News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौं महानगरपालिका र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको टोलीले राजधानीका अस्पतालका क्यान्टिनको खाद्य स्वच्छता अनुगमन गरेको छ।
 - चाबहिलस्थित ओम अस्पतालको क्यान्टिनमा लापरबाही भेटिएपछि ७ दिनका लागि बन्द गरिएको छ।
 - अनुगमन टोलीले कीट नियन्त्रण सुधार्न, लेबलयुक्त खाद्यवस्तु प्रयोग गर्न र आगलागी जोखिम न्यूनीकरण उपकरण राख्न निर्देशन दिएको छ।
 
१८ कात्तिक, काठमाडौं । काठमाडौं महानगरपालिका र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त टोलीले राजधानीका विभिन्न अस्पतालका क्यान्टिनको खाद्य स्वच्छता अनुगमन गरेको छ ।
यस क्रममा चाबहिलस्थित ओम अस्पतालको क्यान्टिनमा सरसफाइमा चरम लापरबाही भेटिएपछि ७ दिनका लागि बन्द गरिएको छ ।
हेल्दी बाइट्स सर्भिसेस प्रालिद्वारा सञ्चालित उक्त क्यान्टिन अनुगमन क्रममा खाद्य रङको अव्यवस्थित प्रयोग, म्याद गुज्रिएका उपभोग्य वस्तु, अस्वच्छ वातावरण, असन्तोषजनक कीट नियन्त्रण (पेस्ट कन्ट्रोल) व्यवस्था र लेबलविहीन खाद्यवस्तु प्रयोग लगायत गम्भीर लापरबाही भेटिएका थिए ।
अनुगमन टोलीका फुड टेक्नोलोजिस्ट अनिल बस्नेत र अशोक पराजुलीका अनुसार क्यान्टिनले व्यवसाय दर्तासमेत नगरेको पाइएकाले ७ दिनका लागि बन्द गरी स्पष्टीकरण सहित महानगरमा उपस्थित हुन निर्देशन दिइएको छ ।
अनुगमन टोलीले सञ्चालककै उपस्थितिमा म्याद गुज्रिएका ५ थान (५ सय मिलिलिटर) दूध नष्ट गरेको थियो ।
ओम अस्पताल तथा रिसर्च सेन्टर प्रालिका प्रशासनिक प्रबन्धक विपिन जङ्गमले क्यान्टिन सञ्चालक परिवर्तन भइसकेको जानकारी दिएका छन् ।
उनका अनुसार संरचना मर्मत, रङरोगन र आवश्यक सरसफाइ पूरा गरी खाद्य स्वच्छता सुनिश्चित भएपछि मात्र क्यान्टिन पुनः सञ्चालनमा ल्याइने छ ।
यसै क्रममा मेडिकेयर अस्पतालको द केयर क्यान्टिन र हेल्पिङ ह्यान्ड्स अस्पतालको क्यान्टिनमा सरसफाइको अवस्था तुलनात्मक रूपमा राम्रो पाइएको विभागले जनाएको छ । तथापि, दुवै क्यान्टिनमा कीट नियन्त्रणको व्यवस्था सन्तोषजनक नभएको उल्लेख छ ।
त्यस्तै मेडिकेयर अस्पतालको क्यान्टिनमा पनि लेबलविहीन खाद्यवस्तु प्रयोग, खुला डस्टबिन र पिउने पानीमा एमोनियाको मात्रा मापदण्ड भित्रै रहे पनि थप सुधारको आवश्यकता देखिएको थियो ।
अनुगमन टोलीले क्यान्टिन सञ्चालकलाई कीट नियन्त्रण प्रभावकारी बनाउन, पूर्णलेबल सहित प्रशोधित खाद्यवस्तु मात्र प्रयोग गर्न, अनुमति प्राप्त उद्योगबाट उत्पादित वस्तुमात्र प्रयोग गर्न, आगलागी जोखिम न्यूनीकरणका उपकरण राख्न र खाना पकाउने तथा भाँडा माझ्ने ठाउँ अलग–अलग राख्न निर्देशन दिएको छ ।
त्यसैगरी हेल्पिङ ह्यान्ड्स अस्पतालको क्यान्टिनमा व्यक्तिगत सरसफाइ सन्तोषजनक देखिए तापनि खाद्य रङको उचित प्रयोग, अनुज्ञापत्र प्राप्त खाद्य पदार्थमात्र बिक्री र आगलागी जोखिम न्यूनीकरणका उपकरण थप बलियो बनाउन सुझाव दिइएको छ ।
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4