Comments Add Comment

स्मार्ट पार्किङ : ‘वान वे’ सडक कब्जा, पैदलयात्री–व्यापारीलाई सास्ती

७ साउन, काठमाडौं ।  १२ फिट चौडाइको बाटो । बाटोको बीचमा पहेलो रंगको घेरा । घेरादेखि छेउतर्फ पार्किङ क्षेत्र । सवारीसधानले एकोहोरो मात्रै हिँड्न पाउँछन् । खाली बाटोमा मुस्किलले एउटा ट्याक्सी छिर्छ ।

ट्याक्सी हिँड्दै गर्दा छेउमा मोटरसाइकल त परै जाओस् पैदल यात्रुले हिँड्ने ठाउँ पाउँदैनन् । लत्ताकपडा बोकेका भरियाहरु कष्टसाथ ओहोरदाहोर गरिरहेका भेटिन्छन् । कहिलेकाहीँ भरिया र पैदलयात्रीको भनाभन पनि चल्छ ।

यो दृष्य हो, न्युरोडको रञ्जनागल्लीको । साँझ वा बिहानको होइन, मध्याह्न १२ बजे यहाँ यस्तो कोलाहल हुन्छ ।

समस्याको जड नै पहेँलो घेरा अर्थात पार्किङ क्षेत्र हो । काठमाडौं महानगरले स्मार्ट पार्किङ भनेर वान वे बाटोको आधा भूभाग कब्जा गरेको छ । जसले सवारीधनी र पैदलयात्रु पीडित बनेका छन् ।

न्युरोडमा कुनै बेला चर्चित फिल्म हल ‘रञ्जना’ क्षेत्र यतिबेला मात्रै किनमेलको गन्तव्य बनेको छ । रञ्जना गल्लीबाट न्युरोड गेट हुँदै महाँकाल, वीर हस्पिटलतर्फ आउने बाटो निकै अस्तव्यस्त छ । सवारीसाधन मात्रै होइन, पैदलयात्रुलाई नै हम्मेहम्मे पर्छ, त्यस क्षेत्रको बाटो काट्न । कुनै सवारीसाधन आएनन् भने त ठीकै छ, एउटा ट्याक्सी मात्रै आयो भने पनि पैदल यात्री पेलिएर किनारा लाग्नु पर्छ ।

यस्तो सास्ती त्यहाँका व्यापारीलाई सामान्य नै भइसक्यो । सँधै यस्तै हो ? भन्ने प्रश्नमा स्थानीय व्यापारीहरुको उत्तर आउँछ, ‘अहिले त के हो र ? अफिस टाइममा आउनुस् न जात्रा देख्नुहुन्छ ।’

पहेँलो क्षेत्रभित्र अहिले सवारी गुड्न पाउदैनन्, पार्किङ गर्न मात्र पाउछन् । अनि त्यहीँ पार्किङ शुल्कबापत एउटा निजी कम्पनीले मोटरसाइकल चालकबाट उठाउँछ, प्रतिघण्टा २५ रुपैयाँ ।

‘यो त अति भयो, २५ रुपैयाँ भनेको थोरै हो ?’ स्थानीय व्यापारी हरिलाल महर्जन बताउँछन् । नाम मात्रैको स्मार्ट पार्किङले समस्या भएको उनको गुनासो छ ।

‘आफ्नो पसल अगाडि न आफ्नो सवारीसाधन नि:शुल्क पार्किङ गर्न पाइएको छ, न त ठाउँ खुल्ला नै छ,’ यस्तै यस्तै गुनासाहरु छन् व्यापारीका ।

महानगर भन्छ– बाध्यता हो

काठमाडौं महानगरले तामझामका साथ स्मार्ट पार्किङको उद्घाटन गर्यो । तर यो पार्किङलाई स्मार्ट भन्न सकिने आधार देखिँदैन । हिजो नि:शुल्क पार्किङ गर्न पाइने क्षेत्रमा आज एउटा कम्पनीले घण्टाकै दुई पांग्रेको २५ र चार पांग्रेको ८० रुपैयाँ असुल्छ ।

स्मार्ट पार्किङ भन्दै महंगो शुल्क असुल्ने गरिएको क्षेत्र महानगरको आफ्नो जग्गा पनि होइन । सार्वजनिक बाटोमा स्मार्ट पार्किङको नाममा शुल्क असुल्न मिल्छ र ? भन्ने प्रश्नमा महानगरका प्रवक्ता इश्वरमान डंगोल भन्छन्, ‘यो हाम्रो रहर होइन, बाध्यता हो ।’
सडकमा पार्किङ गर्नु हुँदैन भन्ने विषयलाई आफूले स्वीकार गर्ने प्रवक्ता डंगोल बताउँछन् ।

‘स्थानाभावले सडकमै पार्किङ क्षेत्र बनाउन बाध्य छौं ।’

प्रवक्ता डंगोलले पार्किङ थप व्यवस्थित बनाउदै ‘भर्टिकल पार्किङ’ र ‘अण्डरग्राउन्ड पार्किङ’ को व्यवस्था गर्ने योजना महानगरेको रहेको पनि सुनाए ।

पार्किङ शुल्कमा राहत !

महानगरपालिकाले अव्यवस्थित पार्किङको समस्या समाधानका लागि भन्दै असार पहिलो सातादेखि स्मार्ट पार्किङ सुरु गरेको थियो ।

मोबाइल एपबाटै बुकिङसमेत गर्न सक्नेगरी निश्चित संख्यामा महानगरले पार्किङको व्यवस्था गरेको थियो । अहिले हिल्स ट्रली योर्स नामक निजी कम्पनीले पार्किङको जिम्मेवारी लिएको छ ।

दुईपांग्रे सवारीको पार्किङ शुल्क प्रतिघण्टा २५ रुपैयाँ र चार पाङ्ग्रेका लागि ८० रुपैयाँ तोकिएको थियो । पार्किङ शुल्कको विषयमा चारचक्के (कार) धनीहरुले गुनासो नगरे पनि २ चक्के (मोटरसाइकल) का सवारीधनीहरुले महंगो भएको भन्दै असन्तुष्टि जनाइरहेका छन् ।

केही दिनअघि उक्त गुनासोलाई सम्बाेधन गर्न भन्दै महानगरले आर्थिक विधयेक, २०७६ को करसम्बन्धी व्यवस्था संशोधन गरेर शुल्क घटाएको बताएको थियो । प्रतिघण्टा २५ रुपैयाँबाट मोटरसाइकलको १५ रुपैयाँ बनाइएको महानगरले बताएको थियो ।

तर ३० मिनेटसम्म पार्किङ गरे १५ रुपैयाँ भए पनि त्योभन्दा बढीको २५ रुपैयाँ नै लिने गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment