
६ साउन, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आफ्नै लागतमा सातदोबाटोमा अन्तर्राष्ट्रिय मापदन्दको लन टेनिस र सफ्ट टेनिस कोर्ट निर्माण गरेको छ ।
राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेशकुमार सिलवालले सातदोबाटोमा निर्माण भएको टेनिस कोर्ट सोमबार नेपाल लन टेनिस संघ र सफ्ट टेनिस संघलाई हस्तान्तरण गरेका छन् ।
सदस्यसचिव सिलवालले सफ्ट टेनिस संघका अध्यक्ष विनयविक्रम शाहलाई साँचो प्रदान गर्दै नव–निर्मित कोर्ट हस्तान्तरण गरेका हुन् ।
यसअघि नेपालमा अन्तर्राष्ट्रिय स्तरको लन टेनिस र सफ्ट टेनिस कोर्ट थिएन । यसअघि प्ले कोर्ट मात्रै थियो । त्यसैलाई राखेपले तीन करोड ६७ लाख रुपैयाँ लागतमा ६ वटा लन र दुई वटा सफ्ट गरी ८ वटा टेनिस कोर्टलाई स्तरोन्नती गर्दै निर्माण गरेको हो ।
राखेपका इन्जिनियर प्रभात बरालले सबै खर्च राखेपले गरेको बताए । उनले भने, ‘यसअघि लन टेनिसको ६ वटा र दुई वटा सफ्ट टेनिसको प्ले कोर्ट थियो । त्यसैलाई स्तरोन्नती गर्दै अन्तर्राष्ट्रिय स्तरको हार्ड कोर्ट बनाइएको हो ।’
२०७५ सालको असारबाट थालिएको यो कोर्ट गतजेठमै सम्पन्न भएको थियो ।
१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिताको लागि नै लक्षित गरेर निर्माण गरिएको हो । यही कोर्टमा १३ औं सागका लन र सफ्ट टेनिसका खेलहरु हुनेछन् ।
प्रतिक्रिया 4