Comments Add Comment

कोठा खोजिदिन माग गर्दै महानगरपालिकामा उजुरी

१५ साउन, काठमाडौं । कोठा खोजिदिन माग गर्दै काठमाडौं महानगरपालिकामा उजुरी परेको छ । काठमाडौं महानगरपालिकाको न्यायिक समितिले बुधबार पत्रकार सम्मेलन गरी भाडामा कोठा उपलब्ध गराइदिन माग गर्दै उजुरी परेको तथ्यांक सार्वजनिक गरेको हो ।

त्यसैगरी घर भाडा भाग लगाई पाउँ भनी एउटा जुरी परेको पनि काठमाडौं महानगरपालिकाकी कानुन अधिकृत हरिमाया घिमिरेले जानकारी दिइन् ।

काठमाडौं महानगरपालिकाको न्यायिक समितिले मेयर विद्यासुन्दर शाक्यलाई बुझाएको गत आर्थिक वर्षको कार्य प्रगति विवरणमा जम्मा १९८ उजुरी दर्ता भएकोमा ६१ वटा फछर्यौंट भएको र ९० वटा विचाराधीन अवस्था रहेको पनि उल्लेख गरिएको छ । ती उजुरीमध्ये सबैभन्दा बढी ५४ वटा उजुरी घर कोठा खाली गराई पाउन माग गर्दै परेको पनि महानगरपालिकाकी कानुन अधिकृत घिमिरेले बताइन् ।

न्यायिक समितिले सम्बन्ध विच्छेदका लागि सिफारिस गरिदिन पनि ३४ वटा उजुरी परेको पनि जनाएको छ । त्यसमध्ये २० वटा फछर्यौंट गरिएको पनि काठमाडौं महानगरपालिकाकी कानुन अधिकृत घिमिरेले जानकारी दिइन् । उनका अनुसार सार्वजनिक बाटोमा निर्माण गरिएको घर, टहरा हटाउन पनि उजुरी दिइएको छ ।

न्यायिक समितिले सार्वजनिक बाटो खुलाई पाउन पनि ४ वटा उजुरी परेको स्पष्ट पारेको छ । उपमेयर हरिप्रभा खड्गी संयोजक रहेको न्यायिक समितिले परेका उजुरीमाथि छानवीन गरी पीडितलाई न्याय दिने कामलाई तीव्रता दिइएको दावी पनि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment