Comments Add Comment

‘हामीले नराम्रो क्रिकेट खेल्यौं, अरुलाई दोष दिन मिल्दैन’

१४ साउन, काठमाडौं । सिंगापुरमा टी–२० विश्वकपको एसिया छनोट खेलेर नेपाली टोली सोमबार राति स्वेदश फर्कियो । निकै खराब प्रदर्शन गरेको कारण नेपाली टोलीको आलोचना पनि भएको छ, कप्तान पारस खड्काले पनि आफूहरुले यो हप्ता खराब क्रिकेट खेलेको स्वीकार गरे ।
प्रस्तुत छ, खड्कासँग विमानस्थलमा सञ्चारकर्मीहरुले गरेको कुराकानीः

विजेता बन्ने लक्ष्य बोकेर गएको नेपाल तेस्रो भयो । हामी कहाँ चुक्यौं ?

पहिलो नभएपछि दोस्रो वा तेस्रो जे भएपनि हाम्रा लागि उपलब्धी थिएन । किनभने हाम्रो लक्ष्य विश्वकपसम्म पुग्न ग्लोबल क्वालिफयरसम्म पुग्ने थियो । दुर्भाग्यबास, राम्रो क्रिकेट खेलेनौं । अरुलाई दोष दिने ठाउँ छैन, हामी खेलाडीहरुलाई नै जिम्मेवार छौं । यो प्रतियोगितामा राम्रो क्रिकेट खेल्न सकेनौं ।

व्याटिङमा त झन समस्या देखियो । मध्यक्रम त कुनै पनि खेलमा चलेन नि ?

यो खेल नै यस्तो हो । पहिला पनि रन बनेन, यो भएन भन्ने हुन्थ्यो तर, हामीले व्याटिङमा मात्र होइन कि बलिङमा पनि सुधार गर्नुपर्ने ठाउँ थियो ।

जे होस्, यो प्रतियोगितामा हाम्रा जति पनि प्लान थियो, त्यसले काम गरेन ।

विपक्षीले पनि राम्रो क्रिकेट खेले । सिंगापुर, कतार, मलेसिया हामीभन्दा कम र्‍यांकका र विगतमा नेपालले हराइरहेका टिमहरु थिए । तर यो पटक उनीहरुले राम्रो क्रिकेट खेले । हामीले चाहिँ हाम्रो क्षमताअनुसार खेल्न सकेनौं ।

व्याटिङ, बलिङ र फिल्डिङ तीनै पक्षमा नेपाल चुक्नुको कारण के हो ?

मेरो विचारमा दबाव हुनसक्छ । विश्वकप छनोटमा पुग्नै पर्ने दबाव थियो ।

तर विगतमा पनि धेरै पटक जित्नै पर्ने खेलहरु खेलेर जसोतसो गर्दै यहाँसम्म आएका हौं । अबका दिन राम्रो गर्नुको विकल्प छैन । विश्वकप गुमाउनुमा सबैभन्दा दुःख हामी खेलाडीलाई पनि छ । तर एक दिवसीय मान्यता छ । ५० ओभरको विश्वकपका लागि पनि अहिलेदेखि नै सोचेर अगाडि बढ्नुुपर्छ ।

मैदान भित्र र बाहिरका सबै समस्या समाधान गर्ने हो भने यो नराम्रो टिम होइन । एउटा प्रतियोगिता नराम्रो खेल्यौं भन्दामा खराब टिम होइन । आश गरौं, आगामी दिनमा राम्रो हुन्छ ।

टिममा समस्या हो कि खेलाडीमा ?

एउटा टिमका रुपमा हामीले राम्रो खेल्न सकेनौं । मलाई लाग्दैन कि यसले गर्दा हार्‍यो भनेर कुनै व्यक्तिलाई भन्न मिल्छ । एउटा टिमका रुपमा हाम्रो संयुक्त प्रयास थियो, त्यो यो हप्ता भएन ।

ब्याटिङमा त पहिला पनि अलिअलि प्रश्न उठ्ने गरेको थियो तर, सिंगापुरले नेपाली बलरहरुलाई १९२ रन हान्नु भनेको त …

कन्डिसन हो । त्यो दिन हामीले त्यो खेल एडप्ट गर्न सकेनौं । यो नराम्रो टिम पनि होइन, कोही पनि नराम्रो खेलाडी पनि होइन ।

उनीहरुको क्रिकेट स्तर माथि उठेको हो कि हामीले नराम्रो खेलेको ?

पक्कै पनि उनीहरुको स्तर पनि माथि उठेको छ । २-४ जना राम्रा खेलाडीहरु आएका थिए, जसले टिममा फरक पारे । त्यो भए भन्दैमा हामी तल खसेको पनि होइन । यहि प्रतियोगिता अर्को हप्ता हुने हो भने अर्कै परिणाम आउँछ होला । तर जुन दिन चाहिने हो, त्यो गर्न गर्न सकेनौं ।
आश गरौं, आगामी दिनमा यस्तो नहोस् ।

नयाँ प्रशिक्षक आउनु भएको थियो, उहाँको प्रशिक्षण शैलीलाई खेलाडीहरुले लिन नसकेको हो कि ?

होइन होइन । हारेपछि धेरै कुरा आउँछ । प्रशिक्षण शैली नयाँ थियो तर हामीले आफूलाई भाग्यमानी मान्नुपर्छ कि जति पनि विदेशी प्रशिक्षक पाएका छौं, राम्रो पाएका छौं । मुख्य प्रशिक्षक आएको एक महिना मात्र भएको छ । नराम्रो खेल्नुमा) हामी खेलाडीहरु जिम्मेवार छौं । उहाँलाई दोष दिन मिल्दैन ।

सिंगापुरसँग हारेपछि प्रशिक्षकले हामी विश्वकप छनोटका लागि तयार रहेनौं, अहिले नै हार्‍यौं, राम्रै भयो भन्नु भएको थियो । विश्वकप खेलिसकेको टिमलाई किन यस्तो भन्नुभयो होला ?

हामीले यो हप्ता जुन खालको क्रिकेट खेल्यौं, त्यस्तै हो भने साँच्चै हामी विश्वकप ग्लोबल छनोटका लागि योप्य छैनौं । यस्तो क्रिकेट खेलेर विश्वकपमा छनोट हुन असम्भव जस्तै हो । शायद उहाँको संकेत आगामी दिनमा ग्लोबल छनोट र विश्वकपसम्म पुग्ने हो भने हाम्रो आफ्नो स्तर बढाउनुपर्छ भन्नु भएको होला । हामी खेलाडीहरु पनि महसुस गरेका छौं । आशा गरौं, आगामी दिनमा राम्रो नजिता ल्याएर नेपाली क्रिकेटलाई अझ माथि पुर्‍याउँछौं ।

कप्तान र सिंगापुरसँग हार्‍यौं, नेपालको क्रिकेटलाई नयाँ स्तरमा मापन गर्नु पर्ने भएको हो ?

मैले भनेँ नि एउटा प्रतियोगिताबाट नेपाली क्रिकेट कहाँ पुग्यो भनेर अनुमान लगाउन गाह्रै हुन्छ । किनभने पछिल्लो पटक डिभिजन टू वा एकदिवसीय मान्यता पाउँदा कसरी जितेका थियौं भने हामीलाई थाहा छ । अन्तिम अन्तिम बलमा … शायद एउटा पनि खेल तलमाथि भएको भए नेपाली क्रिकेटको भविश्य नै अर्कै हुन्थ्यो होला । तर जसोतसो खेलाडीहरुको मेहनत र प्रशिक्षकहरुको सोचले गर्दा यहाँम्म आएका छौं । त्यसैले एउटा प्रतियोगिताबाट नेपाली क्रिकेट माथि वा तल पुग्यो भन्नुभन्दा पनि समग्रमा नेपाल क्रिकेट कहाँ छ भन्ने हामी सबैलाई थाहा छ ।

यो प्रतियोगितामा जति नराम्रो क्रिकेट खेल्यौं, त्यसमा हामी खेलाडीहरु जिम्मेवार छौं ।

त्यही त कसैले पनि यस्तो खेल अपेक्षा गरेका थिएनन् । सबैले ग्लोबल छनोटमा सहजै पुग्ने सोचेका थिए । यति धेरै फरक कसरी पर्‍यो ?

यो खेल यस्तै हो, खासगरी टी–२० मा । प्रतियोगिता भर हेर्ने हो भने सबै टिमले राम्रो खेलेका थिए । तर नेपालका लागि हाम्रो स्तर अनुसार खेल्न सकेनौं । जुन सोच थियो, सपना थियो । सबैले टी–२० अष्ट्रेलियासम्मको यात्रा पुरा गर्नेछ ।

तर भनेर मात्र सकिन्न । खेलाडीका रुपमा हामीले प्रयास पनि गरेका हौं । यो हप्ता चाहिँ हामीले गर्न सकेनौं । आगामी दिनमा यस्तो अवसर आउँदा राम्रो गर्ने प्रयास गर्नेछौं ।

टी–२० विश्वकपको अपसर गुग्नु नेपाली टोलीका लागि कति ठूलो सेटब्याक हो ?

मलाई लाग्छ सबैका लागि सेटब्याक हो । तर हामी जहिल्यै रिजल्टमा मात्र केन्द्रित छौं । जित्नासाथ नेपाली क्रिकेट अगाडि बढ्यो वा हार्नासाथ पछाडि गयो भन्नुभन्दा पनि एकदिवसीय मान्यता हामीसँग छ, त्यसको सदुपयोग कसरी गर्ने, निरन्तर क्रिकेट खेल्ने वातावरण कसरी बनाउने भन्ने हो ।

हामी खेलाडीहरुले जसरी पनि टिमलाई अगाडि लैजान कोशिश गर्ने हो । सधैं हामीले भनेको जस्तो नजिता आउँछ भन्ने छैन । यो पनि हामीले राम्रो क्रिकेट खेल्न सकेनौं, यसमा कुनै शंका छैन ।

हारेपछि भौतिक पूर्वाधार छैन, यो छैन, त्यो छैन भन्ने पनि गरिन्छ, यो पटक त्यस्तो भन्ने छुट छ कि छैन ?

छैन छैन । हामीले नेपाल क्रिकेटको सिस्टम वा संरचनालाई दोष दिन मिल्दैन । जति पनि खेलाडीहरु छन्, सिमित सुविधामा पनि राम्रो एक्सपोजर पाएको, राम्रो प्रशिक्षणमा हुर्किएका हुन् । त्यसैले अहिले कसैलाई दोष दिने ठाउँ छैन ।

तस्वीरः शंकर गिरी 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment