Comments Add Comment

लमहीलाई पाँच वर्षभित्र कृषि औद्योगिक शहर बनाउने नेकपाको लक्ष्य

यस्तो छ 'समृद्ध लमही, सम्पन्न लमहीवासी'को खाका

१४ साउन, दाङ । नेकपाले दाङ देउखुरीको लमही नगरपालिकालाई पाँच वर्षभित्र कृषि औद्योगिक शहर निर्माण गर्ने लगायतका विकासको खाका तयार पारेको छ । लमही नगरपालिकाका नेकपा सचिव बसन्तराज शर्मा (विक्रान्त)ले लमही नगरपालिकाका नौवटै वडालाई एकीकरण गरी ‘लमही कृषि सिटी’ बनाउने लगायतका ३९ बुँदे खाका तयार पारेको जानकारी दिए ।

योजनामा उद्योग, कृषि, जनसेवा, यातायातलगायतका क्षेत्रहरुबाट १० हजार नयाँ रोजगार सिर्जना गर्ने र यस्ता रोजगारहरुमा लमहीका विपन्न परिवारलाई प्राथमिकतामा राख्ने शर्माले बताए ।

मुक्त कमैया र भूमिहीन सुकुम्बासीहरुलाई पहिलो प्राथमिकताकासाथ उनीहरु हाल बसोबास गरेकै क्षेत्र वा पायक पर्ने ठाउँमा जमिन र आधुनिक आवास गृह निर्माण गरी वितरण गर्ने योजना पनि बनाइएको छ ।

खाकाको प्रारम्भिक मस्यौदामा लमही नगरपालिकामा ‘कृषि औद्योगिक क्षेत्र’ को समग्र विकासमा एकीकृत योजना निर्माण गर्ने, सबै वडालाई छुने फराकिलो कृषि सडक निर्माण गर्ने, हुलाकी राजमार्गलाई व्यवस्थित बनाई भारतसँगको व्यापारलाई नियमित गर्ने लगायतका बुँदा उल्लेख छन् ।

बसन्तराज शर्मा (विक्रान्त)

यस्तो छ ‘समृद्ध लमही, सम्पन्न लमहीवासी’नारा दिइएको विकासको खाका

१. उद्योग, कृषि, जनसेवा, यातायातलगायतका क्षेत्रहरुबाट १० हजार नयाँ रोजगार सिर्जना गरिनेछ । यस्ता रोजगारहरुमा लमहीका विपन्न परिवारलाई प्राथमिकतामा राखिनेछ ।

२. लमहीमा कृषि औद्योगीकरणका लागि चालु योजनाहरुको कार्यान्वयन तथा नयाँ योजनाहरुका माध्यमबाट रोजगारीका थप अवसर सिर्जना गरिने छ ।

३. मुक्त कमैया र भूमिहीन सुकुम्बासीहरुलाई पहिलो प्राथमिकताकासाथ उनीहरु हाल बसोबास गरेकै क्षेत्र वा पायक पर्ने ठाउँमा जमिन र आधुनिक आवास गृह निर्माण गरी वितरण गरिनेछ ।

४. सामन्तवादबाट देश पूँजीवादमा पाइला टेक्दै गएको यो समयमा सुकुम्बासी समस्याको स्थायी समाधानका लागि आवास र रोजगारीको सन्तुलनबाट हल गर्ने उद्देश्य लिइएको छ ।

५. लमही नगरपालिकामा ‘कृषि औद्योगिक क्षेत्र’ को समग्र विकासमा एकीकृत योजना निर्माण गरिनेछ ।

६. सबै वडालाई छुने फराकिलो कृषि सडक निर्माण, खानेपानी, विद्युत, सञ्चार, आदि सुविधा पुर्याइने छ ।

७. कृषि औद्योगिक क्षेत्रमा देशभित्र र बाहिरका उद्योगीहरुलाई व्यापकरुपमा आकषिर्त बनाई आगामी पाँच वर्षभित्र कृषि औद्योगिक शहर निर्माण गरिनेछ ।

८. हुलाकी राजमार्गलाई व्यवस्थित बनाई भारतसँगको व्यापारलाई नियमित गरिनेछ ।

९. पूर्वीलमहीको उपयुक्त स्थानमा आधुनिक कृषिभण्डारण केन्द्र निर्माण गरिनेछ ।

१०. राप्ति नदीको किनार क्षेत्र प्राकृतिक प्रकोपले ठूलो जनधनको क्षति भइरहने क्षेत्र हो । राप्ती नदी लमहीवासीको गौरव भइरहँदा लमहीबासीका लागि कतिपय सन्दर्भमा अभिशाप बनेको छ । त्यसैले यसको हल वैज्ञानिक र गुणात्मक ढंगले निकालिने छ ।

११. आगामी वर्षमा लमहीलाई यातायात, विद्युत, टेलिफोन, इन्टरनेट सेवा उपलब्ध हुन सहज हुनेछ । यसको साथै लमही रिङ्गरोड निर्माणको ठोस पहल अघि बढाइने छ । यसबाहेक नौ ओटै वडाले अघिसारेका विकास निर्माण र जनजीविकाका क्षेत्रका योजना तथा कामहरुलाई गुणात्मकरुपमा पूरा गर्न विशेष पहल गरिनेछ ।

१२. झापा विद्रोह, जनआन्दोलन तथा जनयुद्धका क्रममा हाम्रो पार्टीको दिवङ्गतहरुको चिरस्मरणमा एक पार्क निर्माण गरिनेछ ।

१३. कृषि क्रान्तिको नेतृत्व गर्न सक्षम जनशक्ति निर्माण र परिचालन गरिनेछ ।

१४. कृषि सामुदायिक विद्यालय, देउखुरी बहुमुखी क्याम्पसको स्तरीकरणका लागि त्रिविको आङ्गकि क्याम्पसमा परिणत गर्न विशेष पहल गरिने छ । साथै सामुदायिक बिधालय वा कलेजलाई पनि निश्चित अनुदानको व्यवस्था गरिनेछ ।

१५. किसानलाई आधुनिकीकरण गर्न अति आवश्यक भइसकेको छ । तसर्थ जमिनको चक्लाबन्दी गरी सहकारीकरण वा अन्य माध्यमबाट ठूलो स्केलमा कृषि र्फमको विकास र विस्तार गरिनेछ ।

१६. कृषकलाई आधुनिक खेती प्रणालीसँग अवगत गराई कृषि उब्जनी वृद्धि गर्न कृषि तथा वनविज्ञान विश्वविद्यालयसँग सहकार्य

गरी ‘कृषक पाठशाला’ सञ्चालन गरिनेछ । यस्ता पाठशालामा किसानहरुलाई उन्नत खेती प्रणालीबारे व्यवहारिक ज्ञान दिइनेछ ।

१७. देउखुरीमा रहेका क्याम्पस, सामुदायिक बिधालयसँगको सहकार्यमा लमहीमा एउटा पब्लिक बहुप्राबिधिक विश्वविद्यालय स्थापना गरिनेछ ।

१८. विद्यालय शिक्षाको स्तरीकरणका लागि उचित नियमनको व्यवस्था गर्न लमहीका नौवटै वडासँग समन्वय र सहकार्य गरिनेछ ।

१९. नमूना विद्यालयका रुपमा स्थापित भइसकेको देउपुर मा.वि. ले अवलम्बन गरेका शैक्षिक क्रियाकलापहरुको नगरव्यापी विस्तार अनुकुल नगरी लमही नगरपालीकाका कम्तिमा २५ प्रतिशत विद्यालयहरु नमूना विद्यालय बनाइनेछ । साथै सबै वडाहरुमा गरीब तथा न्यून आय भएका अभिभावकका बालबालिकाको शिक्षाका लागि तत्काल मन्टेश्वरी कक्षासहितको सामुदायिक विद्यालयलाई व्यवस्थित गरिनेछ ।

२०. लमहीमा कृषि औधोगीक क्षेत्रको सम्भाव्यता अध्ययन गरी निर्माण कार्यलाई अघि बढाइनेछ ।

२१. पूर्वपश्चिम सडक (सिंगेखोला-शिवखोला) यातायातलाई २०/२५ मिनेटमा ओहोर-दोहोर गर्न सक्ने ढङ्गले स्तरोन्नति गर्न भौतिक पूर्वाधार मन्त्रालय (केन्द्रीय सडक बोर्डसँग) सहकार्य गरिनेछ ।

२२. राप्ती नदीको बगरखण्डसँग जोडेर गढवा गाउँपालीका र राजपुर गाउँपालीकासँगको सहकार्यमा समग्र दक्षिण लमहीको विकास गर्न आधुनिक तटबन्ध निर्माण गरी बगर खेतीका लागी राप्ती नदीमा फराकिलो खेतियोग्य जमिन निकालिने छ ।

२३. लमहीमा तीव्र रुपले शहरीकरण भइरहेकोछ । खेतीयोग्य जमिन सीमित हुँदैछ । आगामी दिनमा खेती योग्य, औद्योगिक क्षेत्र र आवास क्षेत्रका रुपमा भूमिको वर्गीकरणको नीति लिइनेछ ।

२४. राप्ती गाउँपालिकासँगको सहकार्यमा चुरे संरक्षण सडक -भालुबाङ-अमिलिया) निर्माण गरिनेछ ।

२५. दामोदर सडकलाई स्तरोन्नतिसहित पूर्णता दिइनेछ ।

२६. लमहीमा निर्माणाधीन क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको बनाइने छ ।

२७. लमहीमा प्रदेश स्तरको मनोरञ्जन पार्क (फनपार्क) निर्माण गरिनेछ । उक्त पार्कको नामाकरण शहीदहरुको नाममा राखिनेछ ।

२८. जोखिमपूर्ण बस्तीको स्थानान्तरण, नदीले कटान गरिएका जमिनको क्षतिपूर्ति, बसन्तपुर, शितलापुर, भुस्सर, चिश्वा खोला आदि स्थानलगाएत जनताका लागि भरपर्दो र वैज्ञानिक समाधान निकालिने छ ।

२९. लमहिमा कृषि अध्ययन प्रतिष्ठान स्थापना गर्न पहल गरिने छ । यसका साथै,कृषिमा औधोगीककरण र किसानको व्यावसायीकरण गर्दै कृषि क्षेत्रको विकास र किसानको सुरक्षा र क्षमता अभिवृद्धिका लागि केन्द्रीयस्तरमा कृषिसँग सम्बन्धित निकायहरुले अघि सार्दै आएका नीति तथा अवधारणा पूरा गर्न विशेष भूमिका निर्वाह गरिनेछ ।

३०. लमहीमा आमसञ्चार तथा सञ्चारकर्मीहरुको सर्वाङ्गिण विकासका लागि स्थानीय तथा सामुदायिक सञ्चारलाई समानुपातिक विज्ञापन, अनुदान तथा विज्ञापनका लागि सहज हुने नीतिगत व्यवस्था र कार्यान्वयनका लागि पहल गरिने छ ।

३१. देशको पर्यटकीय गन्तव्यको रुपमा लमहीको समग्र विकास गर्दै भालुबाङदेखि अमिलियासम्म देउखुरी भ्यु पर्यटनमार्ग निर्माण गरी राष्ट्रिय बन, ताल-तलैया, सामुदायिक वन, कृषि तथा जडिबुटी फार्म, औद्योगिक क्षेत्र, शिक्षालय, पहाडी पदयात्रा, जङ्गल पदयात्रा, साहसिक पर्यटनलगायतको विकास तथा प्रवर्द्धन गर्दै लमहीलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गरिनेछ ।

३२. प्राङ्गारिक कृषिको उचित प्रवर्द्धन गर्नुका साथै कृषि पर्यटनको पनि विकास गर्दै लमही पर्यटन व्यवसायलाई मर्यादित बनाउँदै विश्व समुदायमा नै लमहीको पहिचान स्थापित गरिनेछ ।

३३. अर्जुनखोला, रिहार र जखेरा क्षेत्रलाई धार्मिक पर्यटनको रुपमा विकास गर्न गुरुयोजनाअनुसारको पूर्बाधार बिकास गरिनेछ । यसअन्तर्गत राप्ती नदी क्षेत्रको समग्र क्षेत्रको संरक्षण, पुनर्निर्माण, प्रवर्द्धन, विद्युतीय शवदाह गृह तथा वृद्वाश्रम निर्माण गरी त्यसको संरक्षण र विकास गरिनेछ ।

३४. स्वास्थ्य सेवामा पछाडि परेकोले स्वास्थ्य क्षेत्रलाई व्यवस्थीत र विकास गर्न विशेष योजनाको निर्माण गरी आवश्यक पहल गरिनेछ ।

३५. लमही अस्पतालको स्तरोन्नति र सेवालाई व्यवस्थित बनाउँदै अस्पताललाई विकास गरी मेडिकल कलेजको रुपमा निर्माण गर्ने योजना बनाइने छ ।

३६. क्षयरोग, मलेरिया, डेंगु, एचआईभीलगायतका संक्रामक रोगहरुविरुद्ध प्रभावकारी कदमका लागि विशेष कार्यक्रम, एचआइभी संक्रमित एकल महिला तथा बालबालिकालाई सामाजिक सुरक्षा कार्यक्रममा समेटिने छ ।

३७. अर्जुन खोलालाई राष्ट्रिय गौरवको आयोजनामा सूचिकृत गरी ‘बहुउपयोगी अर्जुनसरोवर’का रूपमा बिकास गरिनेछ ।

३८. लमही नगरपालिकाका नौवटै वडाले बनाएका योजनाहरुको स्वामित्व लिई ती योजना लागू गर्न वडाहरुलाई सहयोग र नेतृत्व गरिनेछ ।

३९. जमिनको खण्डीकरण रोकेर व्यवस्थित बसोबासको प्रवन्ध मिलाइने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment