Comments Add Comment

पर्यटक पर्खिरहेको ‘स्मार्ट’ कृषि गाउँ मनिमारे

Photo Credit : कुलदीप न्यौपाने

६ साउन, दाङ । रोल्पाको गंगादेव गाउँपालिका–३, मनिमारेका किसान भीमबहादुर खत्रीको तन जता भए पनि मन भने दिनरात बारीमै डुलिरहेको हुन्छ । बारीमा फलेका लटरम्म स्याउका दानाले उनको मन रोमाञ्चित बनाइदिन्छ । गत वर्ष ८ लाख रुपैयाँको स्याउ बिक्री गरेको बताउने खत्री अहिले त्योभन्दा दोब्बर बिक्री हुने आशामा छन् ।

१ हजार २ सय बोटमा स्याउ फलाएका खत्री भन्छन्, ‘१५/१६ लाखको स्याउ यो वर्ष बिक्री हुन्छ कि भन्ने लागेको छ, त्यसको लागि अहिलेदेखि नै तयारी गरिरहेको छु ।’

भीमबहादुरको फार्मसँगै जोडिएको दक्षिणतर्फको फार्म हो– रामबहादुर खत्रीको । उनको फार्ममा झण्डै ८ सय स्याउका बोट छन् । उनको फार्म पनि स्याउले राताम्मे देखिन्छ ।

‘स्याउ खेती त राम्रो भइसक्यो, यहाँको स्याउ देशका विभिन्न कुनामा पुगिरहेको छ र यसबाट राम्रो आम्दानी पनि भइरहेको छ,’ रामबहादुर भन्छन्, ‘स्याउ बारीमै आएर ग्राहक आफैंले टिपेर खाने वातावरण बनाउने हाम्रो लक्ष्य छ ।’

कृषि पर्यटनको गन्तव्य

यहाँ स्याउ खेतीसँगै कृषि पर्यटन प्रवर्द्धनको प्रयास पनि थालिएको छ । त्यसैले यहाँका किसानहरुले आफ्नो फार्मको नाम नै पर्यटनसँग जोडेर राखेका छन् ।

भीमबहादुरले आफ्नो र श्रीमती लक्ष्मीको नामको अगाडिको अक्षर जोडेर ‘लभी पर्यटन व्यवसायी स्याउ खेती फार्म’ नाम राखेका छन् । यसैगरी रामबहादुर खत्रीले पनि ‘रामभूमि पर्यटन स्याउ खेती फार्म’ नाम राखेका छन् ।

रामबहादुरकै फार्म नजिक गंगाराम खत्री र देउमती खत्रीले पनि स्याउ खेती गरेका छन् । झण्डै एक हजार बोट स्याउ खेतीको फार्म चलाएको यो दम्पतीले पनि ‘गंगा–देउस्थल स्याउ खेती पर्यटन फार्म’ नाम राखेको छ । देउमती पनि अब स्याउ खेतीलाई कृषि पर्यटनको रुपमा विकास गर्ने बताउँछिन् ।

मनिमारे स्याउ खेतीको पकेट क्षेत्र हो । यो वडाका चार सय बढी परिवारले स्याउ खेती गर्दै आएका छन् । सबैका फार्ममा लटरम्म फल लागेका छन् । स्याउ पाकेर रातै भएको दृष्य मनमोहक छ ।

अबको केही दिनमै स्याउ टिप्ने सिजन सुरु हुन्छ । अहिले सबै किसान त्यसकै तयारीमा छन् । हरेक वर्ष स्याउ खेती बढ्दै गएपछि आर्थिक उपार्जन त भएको छ नै, त्यससँगै कृषि पर्यटनको गन्तव्य बनाउने सपना पनि स्थानीयले देख्न थालेका छन् ।

‘हामी चिया बगान हेर्न इलाम पुग्छौं, नमूना खेती हेर्न पाल्पाको मदनपोखरा पुग्छौं, स्याउ खेतीको नमूना देखाउन हामी पनि कम छैनौं,’ भीमबहादुर भन्छन्, ‘हामी पनि स्याउको उत्पादन बढाउँदै यसलाई कृषि पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न चाहन्छौं ।’

स्मार्ट गाउँले बढाएको आशा

पहिले–पहिले सरकारबाट सहयोग नपाएको गुनासा गर्ने मनिमारेका किसानहरू अहिले भने सकारात्मक देखिन्छन् । यसको प्रमुख कारण हो– प्रदेश सरकारले घोषणा गरेको ‘कृषि स्मार्ट कार्यक्रम’ । प्रदेश ५ ले गत आर्थिक वर्षमा ५२ वटा निर्वाचन क्षेत्रमा एक–एक वटा ‘कृषि स्मार्ट गाउँ’ घोषणा गरेर झण्डै ५० लाख बजेट दिएको थियो । त्यसमध्ये मनिमारे पनि एक हो ।

प्रदेशसभा सदस्यहरुको सिफारिसमा लागू गरिने यो कार्यक्रम यस क्षेत्रका प्रदेशसभा सदस्य दीपेन्द्र पुन ‘सिजल’को सिफारिसमा मनिमारे पनि ‘स्मार्ट गाउँ’को सूचीमा छ । जम्मा ९९ घर परिवारका २ सय ३५ महिला र २ सय ५९ पुरुष गरी ४ सय ९४ जना कृषि स्मार्ट कार्यक्रममा समेटिएका छन् । यो कार्यक्रम लागू भएपछि यहाँका किसानमा आशा र उत्साह बढ्दै गएको छ ।

कृषि स्मार्ट गाउँमा सूचीकृत भएपछि प्रदेश सरकारले ५० लाख र गंगादेव गाउँपालिकाले १२ लाख गरी ६२ लाख बजेट गत वैशाखमा दियो । त्यही बजेटबाट तीन महिनाको अवधिमा यहाँका किसानहरुले उल्लेख्य काम गरिसकेका छन् । आकासे पानी संकलनका लागि २० वटा पक्की पोखरी बनाइएको छ । ती पोखरीमा किसानहरुले आफ्नो घरको छानोबाट पाइप जोडेर आकाशेपानी जम्मा गर्छन् । झण्डै पचास हजार लिटर क्षमताका यी पोखरीमा जम्मा भएको पानीबाट सिँचाइको प्रवन्ध मिलाइएको छ । त्यसो त यही बजेटबाट १० किलोमिटर टाढा रहेको मुहानबाट पानी पनि गाउँमा ल्याइसकिएको छ ।

यो पनि पढ्नुहोस रोल्पाको नयाँ परिचय : अर्गानिक स्याउ उत्पादन केन्द्र !

त्यस्तै ४४ घरमा सुधारिएको भकारो बनाइएको छ, जसबाट पशु चौपायाको गोबर र पिसाब फरक–फरक ठाउँमा जम्मा गरिन्छ । गोबर मलको रुपमा उपयोग हुन्छ भने पिसाबबाट जैविक विषादी बनाइन्छ ।

रायोको साग सुकाउने त्रिपाल, हाते ट्यांकी, फोहर व्यवस्थापनका लागि डस्टबिन, स्याउ काट्ने औजार र स्याउ जम्मा गर्ने २ सय ५० वटा क्यारेट पनि किसानले यही बजेटबाट पाएका छन् । अब उन्नत गाई भित्र्याउने र चक्लाबन्दी गरेर स्याउ खेती अझै व्यवस्थित गर्ने स्मार्ट कृषि गाउँ कार्य समितिका सदस्य सचिव कुलबहादुर केसीको भनाइ छ ।

एउटै वडामा बर्सेनि भित्रिन्छ १० करोड

गंगादेव गाउँपालिकामा ९० प्रतिशत जनसंख्या कृषिमा आश्रित छ । कृषि उत्पादन बिक्री गरेर मनिमारे वडाले मात्रै वार्षिक १० करोड भित्राउने गरेको कृषि सञ्जाल गंगादेव गाउँपालिकाका अध्यक्ष रामबहादुर खत्री बताउँछन् ।

अगुवा किसान खत्रीका अनुसार आर्थिक उपार्जनको हिसाबले स्याउ खेती भने तेस्रो स्थानमा पर्दछ । स्याउबाट यस वर्ष एक करोडको हाराहारीमा पैसा गाउँ भित्रिने अनुमान गरिएको उनी बताउँछन् । ‘स्याउबाट हुने आम्दानी बर्सेनि बढ्दै गएको छ,’ उनी भन्छन् ।

पहिलो स्थान आलुको छ । बारीबाटै बीस रुपैयाँ प्रतिकिलोको दरले बिक्री गर्दा पनि आलुबाट सबैभन्दा धेरै वार्षिक ६ करोड रुपैयाँ भित्राउने गरेको रामबहादुर बताउँछन् ।

त्यस्तै दोस्रो उत्पादन हो– रायोको बीउ । यो वर्ष मात्रै मनिमारेबाट ३० टन रायोको बीउ निर्यात गरिएको र साढे एक करोड रकम गाउँ भित्रिएको जिल्ला समन्वय समितिका सदस्यसमेत रहेका अगुवा किसान लोकमान ओलीले जानकारी दिए ।

अर्गानिक उत्पादनको लक्ष्य

आगामी वर्ष अधुरा काम पूरा गर्ने दिशामा अघि बढ्ने कृषि स्मार्ट गाउँको लक्ष्य छ । ‘धेरै पुराना काम बाँकी छन्,’ कृषि स्मार्ट गाउँ सञ्चालक समिति संयोजक प्रेमबहादुर ओली भन्छन्, ‘अब पूर्ण जैविक खेतीतर्फ सोचेका छौं, अब हाम्रो कार्यक्रम त्यसतर्फ लक्षित हुनेछ ।’ उनले प्रविधि प्रयोगमा पनि जोड दिने नीति लिइएको बताए ।

त्यति मात्र होइन किसानको संस्कार पनि बदल्ने सोंच छ । ‘हामीले कृषि स्मार्ट गाउँ भनेका छौं, स्मार्ट भनेको ख्याल ठट्टा होइन धेरै कुरा स्मार्ट हुनुपर्छ,’ उनले भने, ‘सबैभन्दा महत्वपूर्ण कुरा त किसानहरुको सोच, शैली र व्यवहार स्मार्ट हुनुपर्छ, त्यसका लागि पहल गरिरहेका छौं ।’

अन्य ठाउँका किसान र स्मार्ट गाउँका किसानबीचको बानी व्यवहार पनि फरक हुनुपर्ने उनको भनाइ छ । ‘अब यहाँका किसान भद्र र विज्ञ हुनु जरूरी छ,’ उनले थपे, ‘सधैं आफैं सिकिरहने होइन, अरुलाई सिकाउने हैसियतमा यो गाउँ पुग्नुपर्छ, अनि मात्र स्मार्ट गाउँ बन्छ र यो धेरैका लागि अध्ययन गर्ने थलो पनि हुन्छ ।’

किसानको सोच र शैली बदल्ने, होमस्टे बनाउने तथा कृषि पर्यटन प्रवर्द्धन गर्ने यहाँका किसानको योजना छ ।

अझै बाटोकै पिरलो

स्मार्ट कृषि गाउँमा बाटो भने जीर्ण छ । दाङबाट सल्यानको कपुरकोट वा रोल्पाको होलेरी हुँदै निगालपानी, कोइला हुँदै झ्यामसम्म जाने बाटो कालोपत्रे नभए पनि आवागमन सहज छ । दाङबाट तीन घण्टामै झ्याम पुग्न सकिन्छ ।

तर, झ्यामदेखि मनिमारे, नाउलीसम्मको कच्ची सडक अप्ठेरो र साँघुरो छ । कृषि उत्पादन ढुवानी गर्न धेरै समस्या छ किसानहरुलाई । त्यसैले झ्याम–मनिमारे–पारेखण्डको झण्डै ८ किलोमिटर सडक विस्तार गरेर तत्काल कालोपत्रे गर्न स्थानीयले माग गर्दै आएका छन् ।

स्थानीयको आग्रहमा गत वर्ष सडक विस्तारको विस्तृत अध्ययन गरिएको छ । प्रदेश सरकारले आफ्नो कृषि स्मार्ट गाउँसम्म बाटो पुर्‍याइदिए यहाँको समृद्धिमा ठूलो टेवा पुग्ने स्थानीय किसान भिमबहादुर बताउँछन् ।

मनिमारेको ऐतिहासिकता

वस्तीको बीचमा रहेको मनिमारेको चौरसँग ऐतिहासिकता पनि जोडिएको छ । जनयुद्धकालमा ०६२ मंसिर १४ गते मनिमारेमा तत्कालीन शाही सेनाले ठूलो हवाई हमला गरेको थियो । जसमा परी तत्कालीन जनमुक्ति सेनाका डिभिजन कमाण्डर किमबहादुर थापा (सुनील) र बटालियन सहकमाण्डर झक्कुप्रकाश पुन ‘निर्मम’को ज्यान गएको थियो ।

उपराष्ट्रपतिसमेत रहेका तत्कालीन जनमुक्ति सेनाका कमाण्डर नन्दबहादुर पुन ‘पासाङ’, हालका विद्रोही नेता नेत्रविक्रम चन्द ‘विप्लव’, विप्लव समूहमै रहेका हेमन्तप्रकाश ओली ‘सुदर्शन’लगायतका नेताहरुको उपस्थितिमा पहिलो डिभिजन घोषणा भइरहेको बेला कार्यक्रम उदघोषक सुनील हवाई हमलामा मारिएका थिए । जनयुद्धको क्रममा सेनामार्फत मारिने सुनील नै उच्च पदका व्यक्ति मानिन्छन् ।

उनको जन्मस्थल भने रोल्पाको गजुल गाउँ हो । गजुललाई समेटेर उनकै नाममा सुनिल स्मृति गाउँपालिका बनेको छ । तर, उनी मारिएको स्थान मनिमारे भने गंगादेव गाउँपालिकामा पर्दछ । त्यसैले यसलाई युद्ध पर्यटनसँग पनि जोडेर विकास सकिने स्थानीय बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment