+
+
Shares

पहिरोले सडक अवरुद्ध हुँदा लाखौं मूल्यको आलु कुहियो

रासस रासस
२०७६ साउन १६ गते १४:५२

१६ साउन, गाईघाट । असारको चौथो सातामा आएको भीषण वर्षाको कारण उदयपुर जिल्लाको मध्य उत्तरी पहाडी क्षेत्रको सडक पहिरो र बाढीको कारण भत्किएपछि लाखौं मूल्यका आलु कुहिन थालेको छ ।

जिल्लाको पहाडी क्षेत्र रौतामाई गाउँपालिकाको डिल्लीबर, माझखर्क, इनामे, नामेटार र लिम्चुङबुङ गाउँपालिकाको सातदोबाटे, बराह क्षेत्रमा उत्पादन भएको आलु यातायात सञ्चालन हुन नसक्दा अन्यत्र पैठारी गर्न नसकेपछि कुहिन थालेको हो ।

रौतामाई गाउँपालिका–६ माझखर्क टाट्नेका आलु उत्पादक कृषक गोम्बु शेर्पा भन्छन्, ‘वैशाख, जेठमा नै उत्पादन गरेको आलु असार लाग्ना साथ बिक्री गर्ने तयारीमा रहेका थियौं, अचानक वर्षासँगै बाढी पहिरोले सडक भत्कन पुग्यो, अहिलेसम्म पनि सडक सञ्चालन हुन नसक्दा अन्यत्र बिक्री गर्न लागेको आफूहरुको आलु कुहिन थाल्यो ।’

रौतामाई इनामेका कृषक कृष्णबहादुर तामाङको पनि गुनासो यस्तै छ । तामाङ भन्छन्, ‘आलु बारीबाट उठाएर भर्खरै बिक्री गर्ने तयारी भएको बेला सडक अवरुद्ध हुन पुग्यो, अहिलेसम्म सडक सञ्चालन हुन नसक्दा आफूहरुको आलु अहिले बिग्रन थालेको छ, तत्काल बिक्री गर्नुपर्ने आलु घरको कोठामा राख्नाले कुहिन थाल्यो ।’

माझखर्क इनामे, डिल्लीबर हुँदै मुर्कुची बजार भएर गाईघाट, सिराहाको लहान र सप्तरीको राजविराज तथा पूर्वी क्षेत्रको इटहरी र विराटनगरसम्म खरिद–बिक्री हुने गरेको आफूहरुको उत्पादित आलु यस पटक सडक अवरुद्धका कारण एक महिनासम्म बिक्री गर्न नपाउँदा आलु भण्डारन गरिएको कोठाहरुमा नै कुहिन थालेको इनामेकै अर्का कृषक हर्कबहादुर तामाङको गुनासो छ ।

यस्तै लिम्चुङबुको पल्लो माझखर्क सातदोबाटे र बराहमा उत्पादन गरिएको आलुहरु पनि अहिले सडक अवरुद्ध भएपछि अन्यत्र पैठारी गर्न नपाएपछि कुहिन थालेका कारण आलु खेतिबाट यस पटक आफूहरु ठूलो घाटा व्यहोर्नुपर्ने अवस्था आएको सातदोबाटेका कृषक खम्बराज कार्कीले बताए ।

कार्कीका अनुसार यस क्षेत्रमा हिउँदे आलु मात्र करोडौँ मूल्यको उत्पादन हुने गरेको र यसपटक बिक्री नै गर्न नपाई सडक अवरुद्ध हुन पुगेको कारण आफूहरुको उत्पादित आलु बिग्रने अवस्थामा पुगेपछि ठूलो आर्थिक घाटा व्यहोर्नुपर्ने अवस्था आएको कार्की बताउँछन् ।

जिल्लाको सदरमुकाम गाईघाट हुँदै मुर्कुची, डिल्लीबजार, माझखर्क तथा गाईघाट, रौता, भुटार इनामे माझखर्क दुवै क्षेत्रका पहाडी सडकहरु असारको अन्तिम हप्ता आएको भीषण वर्षापछिको पहिरोले कतै सडक भत्किएको र कतै पहिराले सडकहरु पुरिएपछि पहाडी सडक अवरुद्ध हुन पुगेको सो क्षेत्रका जनप्रतिनिधिहरु बताउँछन् ।

कम्तीमा पनि सो पहाडी क्षेत्रको सडक अवरुद्ध खुलाउन महिना दिन लाग्ने रौतामाई गाउँपालिकाका अध्यक्ष गजेन्द्र खड्का बताउँछन् । सडक खुलाउन लिम्चुङबुङ गाउँपालिकाले २५ लाख रुपैयाँ र रौतामाई गाउँपालिकाले १५ लाख रुपैयाँ खर्च गर्ने तयारी गरेको छ ।

प्रदेश नं १ को सरकारका तर्फबाट सो तीनै क्षेत्रको पहाडी सडक सञ्चालन गर्न ५० लाख रुपैयाँ सहयोग गर्न लागिएको उदयपुरबाट प्रदेश नं १ का सांसद नारायण बुर्जा मगरले बताए ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?