Comments Add Comment

जब राखी सावन्तको विवाहको खबर फैलियो

बलिउडकी आइटम गर्ल तथा अभिनेत्री राखी सावन्तले गोप्य तरिकाले मुम्बईको जे डब्लू मेरियट होटलमा विवाह गरेको खबर भाइरल भैरहेको छ । केही अनलाइन पत्रिकाहरुले तस्वीरसहितको एउटा समाचार प्रकाशित गर्दै राखीले एक जना एनआरआईसंग विवाह गरेको खबर प्रकाशित गरेका थिए । उक्त खबर भाइरल भैरहेको बेला अभिनेत्री सावन्तले उक्त खबर सरासर झुटो भएको दावी गरेकी छिन् । विवाह गरेको खबरलाई उनले ठाडै अस्विकार गरिदिएकी हुन् ।

राखीले विवाह गरेको खबर प्रकाशित गर्ने अनलाइन पत्रिकाहरुमा उनले गैर आवासीय भारतीयसंग गोप्य रुपमा विवाह गरेको, विवाह मुम्बईको जे डब्लू मेरियट होटलमा २८ जुलाई (आईतबार) का दिन भएको तथा वैवाहिक समारोलाई पूर्ण रुपले गोप्य राख्नका लागि परिवारका सदस्यहरु मात्र उपस्थित भएको उल्लेख गरिएको थियो ।

वैवाहिक समारोहमा परिवारका ४-५ जना सदस्यमात्रै उपस्थित भएको तथा विवाहको खबर सार्वजनिक नहोस् भन्नका लागि होटलको हलको साटो कोठामा विवाह गरिएको समेत उक्त खबरमा जनाइएको थियो ।

आज -सोमबार) केही सञ्चारकर्मीहरुले राखी सावन्तलाई उनको विवाहको बारेमा जिज्ञासा राख्दा त्यसलाई उनले ठाडै अस्विकार गरेकी हुन् । उनको दावी छ-‘मैले विवाह गरेकै छैन ।’ अनलाइन पत्रिकाहरुमा उनलाई दुलहीको पहिरनका देखिएको बारेमा गरिएको जिज्ञासामा सावन्तको जवाफ थियो-‘दुलहीको पहिरनमा म एउटा प्रोडक्टको फोटोसेसन गरिरहेको थिएँ । त्यही फोटो बाहिरिएपछि मैले विवाह गरेको नक्कली खबर भाइरल भएछ ।’ ‘मलाई थाहा छैन किनमा मानिसहरु मलाई आरामले बस्दै दिँदैनन्, राखीको भनाइ छ ।

राखीले स्पष्टिकरण दिँदै भनिन्-‘म विल्कुलै अविवाहित हुँ । हिजो जे डब्लू मेरियट होटममा मेरो क्याटलगको फोटोसेसन भैरहेको थियो । म उक्त फोटो सेसनमा दुलहीको पहिरनमा प्रस्तुत भएकी थिएँ ।’

आफ्नो विवाह नभएको प्रमाणित गरेपछि उनले सञ्चारकर्मीप्रति दुःख व्यक्त गरिन् । ‘कृपया तपाईंहरुले के नबुझिदिनुस् भने कुनै पनि अभिनेत्रीले यदि हातमा मेहन्दी लगाइन् भने उनको विवाह भयो, एउटा औंठी लगाइन् भने उनको विवाह भैसक्यो, अस्पतालबाट बाहिरिरहेको देखियो भने उनी गर्भपतन गरेर आइन्, दुई-चार जना व्यक्तिसँग घुमफिर गरिने भने गोप्य रुपमा विवाह नै गरिसकिन्…यो सबै के हो ? के एउटी अभिनेत्रीले स्वतन्त्र रुपमा घुमफिर गर्न पनि नपाउनु ? एउटी अभिनेत्रीले राम्ररी बाँच्न पनि नपाउनु ? सिउँदोमा सिन्दुर लगाउने बित्तिकै विवाह नै गरेको हुनुपर्छ भन्ने छैन, उनी भरखरै कुनै धारावाहिकमा अभिनय गरेर पनि आएको हुनसक्छ । हामी अरु कुनै कार्यक्रमको छायांकनमा पनि व्यस्त भैरहेका हुनसक्छौं ।’

रमाइलो कुरा के छ भने राखी सावन्त बलिउडका फिल्महरुमा आइटम डान्सरको रुपमा लोकपि्रय छिन् । उनले केही फिल्ममा अभिनेत्रीको रुपमा काम पनि गरेकी छन् ।

त्यसो त यसअघि उनको नाम दीपक कलालसंग जोडिएको थियो । उनीहरुका केही भिडियोहरु भाइरल समेत भएका थिए । कतिपयले त उनीहरु चाँडै नै वैवाहिक समारोहमा बाँधिन लागेको समेत बताएका थिए ।

परदेशीया…गीतमा आइटम डान्स गरेपछि चर्चामा आएकी राखी सावन्त आफ्नो डान्स देखाउने क्रममा केही पटक नेपाल समेत आइसकेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment