Comments Add Comment

विश्वविद्यालय शिक्षा मृत्युशैयामा लम्पसार परेको छ : साझा पार्टी

१५ साउन, काठमाडौं । रवीन्द्र मिश्र नेतृत्वको साझा पार्टीले विभिन्न विश्वविद्यालयमा रिक्त भएका उपकुलपतिलगायतका पदाधिकारीको नियुक्ति दलीय भागवण्डाका आधारमा नगर्न सरकारलाई ध्यानाकर्षण गराएको छ ।

साझा पार्टीका प्रवक्ता डा. सूर्यराज आचार्यले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै भागवण्डाका आधारमा विश्वविद्यालयका उपकुलपछि नियुक्त नगर्न सरकारलाई खबरदारी गरेका हुन् ।

विश्वविद्यालयको गुणस्तर र प्राज्ञिक उन्नयनका लागि प्राज्ञिक स्वतन्त्रता, व्यवस्थापकीय स्वायत्तता, उत्कृष्टता र क्षमताको आधारमा पदाधिकारी र प्राध्यापकको नियुक्ति लगायतका आधारभुत मान्यताको अबलम्वन अनिवार्य गरिनुपर्ने धारणा सो पार्टीले राखेको छ ।

नेपालमा केही दशकदेखि विश्वविद्यालयका महत्वपूर्ण पद राजनीतिक दलका कार्यकर्तालाई दिइने ‘पुरस्कार’का रुपमा उपयोग हुँदै आएको भन्दै साझा पार्टीले अहिलेको स्थितिलाई लज्जाजनक भनेको छ ।

‘न्युनतम प्राज्ञिक चेत, क्षमता र निष्ठा बिनाका दलका ‘बरिष्ठ’ कार्यकर्ताले ज्ञानको मन्दिर मानिने विश्वविद्यालयमाथि एक छत्र दाइँ गरेका छन्,’ आचार्यद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘परिणामस्वरुप वौद्धिक चोरीको पुष्ट्याई भएका पदाधिकारी र प्राध्यापकको नियुक्ति, किनिएको थेसिसबाट डिग्री, प्राध्यापक नियुक्ति परीक्षाको अंकमा केरमेट जस्ता समाचार सामान्य लाग्न थालेका छन् । नेपालको राजनीति हाँक्ने ठुला दलहरुले अपनाएको भागबन्डाको यो घातक प्रवृत्तिले हाम्रो विश्वविद्यालय शिक्षा अहिले मृत्यु शैयामा लम्पसार परेको छ ।’

साझा पार्टीको विज्ञप्तिमा अगाडि भनिएको छ, ‘ज्ञानको भोक र खोजीमा क्याम्पस पुगेका हाम्रा विद्यार्थीको प्रतिभा र सिर्जनात्मक उर्जालाई एकातिर दलीय भागबन्डामा विश्वविद्यालय छिरेका भ्रष्ट पदाधिकारी र असक्षम प्राध्यापकले निस्तेज पारेका छन् भने अर्कोतर्फ राजनीतिक दलहरूले शिक्षण संस्थाभित्र निर्दोष विद्यार्थीहरूमाथि थोपरेको दूषित राजनीति र युनियनवाजीले सिँगो पुस्ताको भविष्य नै वर्वाद बनाइदिएको छ ।’

न्युनतम गुणस्तरको विश्वविद्यालय शिक्षाका लागि आˆना सन्ततिलाई घरखेत बेचेर विदेश पढ्न पठाउन अभिभावकहरु बाध्य भएको बताउँदै यदि यो प्रवृत्तिलाई बेलैमा परास्त गर्न सकिएन भने यसको दुष्परिणाम हाम्रो समाजले शदियौँसम्म भोग्नुपर्ने सो पार्टीको भनाइ छ ।

उपकुलपति लगायतका नियुक्ति प्राज्ञिक योग्यता, क्षमता र उत्कृष्टताका आधारमा हुने सुनिश्चितताका लागि निष्पक्ष र पारदर्शी कार्यविधि अपनाउन सरकारलाई साझा पार्टीले आग्रहसमेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment