Comments Add Comment

‘पुलिस बन्छु भन्थ्यो, पुलिसकै गोलीले मर्‍यो’

निर्मलालाई न्याय माग्ने आन्दोलनका सहीद सनी खुनाको कथा

१३ साउन, कञ्चनपुर । बेलुकीको त्यस्तै पाँच बजेको थियो । मञ्जु खुना घरमा तरकारी काट्दै थिइन् ।

दुई कोठा, खरमा माटोले लिपेर तयार पारेको पर्खाल । त्यसैमा अडाइएको टालीको छाना । मञ्जुको घरले ओगटेको यो चार धुर जमिन मुक्त कमैयाको देन हो ।

मञ्जुका श्रीमान वीरबहादुर पाँच वर्ष कमैया बसे । उनका पूर्खाले पुस्तौं साहुको घरमा कमैयाँ बसेर जीवन गुजारे, जसको क्षतिपूर्तिमा सरकारले दिएको यत्ति जमिन हो ।

यो माटोको होचो घरमा पंखा हुने कुरै भएन । त्यसैले साउन मासको गर्मीले हपक्क थियो घर । असिन-पसिन मञ्जु भात बसाल्दै थिइन् । उसो त मञ्जुको आधा जीवन खाना पकाउँदैमा बितेको थियो ।

बिहान घरमा खाना पकाउँथिन् । दिनभर मन्टेश्वरीमा खाना-खाजा पकाएर खुवाउँथिन् । यो उनको जागिर हो । बेलुकी फेरि घर फर्केर उनले नै भात-तरकारी बसाल्नुपथ्र्यो ।

नगरपालिकाबाट फुस्रै भएर केहीछिन अघि श्रीमान घर फर्किएका थिए । उनी नगरपालिका सफा गर्ने कुचिकार हुन् । १९ वर्षदेखि त्यसरी नै उनी भीमदत्त नगरपालिकाको फोहोरसँग खेलेर छाक जुटाइरहेका छन् ।

यी वीरबहादुरलाई मञ्जुले खाना खुवाउनुपर्छ । दुई छोरा छन्, सनी खुना (१४) र एलुन (५) । उनलाई पनि खाना खुवाएर सुताउनु छ ।

****

सन्नी खुना

जेठो छोरा सनी दिनभर घरमै थिए । तर, अपरान्ह बाहिर निस्किए । टायल र मार्वलको काम गर्दै आएका सनीलाई ठेकेदारले पसिनाको मुल्य चुक्ता गरेको थिएन । त्यसैले सनी ठेकेदारको दैलोतर्फ लागेका थिए ।

सनी मञ्जुको गर्भमा बसेका छोरा भने होइनन् । उनकी आमा त मायादेवी हुन् । तर, उनले वाह्र वर्षअघि घाँटीमा पासो लगाइन् । डेढ वर्षका सनीले गतिलोसँग आमाको दूध चुस्न पनि पाएनन् । आफ्नी आमाको अनुहारसम्म याद थिएन सनीलाई ।

काखे वालकसँग एक्लो जीवन चलाउन बीरवहादुरलाई त्यति सजिलो थिएन । त्यसैले नौ वर्षअघि मञ्जुलाई सनीकी कान्छी आमा बनाएर घर भित्र्याए ।

पाँच वर्षसम्म आमाको माया अनुभूत नै गर्न नपाएका सनीले छ वर्षपछि मञ्जुको काखमा पाए । मञ्जु भन्छिन्, ‘जे काम पनि गथ्र्यो । आमा, सकेजति काम गर्छु भन्थ्यो । सोझो थियो । पछि गएर कि पुलिस, कि आर्मी बन्छु भन्थ्यो ।’

परिवारको आयले परिवार राम्रोसँग धान्दैनथ्यो । त्यसैले सनी पढाइसँगै जिविकोपार्जनमा लागेका थिए । टायलको काम सिकेका थिए । आफ्नो पसिनाको पैसा सनीले आमालाई बुझाउँथे, मञ्जुले कपडा किनिदिन्थिन्, अड्कलेर छोरालाई दिन्थिन् ।

त्यो दिन पनि सनीले मञ्जुलाई भनेका थिए, ‘आमा म पैसा ल्याएर तपाईलाई दिन्छु है ।’

तर, सनीले पैसा नल्याउँदै, सनीका साथी दौडेर मञ्जुको घर आइपुगे । र, हतास्सिँदै भने, ‘सनीलाई गोली लाग्यो… ।’

मञ्जुका खुट्टा थरर भए । मुटु लगलग काँप्यो । अघि-पछि केही देखिनन् । हवास उड्यो । यस्तो कुरा कसरी विश्वास लाग्नु ? बेहोसीमै उडेर अस्पताल पुगिन् । ४५ मिनेट कसरी दौडिइन्, त्यो अहिले उनको दिमागमा छैन ।

अस्पतालमा थामी नसक्नुको भीड थियो । भीडले भनिरहेको थियो, ‘सनी खुना होइन, चेतन मर्‍यो ।’ मञ्जुले सुस्केरा हालिन्, ‘हे भगवान केही नभइदेओस् ।’

यो पनि पढ्नुहोस पर लैजाऊ फूलहरु, छोपिदेऊ तारा जून !

मञ्जुलाई अस्पतालभित्र छिरेर आफ्नै आँखालाई विश्वास दिलाउनु थियो कि हो, सनीलाई गोली लागेको छैन । तर, उनी अस्पतालभित्र पस्नै पाइनन् । बरु, आँशु पुछ्दै सनीलाई दिमागमा राखेर विवश हुँदै घरतर्फ लागिन् ।

****

१३ वर्षकी निर्मला पन्तको घर पनि मञ्जुको घर नजिकै हो । ती आवोध वालिका १० साउन ०७५ मा राक्षसको पञ्जामा परिन् । राक्षसले पहिले बलत्कार गर्‍यो, त्यसपछि विभत्स हत्या गरी उखुबारीमा मिल्काइदियो ।

त्यसैले, निर्मलाको न्यायको निम्ति आन्दोलनले महेन्द्रनगर तात्दै थियो । आन्दोलनको राप झन्झन् चर्किँदो थियो । निर्मलाको न्यायको तातोले काठमाडौंसमेत हपक्क बनेको थियो ।

भदौको ८ को त्यो दिन पनि प्रदर्शनकारीहरु उसरी नै महेन्द्रनगरमा प्रदर्शन गरिरहेका थिए । प्रदर्शनकारी जिल्ला प्रशासन कार्यालयतर्फ लम्कँदै थिए । आन्दोलनलाई दबाउन प्रहरीले अँश्रुयग्यास मात्र फ्याँकेन, बन्दुक नै तेर्स्यायो । ड्याङ, ड्याङ… ।

प्रदर्शनकारी भागाभाग भए । त्यही भीडबाट आवाज आइरहेको थियो, ‘ऐया्… मरे नि… ।’

****

साँझ परिसकेको थियो । अस्पतालको खबरले मञ्जुको परिवारलाई केही शीतल बनाएको थियो । सनीको पर्खाईमा थियो परिवार । मञ्जुले तयार पारेको खानाले पनि सनीलाई नै कुरेर बसिरहेको थियो ।

त्यहीबीचमा भाञ्जाले मोवाइलमा एउटा फोटो देखाए । त्यो फोटो नै काफी थियो कि फेरि पनि मञ्जु र वीरबहादुरको होस् उडाउन । फोटोले उनीहरुलाई स्पष्ट बनायो कि गोली लागेका बालक चेतन नभएर सनी नै हुन् ।


एक वर्षपछि नगरपालिकाको कार्यालयमा भेटिएकी मञ्जुले रुँदै अनलाइनखबरसँग भनिन्, ‘लाउँलाउँ खाउँखाउँ भन्ने मेरो छोरा त्यस्तो भएपछि कसका आमा-बाबा सम्हालिन सक्छन् र !’

त्यतिबेला मञ्जु र वीरवहादुर यस्तो विवशताबाट गुजि्ररहेका थिए कि मानिसहरु सनी मर्‍यो भन्थे । तर, सनीलाई उनीहरुले न देख्न सकेका थिए, न छुन ।

वीरवहादुरका आँखा रातो बन्दै जान्छन् । त्यो दिन सम्झँदै उनी भन्छन् ‘भर्खरै उडेर छोरालाई अंगालो मार्न जाऔँ जस्तो लाग्थ्यो । तर, बाहिर कफ्र्यू थियो ।

यो पनि पढ्नुहोस झुक्किएर निर्मलालाई भात पस्कन्छु !

त्यसबेला उनीहरुको पुकार सुनिदिने कुनै भगवान थिएनन् त्यहाँ । सनीलाई अंगालो मार्नकै लागि दुई दिन पर्खनुपर्‍यो । १० भदौमा सनीलाई महाकालीको बगरमा छोडेर उनको झल्को मात्रै बोकेर आमा-बुबा घर फर्किए ।

सनीको कर्मकाण्ड एकदिनमै सक्काइयो । अर्को दिन उसैगरी शहर सफा गर्न पुगे वीरबहादुर ।

‘उहाँको काम नगरपालिका सरसफाइ हो, विदा मिल्दैन’, मञ्जु भन्छिन्, ‘हामीलाई शोक मान्ने समय पनि कहाँ हुन्छ र ! एक दिन बस्यो भने भान्सा चल्दैन ।’

सडकमा पुगेर वीरबहादुरले घरि सडक सफा गर्थे, घर त्यही फोहोर हातले आँशु पुछ्थे । उनको अनुहार र मनमा लागेको कालो बादल अहिले पनि उस्तै छ । उसरी नै मडारिरहन्छ ।

****

सनी बितेको केही महिनापछि मञ्जुले नगरपालिकामा जागिर पाइन् । अब मञ्जु नगरपालिकाको ज्यालादारी कार्यालय सहयोगी बनेकी छिन् । छोरालाई लागेको गोलीवापत सरकारले परिवारलाई राहत दियो – रु १८ लाख ।

त्यो रकमले मञ्जुको चार कोठे पक्की घर उठेको छ । मञ्जु झन् झन् सनीको सम्झनामा विह्ल हुँदै जान्छिन्, ‘सनी भनेकै यही घर हो ।’

सनी जहाँ ढले, त्यही ठाउँमा शालिक बनाउने प्रदेश ७ सरकारले उतिबेलै घोषणा गरेको थियो । तर, अहिलेसम्म त्यसको सुरसार छैन । वीरवहादुरको रोकिएको बोली फ्याट्ट निस्कन्छ, ‘बनेको भए मेरो छोरा अझै छ भनी बेला-बेला गएर हेर्ने थिएँ ।’

सनी त यो संसारमा रहनेनन् । तर, मञ्जुको एउटा ठूलो धोकोले मन सधैं भत्भत पोल्छ । मञ्जु सँुक्क सँुक्क गर्छिन्, ‘अन्तिम समय एक वचन बोल्न पाए पनि हुन्थ्यो । पानी खुवाउन पनि पाइनँ । विचरा…।’

मञ्जु घुँक्क घुँक्क गरिरहन्छिन् …। सनी खुना अब कहिल्यै र्फकनेवाला छैनन् । न निर्मलाले नै न्याय पाएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment