Comments Add Comment

खाद्यान्न, तरकारी र मासुको उत्पादन बढ्यो

आत्मनिर्भरताउन्मुख बनेको सरकारको दावी

१९ साउन, काठमाडौं । यो वर्ष देशभर मुख्य खाद्यान्न तथा नगदेबालीको उत्पादन तथा उत्पादन क्षमता अघिल्लो वर्षभन्दा बढेको छ । प्रमुख खाद्यान्न बाली, मासु र तरकारीमा देश आत्मनिर्भरको बाटोमा अघि बढेको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार आर्थिक बर्ष ०७५/०७६ मा मुलुकभर ५६ लाख १० हजार मेक्ट्रिक क्टन धान उत्पादन भएको छ जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ८.८९ प्रतिशतले बढी हो । यस्तै मकै उत्पादन ३.४८ प्रतिशतले अघिल्लो वर्षभन्दा बढेको मन्त्रालयले जनाएको छ । तथ्यांकअनुसार यस वर्ष २६ लाख ४४ हजार ८०१ मेक्ट्रिक टन मकै उत्पादन भएको थियो । यस्तै अघिल्लो वर्ष भन्दा ४.५ प्रतिशतले बढेर गहुँको उत्पादन २० लाख ३६ हजार ७०० मेक्ट्रिक टन पुगेको छ ।

उत्पादन सामग्री तथा आपूर्ति व्यवस्थापनमा सुधार, कृषि बजार तथा यसका पूर्वाधार निर्माणमा तिब्रता, रोग नियन्त्रणमा प्रभावकारी पहल जस्ता कारणले कृषि क्षेत्रमा सकारात्मक सूचकहरु देखा परेको मन्त्रालयको दावी छ ।

हरियो तरकारीको निर्यात बृद्धि

कृषि तथा पशु विकास मन्त्रालयका अनुसार नेपाल हरियो तरकारीमा आत्मनिर्भरको बाटोमा छ । हरियो तरकारीको उत्पादन अघिल्लो वर्षको तुलनामा १.८६ प्रतिशतले बृद्धि भई ४१ लाख ७५ हजार ६२१ मेक्ट्रीक टन पुगेको छ ।

आलु उत्पादनमा पनि ४.३ प्रतिशते बृद्धि भएको छ । यस वर्ष देशभर ३२ लाख २० हजार ७८४ मेक्ट्रीक टन आलु फलेको मन्त्रालयको तथ्याङ्क छ । प्रमुख नगदेबाली मध्येको एक उखु उत्पादन पनि गत वर्षभन्दा राम्रो देखिएको छ । अघिल्लो वर्षको तुलनामा यस वर्ष ११.० प्रतिशतले बढेर उखु उत्पादन ३९ लाख ५१ हजार ५ मेक्ट्रीक टन पुगेको छ । मन्त्रालयका अनुसार चालु आर्थिक वर्षमा बन्दा, काउली जस्ता हरियो तरकारीको आयात ५२ प्रतिशतले घटेको छ ।

यस्तै ती तरकारीहरुको निर्यात अघिल्लो वर्षको तुलनामा ४ सय प्रतिशतले बढेको छ । मन्त्रालयका अनुसार चिप्स प्रयोजनका लागि चाहिने आलुको उत्पादन कम हुँदा त्यस किसिमका आलु, प्याज र लसुन आयात भने बढिरहेको छ ।

एकै वर्षमा डेढ अर्ब वटा अण्डा

यस वर्ष मुलुकभर तीन लाख ७२ हजार मेक्ट्रिक टन मासु उत्पादन भएको छ । अघिल्लो वर्षको तुलनामा मासुको उत्पादन ७.२ प्रतिशतले बढेको हो । यस्तै दुध उत्पादन ६.११ प्रतिशतले बढेर २२ लाख १२ हजार ५०० मेक्ट्री कटन पुगेको छ ।

नेपालमा यस वर्ष एक अर्ब ५६ करोड गोटा अण्डा उत्पादन भएको छ । अण्डा उत्पादन अघिल्लो वर्षको तुलनामा ६.१२ प्रतिशतले बढेको जनाइएको छ । माछा उत्पादन पनि ६.०२ प्रतिशतले बढेर ८८ हजार मेक्ट्रिक टनले पुगेको छ ।

किन बढ्यो उत्पादन ?

सरकारी दाबी अनुसार कृषकलाई आवश्यक पर्ने सबै सेवा सुबिधा समयमै प्रदान गरिएका कारण सबै क्षेत्रको उत्पादन तथा उत्पादकत्व बढेको हो । यो वर्ष सरकारले देशैभर रासायनिक मलको अभाव हुन नदिएको दाबी गरेको छ । यस वर्ष देशभर ३४ करोड ५२ लाख २७ हजार ७३६ मेट्रिक टन रसायनिक मल कृषकलाई वितरण गरिएको थियो ।

यस्तै मन्त्रालय अन्तर्गतका विभिन्न निकायबाट प्रशस्त मात्रामा बिउ विजन समयमै कृषकसम्म पुग्ने गरी पठाइएको थियो । यस वर्षदेखि नै मुलुकभर ४ लाख ५२ हजार हेक्टर क्षेत्रफलमा उन्नत जातको बीउ तयार हुने अवस्था रहेको, अघिल्लो वर्षको तुलनामा १९३३ हेक्टर थप जमिनका लागि सिञ्चाई सुविधा पुगेको दाबी मन्त्रालयको छ ।

पशु नश्ल सुधार तथा पशु रोग नियन्त्रणका कार्यक्रम प्रभावकारी बनाइएको कारण पनि उत्पादनमा टेवा पुगेको मन्त्रालयले जनाएको छ । कृषि बजार पूर्वाधार निर्माण एवं सुधार गरिएको, कृषि व्यवसायीकरण आयोजना अन्र्तगत देशभर विभिन्न व्यवसायिक फर्महरु सञ्चालन जस्ता कार्यक्रमको प्रभावकारीताका लागि सरकारले भरपुर सहयोग गरेको पनि प्रतिवेदनमा उल्लेख छ ।

छाला निर्यात बढ्यो, खसी बोका आयात घट्यो

मन्त्रालयका अनुसार यस वर्ष ५७ करोड ७६ लाख वर्ग फिट छाला नेपालबाट निर्यात भएको छ । उक्त छाला बापत नेपालले २७ करोड ४१ लाख रुपैयाँ आम्दानी गरेको छ । यस्तै नेपालबाट यस वर्ष २७२ मेक्ट्रिक टन छुर्पी निर्यात भएको छ ।

गत आर्थिक वर्षमा नेपालमा खसीबोकाको आयात अघिल्लो वर्षको तुलनामा ४६.९ प्रतिशतले घटेको पनि मन्त्रालयले जनाएको छ । नेपालमा खसीबोकाको उत्पादन बढेको र आयात निरुत्साहित गरिएको मन्त्रालयले जनाएको छ ।

नियन्त्रणमा बर्ड फ्लू

मन्त्रालयका अनुसार गत वर्ष बर्ड फ्लूका कारण १ लाख १६ हजार ७०२ वटा कुखुरा तथा हाँस नष्ट गरियो । रोग नियन्त्रणका लागि सरकारले प्रभावकारी कार्य गरिरहेको भए पनि चूनौती भने कायमै रहेको मन्त्रालयको वार्षिक प्रगति विवरणमा उल्लेख छ ।

बर्ड फ्लू रोग प्रभावित ९ जिल्लामा २१ हजार १८२ किलो दाना तथा ५० हजार ७६६ वटा अण्डा नष्ट गरिएको थियो । पीडित किसानका लागि ८ करोड १० लाख ८६ हजार क्षतिपूर्ति रकम निकासी गरिएको र ६ करोड ५७ लाख वितरण भइसकेको मन्त्रालयले जनाएको छ ।

कृषि तथा पशुप‌ंक्षी विकास मन्त्रालयले यस वर्ष सरकार, वैदेशिक सहयोग अनुदान तथा ऋण गरेर कुल २४ अर्ब ८८ करोड ९२ लाख ५ हजार बजेट पाएको थियो । मन्त्रालयसहित ४३ बिभिन्न कार्यक्रम अन्र्तगत उक्त कुल वित्तिय प्रगति ८६.९३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment