Comments Add Comment

मनसुनपछिको बाढी–पहिरोले लियो १११ को ज्यान, ४० बेपत्ता

१० साउन, काठमाडौं । मनसुनपछिको विपदका कारण मुलुकभर १११ जनाले ज्यान गुमाएका छन् ।

गृहमन्त्रालयको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रले बिहीबार सार्वजनिक गरेको विवरणअनुसार विपदमा परेर ४० जना बेपत्ता भएका छन् भने ६७ घाइते भएका छन् ।

मृत्यु हुनेमा सबैभन्दा बढी गुल्मीमा १३ जना रहेका छन् । यस्तै बाढीबाट रौतहटमा १० जनाले ज्यान गुमाएको केन्द्रका प्रमुख वेदनिधि खनालले जानकारी दिए । उनका अनुसार अहिलेसम्म सबैभन्दा बढी बाढीबाट ५८ जनाले ज्यान गुमाएका छन् । पहिरोबाट ४५ र भारी वर्षाका कारण आठ जनाले ज्यान गुमाएका हुन् ।

बाढीबाट १२८ घटना भयो भने पहिरोका २०८ घटना भएको केन्द्रले जनाएको छ ।

बाढीबाट ३१ जना तथा पहिरोमा परेर नौ जना बेपत्ता भएका छन् ।

अहिलेसम्म बाढीबाट रु एक अर्बभन्दा बढीको क्षति भएको छ । यस्तै पहिरोबाट रु दुई करोडभन्दा बढीको क्षति भएको छ । बाढी, पहिरो र डुवानबाट ६४ जिल्ला प्रभावित भएको छ । सबैभन्दा बढी गुल्मीमा पहिरोका कारण १३ र रौतहटमा बाढी र डुबानका कारण १० जनाले ज्यान गुमाएका छन् ।

सिराहामा सात र ललितपुरमा छ जनाले ज्यान गुमाएका छन् । सिन्धुली, धनुषा, मकवानपुर र भोजपुरमा पाँच–पाँच तथा महोत्तरी, मोरङ, ओखलढुङ्गा, लमजुङ र डोल्पामा चार–चार जनाले ज्यान गुमाएका छन् । बाढीपहिरोमा परेर काठमाडौँ, पर्सा, खोटाङ, झापा, काभ्रेपलाञ्चोकमा तीन–तीन, सुनसरी, धादिङ, दाङ र बारामा दुई–दुई जनाको ज्यान गएको छ । उदयपुर, पाँचथर, सङ्खुवासभा, इलाम, सर्लाही, रामेछाप, सिन्धुपाल्चोक, पश्चिम नवलपरासी, बाग्लुङ, पाल्पा, कपिलवस्तु र रोल्पामा एक–एक जनाको मृत्यु भएको केन्द्रले जनाएको छ ।

बाढीपहिरोमा परेर ४० जना बेपत्ता छन् । डोल्पामा सात र लमजुङमा छ जना अझै बेपत्ता छन् । सिन्धुलीमा चार, इलाम र मोरङमा तीन–तीन, नुवाकोट, उदयपुर, महोत्तरी र सिन्धुपाल्चोकमा दुई(दुई जना बेपत्ता छन् । झापा, सुनसरी, काठमाडौं, धादिङ, रौतहट, पर्सा, तनहुँ, दाङ र कञ्जनपुरमा एक–एक जना वेपत्ता भएको गृहमन्त्रालयले जनाएको छ ।

बाढी र पहिरोमा परेर ६७ जना घाइते भएका छन् । पहिरोमा परी ३१ र बाढीमा परेर १९ जना घाइते भएका छन् । भारी वर्षाका कारण १७ जना घाइते भएका छन् । प्राप्त जानकारीअनुसार मकवानपुर र लमजुङमा आठ–आठ तथा काठमाडौँ, सिराहा र रौतहटमा पाँच–पाँच जना घाइते भए । मोरङ, सुनसरी, खोटाङ, सर्लाही, रामेछाप, भक्तपुर, धादिङ, पर्सा, स्याङ्जा, पाल्पा, सुर्खेत र जाजरकोटमा एक–एक जना घाइते भएका छन् । झापा, भोजपुर, महोत्तरी, सिन्धुपाल्चोक, काभ्रे र गुल्मीमा दुई–दुई जना तथा धनकुटा, उदयपुर, सिन्धुली र दोलखामा तीन–तीन जना घाइते भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment