Comments Add Comment

काभ्रेबाट सार्वजनिक बस चढेर राजधानी छिरेका थिए माइला लामा

Photo Credit : माइला लामा/फेसबुक

५ साउन, काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिवन्धित नेकपाका नेता माइला लामा काभ्रेबाट काठमाडौं छिर्नेवित्तिकै पक्राउ परेको खुलेको छ ।

विप्लव समूहका कार्यकर्ता रेशम लामाको बुबाको निधन भएपछि परिवारलाई भेट्न लामा त्यहाँ पुगेका थिए । तर, फर्किएर काँडाघारीमा बसेकै मध्यराति उनी पक्राउ परेका हुन् ।

महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुका अनुसन्धान अधिकृतका अनुसार लामा चिनेकै व्यक्तिको घरको माथिल्लो तलामा च्यानल गेट बन्द गरेर बसेका थिए ।

शनिबार साँझ उनी सार्वजनिक यातायात चढेर काठमाडौं छिरेको प्रहरी स्रोत बताउँछ । मध्यराति पक्राउ गरेर उनलाई टेकु पुर्‍याइएको छ ।

यो पनि पढ्नुहोस विप्लव समूहका उपत्यका इञ्चार्ज माइला लामा पक्राउ

उनको साथबाट ४ वटा मोबाइल पनि बरामद भएको छ, जसको विश्लेषणमा अहिले प्रहरी अधिकृत जुटेका छन् । बयानका क्रममा उनले पार्टीको कामको सिलसिलामा आफू उपत्यकाको विभिन्न क्षेत्रमा बस्ने गरेको बताएका छन् ।

प्रहरीले उनलाई एक जनाको मृत्यु र दुई जना घाइते हुने गरी भएको नख्खु बम विष्फोटमा जोडेर कर्तव्य ज्यान मुद्दामा म्याद थप गर्ने तयारी गरेको छ । लामामाथि राज्यविरुद्धको कसूर अपराधअन्तर्गत पनि कारबाही हुने जनाइएको छ ।

को हुन् लामा ?

काठमाडौं सीतापाइलामा बस्दै आएका लामा विप्लव समूहको एक प्रभावशाली नेता हुन् । २०६४ सालको पहिलो संविधानसभा काठमाडौंबाट चुनाव लडे पनि पराजित भएका थिए ।

लामा तत्कालीन माओवादीको जनसाँस्कृतिक महासंघको अध्यक्षसमेत थिए । तर, पार्टी बिभाजनपछि मोहन वैद्य हुँदै उनी विप्लव समूहमा लागेका थिए ।

माओवादी जनयुद्धको क्रममा उनका हातका केही औंलामा क्षति पुगेका छन् भने सुन्ने र देख्ने क्षमता पनि कमजोर बनेको छ ।

उनले सयौं क्रान्तिकारी गीत गाएका छन्, संगीत दिएका छन् र लेखेका पनि छन् । उनले संगीत दिएका धेरै गीतहरुमध्ये नेत्रविक्रम चन्द (विप्लव)को शब्द रहेको ‘कसले बनायो दाजै उडी जाने बस’ चर्चित छ ।

राजधानीमा विप्लव समूहले मच्चाएको चन्दा आतंकको मुख्य सूत्रधार पनि उनै भएको प्रहरीले दाबी गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment