Comments Add Comment

गुल्मीको पहिरो : शाहाघाट र रुद्रवेणीमै रोकिए राहतका गाडी

६ सय परिवारलाई सुरक्षित स्थानमा सारियो

८ साउन, तम्घास । पहिरोका कारण गुल्मीको सत्यवती गाउँपालिकाको ठूलोलुम्पेक र लिम्घा सडक सम्पर्कबाट पूर्णरुपमा बिच्छेद हुँदा उद्धार र राहत वितरणमा कठिनाइ भएको छ ।

ठूलोलुम्पेक र लिम्घा जाने सबै सडक अवरुद्ध छन् । राहत बोकेका गाडीहरु शाहाघाट र रुद्रवेणीमै रोकिएका छन् । करिब ६ सय परिवारलाई सुरक्षित स्थानमा सारिए पनि खानेकुरा पुर्‍याउन नसक्दा बिचल्ली भएको छ ।

प्रभावित क्षेत्रका बाटाहरु बन्द हुनुका साथै २ दर्जन बढी सानातिना पहिरो खसेको सत्यवती गाउँपालिका अध्यक्ष पारिश्वर ढकालले बताए ।

मंगलबार राति करिब ३ बजेको समयमा अविरल वर्षासँगै पहिरो खस्दा ११ जनाको मृत्यु भएको छ भने २ जना घाइते छन् । प्रभावित क्षेत्रमा ३ सय बढी पशु चौपायाहरु मरेको अनुमान छ ।

नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली उद्धारमा खटिएका छन् । उनीहरुसँगै रेडक्रस, जिल्ला समन्वय समिति, राजनीतिक दलका नेता-कार्यकर्ता पनि परिचालित छन् । उद्धारमा खटाइएका सुरक्षाकर्मी, सरकारी तथा गैरसरकारी संघसंस्था र पत्रकारहरु सदरमुकाम तम्घासबाट साढे दुई घण्टा पैदल हिँडेर घटनास्थल पुगेका थिए ।

६ सय परिवारलाई सुरक्षित स्थानमा सारियो

पहिरोले ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएपछि ठूलो लुम्पेक र लिम्घाका करिब ६ सय परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । सिङ्गदी गाउँ पनि पहिरोको उच्च जोखिममा छ ।

४ सय जनालाई स्थानीय धर्मपुर मावि तथा अस्लेवाका विभिन्न स्थानमा राखिएको छ । यसैगरी लिम्घाका २ सय घर परिवारलाई सरस्वती माविमा राखिएको छ ।

लिम्घाका वडा अध्यक्ष दानबहादुर रानाका अनुसार पहिरो गएको गाउँका र अन्य जोखिमयुक्त गाउँका परिवार पानी परेपछि राति नै घर छोडर आएका छन् ।

हेलिकोप्टरमार्फत् राहत पुर्‍याउने योजना

पहिरो प्रभावित क्षेत्रमा सडक अवरुद्ध भएपछि उद्धार तथा राहतमा हेलिकोप्टर परिचालन गर्ने योजना बनाइएको गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए । जोखिममा परेका परिवारलाई सुरक्षित स्थानमा सारिए पनि खानपानको समस्या आउन नदिन आफूहरु सचेत भएर लागिपरेको उनले बताए ।

वर्षा नरोकिएको कारण वेपत्ताको खोजी कार्य अगाडि बढाउन नसकिएको जिल्ला प्रहरी प्रमुख दीपक बस्नेतले बताए । लिम्घाका ७ वर्षीय तारा विक र डेढ वर्षीय सुमन विक तथा ठूलोलुम्पेकका माया विक र बबी विक पहिरोमा हराइरहेका छन् ।

सशस्त्र प्रहरी प्रमुख दिनेश रायमाझीले रातभर ठूलो पानी परेकाले उद्धारमा समस्या परेको बताए ।

परराष्ट्रमन्त्री ज्ञवाली प्रभावित क्षेत्रमा

यसैबीच पहिरोले क्षति पुर्‍याएको जानकारी पाएपछि परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली मंगलबार नै गृहजिल्ला गुल्मी आएका छन् । हेलिकप्टर चढेर आएका उनले प्रभावित क्षेत्रको स्थलगत अनुगमन र पीडित परिवारसँग भेटघाट गरेका छन् ।

उनले प्रमुख जिल्ला अधिकारी, सुरक्षा प्रमुख र जनप्रतिनिधिहरुसँग भेटघाट गरी पीडितको उद्धार तथा राहत वितरणलाई तीव्रता दिन निर्देशन दिएका छन् ।

तत्कालका लागि केही राहत सामाग्री वितरण गर्न सत्यवती गाउँपालिका उपप्रमुखलाई हस्तान्तरण पनि गरिएको परराष्ट्रमन्त्रीका प्रेस सल्लाहकार सुदन ज्ञवालीले बताए ।

यसैबीच पहिरोले पुर्‍याएको क्षतिप्रति गुल्मी क्षेत्र नम्बर २ का सांसद एवं श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट र प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले दुःख व्यक्त गरेका छन् ।

– अनिल खत्रीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment