु दर्शनजस्तै अपूर्ण पनि त्यतिकै छ । अनि यो दर्शन कुनै नयाँ आविश्कार नभएर अन्यान्य विषयहरुको टालाटुली मात्रै पनि हो, जस्तो- मार्क्सवाद पनि हेगेल र फायरबाखको सापटीमा निर्मित दर्शन हो ।

यसरी बुझ्ने प्रयास गरियो भने देश सुब्बाले गरेको मानवसमाजको व्याख्याको प्रयास प्रशंसकीय र सह्रानीय छ । भलै यो संसार उनैले भनेजसरी चल्छ भनेर विश्वास गरिराख्न जरुरी छैन । तर, उनले गरेको ‘भयवाद’ को सामान्यीकरण किनै रोचक प्रकारको छ ।

साहित्यकारले कुरो बुझेनन्

कतिपय साहित्यकारहरुले देश सुब्बाको भयवादलाई आउामेली आन्दोलन, बुट पालिस आन्दोलन, सिर्जनशील अराजकता, झर्रोवादी आन्दोलन इत्यादिसँग तुलना गरेर कान्छो साहित्यिक आन्दोलनका रुपमा व्याख्या गर्ने प्रयास गरेको देखिन्छ । यो चाहिँ दर्शनशास्त्रको ज्ञानको अभावले उत्पन्न विचार मात्र हो ।

तर, साहित्यकारहरुमा भयवादबारे यस्तो भ्रम रहनुमा स्वयं देश सुब्बा पनि एक हदसम्म जिम्मेवार देखिन्छन् । किनभने उनले आफू दर्शनशास्त्री हो कि साहित्यकार मात्र हुँ भनेर आफैंले छुट्याउन सकेका छैनन् । उनी आफ्नो भयवादको समालोचनाको जिम्मा मिाजशास्त्रीलाई दिनुको साटो कविहरुलाई दिएर हिँडिरहेका छन् । लेखकको कमजोरी यहीँनेर देखिन्छ ।

सुब्बाले प्रतिपादन गरेको ‘भयवाद’ ले साहित्य र सौन्दर्यशास्त्रमा केही न केही फरक धार स्थापित गर्न सक्ला -जस्तो उनको आदिवासी उपन्यास) तर, भयवाद भनेको सौन्दर्यशास्त्रभन्दा माथिको योगदान हो । यसमा आविश्कार र वाचक उपवाचकहरु सबैजना अल्मलिएका छन् । समस्या यहीँनेर छ ।

डा. गोविन्दराज भट्टराईले ‘भयवाद’ नेपाली साहित्यमा उठेको अन्तिम विचार हो, वैचारिक आन्दोलन हो भनेका छन् । (दीपक सुवेदी, भयवाद चिन्तन र विमर्ष, पृ ६९) । डा. भट्टराईले भयवादलाई आयामेली आन्दोलन, रंगवाद र सिर्जनशील अराजकतावादी आन्दोलनसँग तुलना गरेका छन् । लीला लेखन, भोक कविता आन्दोलन जस्ता पक्षहरुसँग उनले भयवादलाई जोडेका छन् । एकजना साहित्यकारले भयवादलाई बुझ्ने यसरी नै संकीर्ण अर्थमै हो । कतिपय कविहरुले देश सुब्बाको भयवादलाई साहित्यका विभिन्न रसहरुमध्ये ‘विभत्स रस’ सँग जोडेर व्याख्या गर्नुमा पनि साहित्यकारहरुको यही सीमाले काम गरेको छ ।

साहित्य र सौन्दर्यशास्त्रका साथै दर्शनशास्त्रको पनि सैद्धान्तिक ज्ञान राख्ने डा. सञ्जीव उप्रेतीले चाहिँ ठीकै भनेका हुन् । उनले भनेका छन्, ‘अब हामी माझ भयवादको नयाँ चश्मा आएको छ । दृष्टिकोण आएको छ । यसलाई हामीले स्वागत गर्दै जीवनलाई अझ विस्तृत बुझौं, मिहीन बुझौं भन्ने लागेको छ ।’ (उही, पृष्ठ ७८)

यद्यपि उप्रेती भयवादको निश्कर्षसँग पूर्णरुपमा सहमत छैनन् । उनले यसमा केही कमजोरीहरु रहेको औंल्याएका छ । उप्रेतीले जस्तै गरी भयवादमाथि प्श्न उठाउने ठाउँहरु प्रशस्तै छन्, जुन प्रश्न हरेक समाजशास्त्रमा उठ्ने गर्दछ ।

अन्त्यमा एउटा रोचक प्रशंग उल्लेख गरेर बीट मारौं: यत्रो विश्वस्तरीय सिद्धान्तको प्रतिपादन गरेका देश सुब्बा आफूलाई कुनैबेला आदिवासी आन्दोलन, कुनैबेला लिम्बुवान आन्दोलन आदिको चर्चा गर्छन् । पहिचानवादी आन्दोलनको चर्चा गर्छन् । पहिचानवादी आन्दोलनमा भयवादलाई सामान्यीकरण गर्नु एकजना दर्शनशास्त्रीको काम हुन सक्ला, तर उनी भयवाद र आदिवासीवादको घोल तयार पारेर आफैं अल्मलिएका छन् । र, यसमा उपन्यासकारहरुको संगतले उनलाई दर्शनशास्त्री कम र उपन्यासकार बढी बनाइदिने गरेको छ ।

फलतः नेपाली माटोमा ‘आविश्कार’ भएको एउटा समाजशास्त्रीय दर्शनका आविश्कारक आफैं सुगन्ध नभेटाएको कस्तुरीजस्तै बन्न पुगेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment