१४ साउन, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा अध्यक्ष प्रचण्ड पारिवारिक भ्रमणका लागि मंगलबार दुबई प्रस्थान गरेका छन् । उनको भ्रमण राजनीतिक उद्देश्यबाट नभएर विशुद्ध पारिवारिक रहेको पारिवारिक स्रोतले बताएको छ । भ्रमण टोलीमा परिवारका ७ सदस्यहरु सहभागी छन् ।
स्रोतका अनुसार बिरामी अवस्थामा रहेकी प्रचण्डपत्नी सीता दाहालले निकै पहिलेदेखि नै दुबई शहर हेर्ने इच्छा जाहेर गर्दै आएकी थिइन् । तर, फुर्सद नमिलेका कारण प्रचण्डले पार्टी एकता टुंगिएपछि जाऔंला भन्दै टार्दै आइरहेका थिए । तर, यसपटक भने चार दिनका लागि समय निकाल्न परिवारबाट चर्को दबाव आएपछि प्रचण्ड भ्रमणका लागि तयार भएका हुन् ।
साउन १८ गते फर्कने गरी मंगलबार युएईतर्फ लागेको टोलीमा अध्यक्ष प्रचण्ड र सीता दाहालका साथमा दुई छोरी र तीनजना नाति-नातिना सहभागी छन् ।
पारिवारिक भ्रमण दलमा भरतपुर महानगरपालिकाकी मेयरसमेत रहेकी छोरी रेनु दाहाल र सचिवालयमा कार्यरत कान्छी छोरी गंगा दाहालसमेत छन् । टोलीमा रेनु दाहालका छोरा, गंगाकी छोरी र स्व. प्रकाश दाहालका जेठा छोरा पनि छन् ।
लामो विमारबाट ग्रस्त रहँदै आएकी सीता दाहाललाई मंगलबार त्रिभुवन विमानस्थलमा गाडीबाट ओरालेर भीआइपी कक्षतिर लैजाँदा दुई छोरीहरुले सहारा दिएको दृश्य देखिन्थ्यो । यो दृश्यले सीताको शारीरिक अवस्था निकै कमजोर बनेको संकेत गर्छ ।
यसअघि सीतालाई उपचारका लागि अमेरिका लगिएको थियो । त्यहाँ उपचार गर्दा पनि उनको अवस्थामा उल्लेखनीय सुधार आएको छैन ।
तथापि अहिलेको दुबई भ्रमण कुनै औषधोपचारका लागि नभएर ‘रिफ्रेसमेन्ट’ का लागि मात्र भएको स्रोतले बतायो ।
नेकपा अध्यक्ष प्रचण्डले पछिल्लो समय विरामी श्रीमतीको इच्छा पूरा गर्दै आएका छन् । यसअघि विवाहको ५० औं वर्षगाँठ मनाउँदा पनि प्रचण्डले पत्नीको खुशीका लागि आफूले विवाहोत्सव मनाएको बताएका थिए ।
यसपालि श्रीमती, छोरी र नाति नातिनाका साथमा दुबई जान तयार भए पनि प्रचण्डले त्यहाँ रहँदाका ४ दिन व्यक्तिगत रुपमा आराम गर्ने सोचाइ बनाएको उनी निकट स्रोतले बतायो ।
स्रोतले भन्यो, ‘श्रीमतीको इच्छा पूरा गर्न यो भ्रमण तय भएको हो, यसक्रममा अध्यक्ष प्रचण्डले राजनीतिक थकानबाट परै बसेर आराम गर्ने योजना बनाएको बुझिन्छ ।’
यता प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य जाँच एवं आराम गर्नका लागि साउन १८ गते सिंगापुर जाने कार्यक्रम छ । ओली सिंगापुर जाँदा नेकपा अध्यक्षको कार्यभार सम्हाल्न साउन १८ गते नै स्वदेश र्फकने नेकपा स्रोतले बतायो ।
यद्यपि बालुवाटार स्रोतले प्रधानमन्त्री ओलीको भ्रमण तिथि केही दिन तलमाथि हुने सक्ने बताएको छ ।
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4