Comments Add Comment

नातिनी भेट्न आएका बिलुको मन्दिरमा हत्या

६ साउन, विराटनगर । छोरा बुहारी र नातिनी भेट्न भारतबाट नेपाल आएका एक व्यक्तिको हत्या भएको छ ।

भारतको अररिया मनिकपुरबाट सुनसरी आएका ५५ वर्षका बिलु यादवको सोमबार छोराको डेरानजिकै हत्या भएको हो । बिहान छोराको डेरा नजिकै रहेको मन्दिरमा बसेका यादवको धारिलो हतियार प्रहार गरी हत्या भएको प्रहरीको भनाइ छ ।

धार्मिक कार्यक्रममा यात्रा गरिररहने उनी चार दिनअघि छोरा बुहारी भेट्न सुनसरीको देवानगञ्ज आएका थिए । उनका छोरा बुहारी देवागञ्ज गाउँपालिका–२ मा डेरा गरी बस्छन् । भारतबाट छोरा र नातिनी भेट्न आए पनि उनका छोरा भने कामको सिलसिलामा भारत नै गएका छन् ।

डेरामा बुहारी मात्र भएका कारण उनी खाना डेरामै खाएर बास बस्न भने मन्दिरको आश्रम आउथे । सोमबार बिहान करिब ६ बजे मन्दिरको आश्रममा बसिरहेको अवस्थामा उनीमाथि धारिलो हतियार प्रहार भएको हो ।

हत्यामा संलग्नको आरोपमा प्रहरीले ५० वर्षका महानन्द मेहतालाई पक्राउ गरेको छ । मेहताका दाजुको घरमा बिलका छोरा बुहारीको डेरा छ । बिहान मन्दिर परिसरमा बसिरहेको अवस्थामा एक्कासी हतियार प्रहार भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी ज्ञानेन्द्र फुयाल प्रारम्भिक अनुसन्धानमा हत्या गर्नुको कुनै कारण नखुलेको बताउँछन् । कुनै रिसइबीका कारण हत्या गरेको हुन सक्ने बताउँदै उनले अनुसन्धान सुरु गरिएको बताए । घरबाट रिसाएर निस्किएका मेहताले यादवमाथि रिस पोखेको प्रहरी स्रोत बताउँछ । यादव र मेहताबीच चिनजान भए पनि रिसइबीको कुनै कारण नदेखिएको प्रहरी बताउँछ ।

सोमबार बिहान दबिया लिएर घरबाट निस्किएका मेहताले यादवको घाँटीमा प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको थियो । घटनालगत्तै मेहताले प्रहरीलाई पक्राउ गरेको थियो । पक्राउ परेका मेहता जिल्ला प्रहरी कार्यालय सुनसरीको हिरासतमा छन् । प्रहरीले मेहतामा मानसिक समस्या पनि हुनसक्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment