Comments Add Comment

गोरखामा क्याम्पसको जग्गा मिचेर प्लटिङ

वडाले निर्माण गरेको ‘रिटर्निङ वाल’ पनि भत्काइयो

८ साउन, गोरखा । सार्वजनिक जग्गा मिचेर गोरखा नगरपालिका–५ हिलेपोखरीमा जग्गा प्लटिङ गरिएको छ । आफ्नो करिब आठ आना जग्गा मिचिएको भन्दै गोरखा क्याम्पसले आपत्ति जनाएको छ ।

जिल्लाका केही व्यक्तिहरु मिलेर सो क्षेत्रको करिव ११ रोपनी जग्गामा प्लटिङको काम गरिरहेका छन् । तर प्लटिङको नाममा उनीहरुले जवजस्ती क्याम्पसको जग्गा मिचेपछि विवाद भएको छ ।

‘हाम्रो जग्गा मिचेर काम गरिरहेका छन् तर हामीसँग केही सरसल्लाह पनि गरेका छैनन, न जानकारी गराएका छन्,’ क्याम्पस प्रमुख विकासकुमार श्रेष्ठले भने, ‘त्रिभुवन विश्वविद्यालयको सम्पत्तिमा बलमिच्याइ गर्न कहाँ पाइन्छ !’ मिचिएको जग्गा फिर्ता गर्नुपर्ने क्याम्पसको माग छ ।

प्लटिङ गर्नेले जग्गा मिचेका मात्र छैनन्, सडक स्तरोन्नतीको क्रममा निर्माण भएका नाला र रिर्टनिङ वाल पनि भत्काएका छन् । गोरखा नगरपालिका वडा नम्वर ५ र ७ को सिमानामा लगाइएको रिर्टनिङ वाल र नाला भत्काएर क्याम्पसको जग्गा मिच्दै उनीहरुले सडक खनेका हुन् ।

वडा नम्बर ७ को ३० लाख र गण्डकी प्रदेशको ६० लाख बजेटले नयाँ बजारको हिमचुली बचत तथा ऋण सहकारी संस्थादेखि गोरखा क्याम्पस हुदै मधुपानीसम्मको सडक स्तरोन्नतीको क्रममा सो क्षेत्रमा पर्खाल लगाइएको थियो ।

विना जानकारी पर्खाल भत्काएपछि ७ नम्बर वठा कार्यालयले काम रोकिदिएको छ । ‘त्यहा नजिकै खोला थियो, त्यही खोलाको पानी बग्न र पहिरो जान नदिन नाला र पर्खाल बनाएका थियौ, तर हामीलाई थाहा नै नदिइ भत्काएर बाटो खनेछन्,’ वडाअध्यक्ष विष्णुप्रसाद श्रेष्ठले भने ।

पर्खाल र नाला भत्किदा करिव एक लाख रुपैयाँ बराबरको क्षति भएको वडा कार्यालयले जनाएको छ । ‘हामीले अहिले काम रोकिदिएका छौं, क्षतिपूर्ति तिर्नुपर्छ, वडामा सम्पर्क राख्न भनेका छौं’ उनले भने ।

वडा कार्यालयसँग अनुमति लिएर पर्खाल भत्काएको प्लटिङ गर्नेहरुको भनाइ छ । ‘५ नम्वको वडा कार्यालयमा निवदेन दिएर अनुमति लिएपछि पर्खाल भत्काएर प्लटिङको जग्गालाई सम्याउने बाटो मात्र लगेका हौं,’ प्लटिङ गर्नेमध्येका एक राजेन्द्र श्रेष्ठले भने, ‘वडा नम्वर ७ ले काम गरेको रहेछ त्यो चाहिँ हामीलाई थाहा भएन ।’

पर्खाल भत्काए पनि क्याम्पसको जग्गा नमिचिएको उनको दावी छ । ‘क्याम्पसको जग्गा मिचेका छैनौं, अमिन ल्याएर नाप गरेर जग्गा मिचेको भए फिर्ता गर्छाै,’ श्रेष्ठले भने ।

निर्माण भएको पर्खाल र नाला भत्काएको भन्दै स्थानीयले पनि विरोध गरेका छन् । ‘लगाइसकेको पर्खाल भत्काउन हुदैनथ्यो, अब सबै पानी सडकमा आउँछ, अनि सडक बिगार्छ,’ स्थानीय नारायणबाबु श्रेष्ठले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment