Comments Add Comment

भाजपा नेताले काठमाडौंमा भने : भारतले नेपालको राजनीतिलाई डोमिनेट गरेको छैन

१७ साउन, काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख विजय चौथाइवालेले नेपालको राजनीतिबारे भारतको कुनै गोप्य डिजाइन नरहेको बताएका छन् ।

नेपाल भारत मैत्री समाजले शुक्रबार राजधानीमा गरेको कार्यक्रममा उनले भने, ‘भारतले नेपालको राजनीतिलाई डोमिनेट गरेको छैन । कुनै गोप्य डिजाइन छैन । नेपालले स्वतन्त्र रुपमा आफ्नो राजनीतिक व्यवस्थालाई परिवर्तन गर्न या नगर्न सक्छ ।’

अन्तर्क्रियामा सहभागीले चौथाइवालेलाई नेपालको राजनीतिमा भारतीय हस्तक्षेप किन ? ‘रअ’ का व्यक्तिहरु सुटुक्क आएर नेपालका नेताहरुलाई किन भेट्छन ? ‘रअ’ का व्यक्तिसँगको भेटबारे नेपालका नेताहरु ‘भेटेको छैन, भेटेको छैन’ भनेर भन्ने अवस्था किन बन्छ ? भन्दै प्रश्न गरेका थिए ।

जवाफमा चौथाइवाले भारतलाई डोमिनेट गर्ने साथीका रुपमा नलिन आग्रह गरे । ‘डोमिनेट साथीका रुपमा भारतलाई नलिन आग्रह गर्दछु’, चौथाइवालेले दोहोर्याए, ‘नेपाललाई डोमिनेट गर्ने नीति भारतको छैन ।’ उनले नेपाललाई भारतले अपमान नभई सहयोगी साथीका रुपमा लिएको पनि बताए ।

तर, नेपाल र भारतकाबीचमा जुनसुकै क्षेत्रमा सहयोग आदानप्रदान भने हुन सक्ने र हुँदै आएको पनि उनको भनाई थियो । ‘हामी हरेक क्षेत्रमा सहयोग आदनप्रदान गर्न भने सक्छौं । गर्दै आएका छौं किनभने हामी हामी फ्रेन्डसीपमा छौं’ उनले भने ।

विदेश विभाग प्रमुख चौथाइवालेले पटक–पटक भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँगको सम्बन्धलाई उच्च प्राथमिकतामा राखेको बताएका थिए ।

मोदीले प्रधानमन्त्री भएपछि नेपालको तीन पटक भ्रमण गरिसकेको भन्दै उनले मोदीको नेपाल भ्रमणका क्रममा पनि नेपाल भारत सम्बन्धलाई भारतले दिएको उच्च प्राथमिकता झल्किएको उल्लेख गरे ।

‘पाकिस्तानसँग भाजपा एउटै बेन्चमा बस्दैन’

भाजपाका विदेश विभाग प्रमुख चौथाइवालेले आतंकवादविरुद्ध ‘कंक्रिट एक्सन’ नलिइकन पाकिस्तानसँग भाजपा एउटै बेन्चमा बस्न नसक्ने बताए ।

कार्यक्रममा सहभागीले भारतले सार्कलाई छाडेर बिमस्टेकलाई किन प्राथमिकतामा राखेको ? भन्दै प्रश्न गरेका थिए ।

जवाफमा चौथाइवालेले भने, ‘भाजपा आतंकवादविरुद्ध छ । त्यसकारण आतंकवादविरुद्ध पाकिस्तानले कंक्रिट एक्सन नलिइकन पाकिस्तानसँग भाजपा एउटै बेन्चमा बस्दैन । म सरकारको प्रतिनिधि होइन भाजपाको प्रतिनिधि हो । पार्टीको तर्फबाट यति भन्न सक्छु । सरकार पाकिस्तानसँग वार्तामा बस्छ भने त्यो सरकारको कुरा हो ।’

चौथाइवालेले नेपालका नेताहरुले पाकिस्तानका नेताहरुलाई भारतीयको सरह लिएको भन्दै उनले असन्तुष्टिसमेत व्यक्त गरे । ‘नेपाली पक्षले भारतीय मन्त्रीसरह लिएको जस्तो देखिन्छ । तर, भारत आतंकवाद विरुद्ध लडिरहन्छ’ उनले भने ।

चौथाइवालेले सबै प्रश्नको जवाफ दिएनन्

भाजपाका विदेश विभाग प्रमुख चौथाइवालेले कार्यक्रममा उठेका धेरै प्रश्नको उत्तर दिएनन् ।  नेपाल भारतको सीमाका समस्या, बाँधको विषय, रअको गोप्य आवतजात, भारतबाट नेपाल आउने सवारीले पाइरहेको सास्ती र केही समयअघि तरकारीको विषादी परीक्षणबारे भारत सरकारले नेपाल सरकारलाई पठाएको पत्रबारे कार्यक्रमा सहभागीले चौथाइवालेलाई प्रश्न गरेका थिए ।

तरकारीको विषादी परीक्षणबारे भारत सरकारले नेपाल सरकारलाई पठाएको पत्र र सीमामा नेपाली सवारीलाई परेको समस्या तथा सीमा बाँधको विषयका सन्दर्भमा चौथाइवाले बोल्दै बोलेनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment