Comments Add Comment

विभाग टुंग्याउन नेकपा बैठक बस्दै, तीन आयोग र सल्लाहकारका अध्यक्ष टुंगिए

१२ साउन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरुको कार्य विभाजन टुंगो लगाउन केन्द्रीय सचिवालय बैठक आज अपराह्न बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा ३२ वटा केन्द्रीय विभागसहित जनसंगठनका इञ्चार्जहरुको बारेमा छलफल गर्ने बताइएको छ ।

अहिले सर्वाधिक चर्चा र विवादमा रहेको स्कुल विभागसहित सबै विभागको प्रमुखका बारेमा बैठकमै छलफल गर्ने सहमति भएको एक नेताले बताए । स्कुल विभागमा ईश्वर पोखरेल र नारायणकाजी श्रेष्ठको दाबी परेपछि नेकपाले जिल्ला इञ्चार्ज टुंगो लगाए पनि विभाग प्रमुखहरु टुंग्याउन सकेको छैन ।

स्कुल विभागको विवाद भने इगोका रुपमा बढेको र व्यक्तिगत तहमा आरोप प्रत्यारोप भएको भन्दै अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डले शनिबार पनि बीचको बाटो खोज्न छलफल गरेका थिए । विवाद बढिरहे तत्काल सो विभागको प्रमुख कसैलाई नबनाइ अध्यक्षहरुले नै राख्ने सम्भावना रहेको स्रोतले जनाएको छ ।

अध्यक्ष र महासचिवले कुनै विभाग नलिने समझदारी रहे पनि स्कुल विभागलाई विवादित बनाइएपछि यो विकल्पमा छलफल भएको हो । यद्यपि, आज बस्ने सचिवालय बैठकमा अन्य विकल्पमा समेत छलफल हुने एक नेताले बताए । सचिवालयकै सदस्यमध्ये झलनाथ खनालले सो विभाग आफूलाई दिए स्वीकार गर्ने बताइसकेका छन् ।

नेकपाले राजधानी विशेष प्रदेश कमिटी गठनका बारेमा पनि गृहकार्य गरेको छ । राजधानी काठमाडौंमा रहेका मजदुर,युवा विद्यार्थी, पेशागत जिल्ला कमिटीहरूलाई नेतृत्व गर्ने गरी विशेष प्रदेश कमिटी गठन हुने भएको छ । यसको नेतृत्व कसले गर्ने भन्ने टुंगो लागेको छैन ।

आयोग र परिषदमा को–को ?

यसैबीच, अनुशासन आयोग, लेखा परीक्षण आयोग, निर्वाचन आयोग, केन्द्रीय सल्लाहकार परिषद् र जेष्ठ कम्युनिस्ट मञ्चको पनि सम्भवतः सचिवालय बैठकले आजै घोषणा गर्नेछ ।

तीनवटा आयोगमध्ये दुई अध्यक्ष पूर्वएमाले र एउटा पूर्वमाओवादीले पाउने समझदारी भएको छ । यी आयोगका अध्यक्ष पार्टीको पदेन स्थायी कमिटी सदस्य हुन्छन् । अनुशासन आयोगमा अमृत बोहोरा र लेखा परीक्षण आयोगमा डा.पुष्प कँडेल प्रस्तावित छन् भने निर्वाचन आयोगको अध्यक्षमा अमिक शेरचनको नाम प्रस्ताव गरिएको छ ।

त्यस्तै, सल्लाहकार परिषदको अध्यक्षमा केशव बडाल र जेष्ठ कम्युनिस्ट मञ्चको अध्यक्षमा नन्दकुमार प्रसाई प्रस्तावित छन् । बडाल पूर्व एमाले हुन् भने प्रसाई पूर्व माओवादी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment