Comments Add Comment

दमकमा औद्योगिक क्षेत्र बनाउन ६४ अर्ब लगानी स्वीकृत

१७ साउन, काठमाडौं । लगानी बोर्डले झापाको दमकमा नेपाल–चीन मैत्रिपूर्ण औद्योगिक पार्क बनाउन ६४ अर्ब लगानी स्वीकृत गरेको छ ।

पार्कमा ल्हासा इकोनोमिक एण्ड टेक्निकल डिपार्टमेन्ट र जोन जिङपिङ क्रियशन कन्स्ट्रक्सन कम्पनीको लगानी रहनेछ ।

शुक्रबार बसेको लगानी बोर्डको बैठकले परियोजनाको डीपीआर बनाउन दमक क्लिन इन्डस्ट्रियल पार्कलाई अनुमति समेत दिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बोर्डको बैठकले विराटनगरमा निर्माण तथा सञ्चालन गर्न प्रस्तावित मल्टि मोडल लजिस्टिक पार्क परियोजना पनि स्वीकृत गरी अध्ययनको अनुमति सीजी लजिस्टिक प्रालिलाई दिएको छ । उक्त परियोजनाका लागि सीजी लजिस्टिक प्रालि र युएईको सर्राफ ग्रुपबीच गत वर्ष भएको लगानी सम्मेलनमा समझदारी पनि भएको थियो ।

त्यस्तै जनकपुरमा रेलवे लिंक टर्मिनल परियोजना स्वीकृत गर्दै अध्ययनको अनुमति ग्रिन इन्फ्रास्ट्रक्चर प्रालिलाई दिने निर्णय गरेको बोर्डका प्रवक्ता बलराम रिजालले जानकारी दिएका छन् । लगानी बोर्डले ७५६ मेगावाटको तमोर जलासययुक्त जलविद्युत आयोजनाको लागि २ वटा प्रस्तावक चयन गरी शीलबन्दी प्रस्ताव माग गर्ने निर्णय गरेको छ ।

बोर्डले तमोरका लागि चीनको पावर कन्स्ट्रक्सन कर्पोरेसन अफ चाइना र जापानको फुजी इलेक्ट्रिक कम्पनीसँग शीलबन्दी प्रस्ताव माग गर्ने निर्णय गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment