Comments Add Comment

छापामा आज : २५०० बिघा जग्गा अझै ‘माओवादी’को कब्जामै

१६ साउन, काठमाडौं । राजनीतिक दलभित्रको कचिंगलदेखि तत्कालीन माओवादीले कब्जा गरेको जग्गा अझै फुकुवा नभएकोसम्मका विषय आजका दैनिक पत्रिकाहरूको ‘हेडलाइन’ बनेको छ ।

अन्नपूर्णले ‘२५०० बिघा माओवादी कब्जामै’ शीर्षक दिएर मुख्य समाचार बनाएको छ । तत्कालीन विद्रोही माओवादीको अगुवाइमा दाङमा कब्जा भएको २५ सय बिघा जग्गा अझै फिर्ता नभएको हो ।

तत्कालीन माओवादीले नेपाल संस्कृत विश्वविद्यालयको १३ सय, स्वर्गद्वारी आश्रमको १२ सय र जिल्ला प्रशासन कार्यालयको १४ बिघा कब्जामा लिएका थिए । अन्नपूर्णका अनुसार, दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले यी सबै जग्गा अझै फुकुवा नभएको बताएका छन् ।

प्रजिअ रिजालले अन्नपूर्णलाई बताएअनुसार संस्थागत रूपमा कब्जा भएका जग्गाको आम्दानी जग्गाधनीले ०५८ सालदेखि नै पाएका छैनन् ।

तर तत्कालीन माओवादीका इञ्चार्ज निर्मल आचार्यले भने व्यक्तिको जग्गा फिर्ता भए पनि संघ संस्थाको कब्जामा नै रहेको बताएका छन् । आचार्यका अनुसार संस्कृत विश्वविद्यालय, स्वर्गद्वारी आश्रम तथा विभिन्न संघ–संस्थाको जग्गामा किसान, भूमिहीन र सुकुम्बासी बसेका छन् ।

देउवा–पौडेल चर्काचर्की

पार्टीको चौथो महाधिवेशनको कार्यतालिका ल्याउने कि नल्याउने भन्ने सवालमा कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच चर्को आरोप–प्रत्यारोप चलेको कान्तिपुरले लेखेको छ ।

कान्तिपुरका अनुसार बुधबारको केन्द्रीय कार्यसमिति बैठकमा पौडेलले महाधिवेशन नगराइ कार्यसमितिलाई निरन्तरता दिन खोजिएको धारणा राखेपछि सभापति देउवा झोक्किएका थिए । पाँच वर्षभित्र महाधिवेशन गराउन खोज्दाखोज्दै पनि आफूलाई भिलेन बनाउन खोजिएको भन्दै देउवाले पौडेलको टिप्पणीप्रति आपत्ति जनाएको समाचारमा उल्लेख छ ।

हेर्नुहोस् आजका पत्रपत्रिकाका फ्रन्टपेज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment