Comments Add Comment

रक्सौल–काठमाडौं रेलमार्गमा ४५ किलोमिटर सुरुङ

१३५ किलोमिटर लामो हुने

१५ साउन, काठमाडौं । प्रस्तावित रक्सौल–काठमाडौं रेलमार्गको लम्बाई १३५ किलोमिटर हुने भएको छ । भारतले गरेको प्रारम्भिक इन्जिनियरिङ तथा ट्राफिक सर्वेक्षणको रिपोर्टले यो लम्बाई उपयुक्त हुने आँकलन गरेको हो ।

भारतीय कम्पनी कोंकण रेलवे कर्पोरेसन लिमिटेड (केआरसीएल)ले तयार पारेको प्रारम्भिक रिपोर्टमा यो रेलमार्ग निजगढ हुँदै बनाउन प्रस्ताव गरिएको छ । भारतसँग जोडिने अन्तरदेशीय यो रेलमार्ग ब्रोडगेजमा नै बनाउने गरी प्रारम्भिक रिपोर्ट आएको रेल विभागमा प्रवक्ता अमन चित्रकारले जानकारी दिए ।

यो प्रस्ताव प्रारम्भिक मात्रै भएकाले रेलमार्गको अनुमानित लागतको विषय यसमा समावेश नभएको चित्रकारले जानकारी दिए । प्रस्तावित रेलमार्गमा ४५ किलोमिटर खण्डमा सुरुङ रहने भएको छ । ४५ किलोमिटर सुरुङभित्रै रेलमार्ग बनाउनुपर्ने छ । विभिन्न स्थानमा साना ठूला गरी करिब ३५ वटा पुल पनि बनाउनुपर्ने देखिएको चित्रकारले जानकारी दिए ।

यो प्रतिवेदन तयार हुनुअघि भारतीय कम्पनीले नेपाललाई दुई रुटको विकल्प दिएको थियो । १९० किलोमिटर र १३५ किलोमिटरको रेलमार्गमध्ये एक विकल्पमा यो रेलमार्ग तयार गर्न सकिने भन्दै भारतीय पक्षले एकलाई छनोट गर्न भनेको थियो ।

१३५ किलोमिटरमा छोट्याएर निर्माण गर्दा भविष्यमा केही समस्या आउन सक्ने जानकारी भारतीय प्राविधिकले दिएका थिए । १९० मिलोमिटर र १४० किलोटिरमा बनेको रेलमार्गमा गुड्ने रेल लगभग एउटै समयमा काठमाडौं ओहोर–दोहोर गर्न सक्ने भरतीय पक्षको भनाइ थियो । नेपालले भने रेलमार्गको लम्बाई पनि छोटो हुनुपर्ने र प्राविधिक हिसाबले लाभदायी पनि हुनुपर्ने बताएको थियो ।

नेपालले भविष्यमा मर्मत सम्भार र सञ्चालन गर्न सबैभन्दा सजिलो हुने विकल्पमा नै रेलमार्गको नक्सांकन गर्न भारतलाई भनेको थियो । त्यसकै आधारमा १३५ किलोमिटरमै रेलमार्ग बनाउने गरी भारतीय कम्पनीले प्रतिवेदन दिएको हो ।

ब्रोडगेजमै अध्ययन

यो रेलमार्गको प्रारम्भिक अध्ययन नै ब्रोडगेजमा गर्ने गरी समझदारी भएको थियो । तर, अध्ययन सुरु भएपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यसलाई स्ट्यान्डर्ड गेजमा बनाउन प्रस्ताव ग¥यो । तर, भारतले समझदारी अनुरुप ब्रोडगेजमै बनाउने गरी रिपोर्ट दिएको छ ।

नेपाल र भारतबीच १५ भदौमा रक्सौल–काठमाडौं रेलमार्गको प्रारम्भिक सम्भाब्यता अध्ययनका लागि समझदारीपत्रमा हस्ताक्षर भएको थियो । तर, त्यसअघि नै भारतले यो रेलमार्गको प्रारम्भिक सम्भाब्यता अध्ययनका लागि फिल्ड वर्क सकिसकेको थियो । भारतीय रेल्वे प्राविधिकले २०७५को जेठ २५ गतेबाट प्रारम्भिक सम्भाव्यता अध्ययन सुरु गरेका थिए । अध्ययनका लागि भारतीय रेल्वेका कन्सल्टेन्टहरु नेपाल आएका थिए ।

वीरगञ्जबाट आउने रेल चोभारसम्म ल्यााउने योजना छ । सरकारले त्यसअघि नै वीरगञ्ज–काठमाडौं रेलमार्गमा लागि अध्ययन प्रक्रिया अघि बढाइसकेको थियो । तर, भारतले नै आफ्नै खर्चमा अध्ययन गर्ने भएपछि विभागले अन्तिम चरणमा पुर्याएको कम्पनी छनोट प्रक्रिया पनि स्थगित गरेको थियो ।

चीनको भन्दा सजिलो

रक्सौलबाट निजगढ हुँदै काठमाडौंसम्म आइपुग्ने रेलमार्ग केरुङ हुँदै काठमाडौंसम्म आउने रेलमार्ग भन्दा केही सहज तरिकाले निर्माण गर्न सकिने अध्ययनले देखाएको छ । यो क्षेत्रको भूगर्भ चीनसँगको प्रस्तावित रुटको भन्दा केही सजिलो छ । तर, चुरे क्षेत्रजस्तो संवेदनशील भुभाग पनि यही खण्डमा पर्ने भएकाले त्यसले जटिलता ल्याउन सक्ने अनुमान गरिएको छ ।

अब प्रारम्भिक सम्भाव्यता अध्ययनको रिपोर्टको अध्ययनपछि डीपीआर निर्माणका लागि भारतसँग छलफल सुरु हुने यातायात मन्त्रालयका अधिकारीहरु बताउँछन् ।

हाल रक्सौलदेखि वीरगञ्जसम्म खण्डमा रेलमार्ग बनिसकेको छ । यो रेलमार्ग यात्रु ओसारपसारका लागि नभई कोलकाता हुँदै रक्सौल आएको मालसामान वीरगञ्जको ड्राइपोर्टसम्म ल्याउनका लागि प्रयोग हुन्छ ।

नेपाल–भारत दुई देशका प्रधानमन्त्रीका वीचमा यो खण्डमा रेलमार्ग निर्माणका लागि डीपीआर र फन्डिङ मोडालिटी तयार गर्ने पनि सहमति भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment