Comments Add Comment

झापाली कवि हिरा आकाशको सम्झना

उषा देवानका आँखाका डिल अझै थर्थराउँछन् । प्रत्येक यादमा टिल्पिलाउँछन् । जीवनका ३० वर्षे सहयात्री कवि हिरा आकाश (हिमकुमार पराजुली) एक वर्षसम्म थलिएर संसारबाट विदा भएको ९ बर्खान्त पूरा भएको छ ।

फूलबारी मालीविहीन भएको छ । गुलाब, डेलिया, मुसुन्डो, जिरानियम पहिलेजस्तो झरिलो लाग्दैनन् । घरको पश्चिमपट्टी फुलेका फूलमा उत्साह मरेर गएको छ । हिरा अझैसम्म उषाको मनमा गाढिएर बसेका छन् ।

हिराले देब्रे खुट्टा सुक्दै गएपछि पनि सुतेरै सुन्दर कविता लेखे । ओछ्यान नै उनको संसार भयो । आठ महिनापछि अर्थात् ०६६ फागुनबाट जेठसम्म लठ्ठीको सहारा चाहिएन हिँड्न । खुट्टाले नै अडिएर बाहिर-भित्र गरे । उषाले बडो स्याहार गरिन् । पढाउँदै गरेको माविमा कत्ति दिन गयल भइन् । ०६७ असार २४ को रात बेहोस पतिलाई नजिकै अस्पतालमा पुर्‍याइन् । स्थिति सुधि्रएन । सिलिगुढी कुदाइयो । डाक्टरले टाउकोमा रगत जमेको भन्दिए । अनेक गर्दा पनि नभएपछि घर ल्याइयो भद्रपुर भानुनगर ।

बोली फुट्दा कोसँग तोते बोले थाहा भएन । जीवनको आखिरी सम्वाद छोरी अदितिसित गरे, ‘के छ नानी तिम्रो, कइले आयौ, सन्चै छ्यौ ?’ ०६७ असार २४ गते बिहान २ बजे । अदिति सुत्केरी खान माइत आएको संयोग थियो त्यो ।

अन्ततः एकतल्ले पक्की घरको उत्तरपूर्वी कोठाको पूर्वपट्टी रहेको उत्तर-दक्षिण ओछ्यानमा कवि हिराले ०६७ साउन ६ को ९ः५५ मा उनले अन्तिम पटक सास फेरे । यसरी गए हिमकुमार पराजुली । कवि हिरा आकाश गए ५६ वर्ष धर्तीमा रहेर ।

आफ्नै बारेमा ०६७ वैशाख ४ मा उनले कविता लेखे, जो उनको अन्तिम कविता हो । पाँच वर्षदेखि कवि गोष्ठी र भेटघाटमा निष्क्रिय हिरा आकाश सधैँलाई अस्ताए पनि उनको सिर्जना अस्ताएको छैन ।

भद्रपुर माविमा पढ्दा हिरा आकाश जन्मस्थल शिवगञ्ज छोडेर आइसकेका थिए । स्कुले केटाकेटी हुँदा देउसी खेल्न खुब रहर गर्थे । बालसखा गोजर्द्धन शाक्य हिरा आकाशसँग चलेको, खेलेको, पढेको कहिल्यै बिर्सदैनन् ।

स्कुले केटो हिरा आकाश विद्यालयमै हुँदा पनि अत्यन्त सुन्दर, सफा र आकर्षक अक्षरले कविता लेख्थेे । पिता कृष्णप्रसाद पराजुलीले लेखेका कुरा सुन्थे र लेख्ने रहर अँकुराउथेे । स्कुल पढ्दै गर्दा ०२८ सालबाट हिरा आकाश कवितातिर लागे ।

उषा देवानले हिरा आकाशको कविता लेखनलाई काखे नानीलाई जत्तिकै प्यार गरिन् । अनि हिरा आकाशलाई पनि । आपसमा परिचय भएपछि एक्कासी प्रेम टुसायो । हिराले प्रस्ताव राखे । माणिक रत्नको गीत सुनाइरहन्थे रे, ‘मेरो बिटुलो विश्वास तिमीलाई चोखै ठान्छ …’ ०३७ को हिउँदमा उषाको मन पग्लियो । भागेर वीरगञ्ज गए हिरा-उषा । त्यहाँ रहेका मित्र विनोद पोखरेलको घरमा २५ दिन बसेर फर्किए भद्रपुर । टिकाटालो भयो । दाम्पत्य सूत्रमा बाँधिए ।

आखिर हिरा आकाशले ३० वर्षभन्दा बढी साथ दिन सकेनन् उषालाई । अन्यन्त कम बोल्ने स्वाभावले कहिलेकाहीँ असहज बनाउँथ्यो । तर, पनि ३० वर्षभरि दुईबीच पिरती कहिल्यै बाहिर पोखिएन ।

मेची क्याम्पसमा बीए सकेपछि हिरा आकाशको लेखन तिखारियो । कृषि विकास बैंकका सुब्बा हिरा आकाश जागिरे जीवनले गर्दा घर कम्ति बसे । उषा छोराछोरी हुर्काएर, पढाएर घरै बसिन् ।

हिरा आकाश अरुको कुरा गरेको मन पराउँदैनथे, उषाको स्मृतिमा जीवितै छ । हिरा मेहनती थिए । उनले बडो संरक्षण गरेर राखेका पुस्तकको र्‍याकले बताउँछ । आफ्ना मात्र होइन, मनपरेका कविता कापीमा सारेर सुरक्षित राखेका छन् । समकालीनहरुबारे छोटा कविता पनि लेखेका छन् ।

वैरागी काइँला, भवानी घिमिरे, अमृतलाल श्रेष्ठ, केशव आचार्य, नकुल काजी, कृष्ण धरावासी, शिवशङ्कर थापा, प्रकाश बुढाथोकी, पवन चाम्लिङ, लीला उदासी, दुर्गा दाहाल, डिकमान विरही, लक्ष्मण ढकाल शीर्षक बनाइएका छन् ।

ईश्वर बल्लभ, कृष्णभूषण वल, विष्णुविभू घिमिरे, भूपि शेरचनलगायत कविका कविता सारेर राखेका छन्, केही कवि केही परिभाषा शीर्षक दिएर । हिन्दीमा गजल, कविता लेखेका छन् ।

प्रकाशन गर्नुपर्ने कविताहरु भनेर उनले ०३७ कविता केही छानेका रहेछन् । त्यो उनको सपनामात्र भयो । आगे कसले छाप्ला, कुर्नैपर्छ Û दुई सयजति कविता अप्रकाशित छन् ।

तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले २०५५ मा छापिदिएको ‘आगोका स्वरहरु’ कवितासङ्ग्रह बाहेक उनका पुस्तक आकारमा कविता छैनन् । उनी भौतिक दुनियाँबाट जानेबेला त ‘आगोका स्वरहरु’ पनि थिएन उनीसित । आफैँले कविता सुहाउँदो स्केच गरेर टाइप गरेझैँ सजाएर राखेका रहेछन् ।

कविताले हिरा आकाशलाई स्वाभिमानी दर्शाउँछ । यी कोहीसँग कहिले झुकेनन् । क्रान्तिकारी स्वाभावका प्रगतिशील कविले जहिल्यै विद्रोही कविता कोरे । चिटिक्क भएर हिँड्नैपर्ने बानी थियो उनको । आकर्षक व्यक्तित्वजस्तै उनका कविता पनि शक्तिशाली छन् कृष्ण धरावासीको बुझाइमा ।

झापाका हस्ती थिए हिरा आकाश । ०४० सालमा सुरु भोक कविता आन्दोलन र सडक कविता आन्दोलनका कार्यकारी सशक्त अभियन्ता थिए । ०४४ को घटस्थापनामा उनको नेतृत्वमा स्थापित मन्थन झापाले थुप्रै आशलाग्दा युवा स्रष्टा जन्मायो ।

प्रगतिशील आस्था, मुक्त विचार, प्रजातन्त्रप्रति सम्मान, चेतना बोकेका हिरा आकाशका कविता ओजनदार छन् । राम्रो कथा लेख्ने, उपन्यास नलेख्ने तर कविता, गीत र गजलमै आफूलाई डुबाएर गए उनी ।

हिराका कवितामा वीरताको सम्मान पाइन्छ । नारीवादी, युगचेतना, देशप्रेम, मानवप्रेम, पीडामा रहेका मनुष्यप्रति सहानुभूति उनको कविताले बोकेका नारा हुन् । इमान्दारीको कदर, जालीको विरोध बोल्छन् हिरा आकाशका कविता ।

उनले प्रयोगात्मक कविता बढी लेखेका छन् । स्वच्छन्दतावाद, सामाजिक यथार्थवाद, प्रगतिवाद हिरा आकाशका कवितामा बग्रेल्ती भेटिन्छ । हिराका कविताले भित्रसम्म छुन्छन् । तर, फूलका सौखिन कवि हिराको नयाँ कवितासङ्ग्रह छाप्ने इच्छा पनि सपनाजस्तै ओइलायो ।

कवितामा शक्ति भएकैले सिक्किमबाट स्रष्टा पुरस्कार, झापाबाट महानन्द पुरस्कार र राजधानीबाट राष्ट्रिय कविता पुरस्कार, ललिता काव्य पुरस्कार, मोहन रेग्मी स्मृति सम्मान पाएका थिए हिरा आकाशले ।

-हिमाल खरेलबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment