Comments Add Comment

मेलम्चीको बाँकी कामलाई दुई मुख्य ठेकेदार छनोट, एउटा विवादित

२० साउन, काठमाडौं । मुख्य ठेकदार भागेपछि ठप्प रहेको मेलम्ची खानेपानी आयोजनालाई अघि बढाउन दुई ठेकदार कम्पनी छानिएका छन् । दुईमध्ये एउटा कालो सूचीमा सिफारिस गरिएको कम्पनी हो ।

छानिएका कम्पनी तथा तिनीहरुको आर्थिक प्रस्ताव स्वीकृत गर्न एशियाली विकास बैंक (एडीबी)मा पठाइएको आयोजनाका एक अधिकारीले बताए । मेलम्चीको दुई वटा ठेक्कामा चिनियाँ कम्पनी सिनो हाईड्रो र हाईहिमालय एन्ड रमण जेभी छानिएका हुन् । सुरुङ र हेडवक्र्सका कामका लागि फरक-फरक ठेकेदार छनोट गरिएको हो ।

सिनो हाईड्रो नेपालको जलविद्युत आयोजनाहरुको निर्माणमा अनुभवी कम्पनी हो । देशकै ठूलो जलविद्युत आयोजना माथिल्लो तामाकोसीको सिभिलतर्फको निर्माण पनि यही कम्पनीले गरिरहेको छ । त्यसैगरी जलाशययुक्त तनहुँ जलविद्युत आयोजना पनि यसले जिम्मा पाएको छ ।

छानिएको अर्को कम्पनी हाई हिमालय एन्ड रमण कन्स्ट्रक्सन जेभी हालै हुलाकी सडक आयोजनाले कालो सूचीमा राख्न सिफारिस गरेको कम्पनी हो । कालो सूचीमा राख्ने सरकारी तयारीको विरुद्ध कम्पनी अदालतमा पुगेको छ । यही कम्पनीले हाल धरहराको पुनर्निर्माण गरिरहेको छ ।

मेलम्ची आयोजनाको बाँकी कामलाई १० प्याकेजमा विभाजित गरेर सरकारले अघि बढाउन लागेको छ । तर, त्यसमा ढिलाइ भइरहेको छ । २ वटा प्याकेजमा खुला बोलपत्र आह्वान गरिएको थियो भने बाँकी ८ वटा प्याकेज पुराना स्थानीय ठेकदारलाई दिइएको छ ।

हेडवक्सतर्फको ठेक्का पाउनेले पानी थुन्ने इन्टेक संरचना, पहुँच मार्गको सुधार, कफर ड्यामको डिजाइन र निर्माण, पहुँचमार्गको स्टिल ब्रिजको निर्माण, क्याम्प साइटको मर्मत, फ्लसिङ सिस्टमको जडान लगायतका काम गर्नुपर्ने छ । यो ठेक्का प्राप्त गर्नेले सोझै हाइड्रोमेकानिकल गेट, एसएस पाइपको आपूर्ति जडान र इन्स्ट्रुमेन्टेसन कामको ठेक्का पाउने ठेकदारसँग समन्वय पनि गर्नुपर्ने आयोजनाले जनाएको छ ।

यस्तै सुरुङमार्गको ठेक्का प्राप्त गर्नेलाई सुरुङको अन्तिम तवरको संरचना निर्माण, डाइभर्सन सुरुङ र अडिट सुरुङको लाइनिङ र फिनिसिङ, अडिट सुरुङसम्मको पहुँचमार्ग सुधार, ग्याल्थुमको पहुँचमार्ग पुलको पुनर्निर्माण, क्याम्पहरुको मर्मत सुधारलगायतका काम गर्न जिम्मेवारी तोकिएको छ ।

यसमा छानिने ठेकेदारले पनि सुरुङमा भेन्टिलेसन बनाउने काम गरिरहेका र विभिन्न स्थानमा पाइप आपूर्ति र जडानको काम गरिहेका ठेकदारसँग समन्वय गर्नुपर्ने छ ।

यसअघि इटालियन कम्पनी सीएमसीले आयोजनामा ८ वटा लोकल भेन्डरका रुपमा राखेका कम्पनीहरुलाई सोझै ठेक्का लगाइएको थियो । हाईड्रो-इलेक्ट्रो मेकानिकल र केही आपूर्तिसम्बद्ध ८ वटा ठेक्का त्यहाँ कार्यरत पुरानै कम्पनीले बिना प्रतिस्पर्धा पाएका हुन् । सीएमसी आफैंले गरिरहेको जटिल प्राविधिक काम चाहिँ खुला प्रतिस्पर्धाबाट छानिएका दुई वटा नयाँ ठेकेदारमार्फत गराउने तयारी छ ।

हेडवक्र्सको काम १५ महिनामा र सुरुङको काम १२ महिनामा सक्नेगरी टेन्डर आह्वान गरिएको थियो । अब टेन्डर प्रक्रिया टुंगिएर ठेकेदारले समयमै काम थाले पनि मेलम्चीको पानी काठमाडौंमा अर्को एक वर्षमा पनि नआउने प्रष्ट भएको छ । सरकारले गत जेठमा ल्याएको नीति तथा कार्यक्रममा एक वर्षभित्र मेलम्ची ल्याउने जनाएको थियो ।

आयोजनाको बाँकी काम सक्नका लागि करिब २ अर्ब ५३ करोड खर्च हुने अनुमान छ । सरकारले आगामी वर्षको बजेटमार्फत मेलम्चीका लागि लागि ७ अर्ब ३९ करोड बजेट छुट्याएको छ । यो रकम काठमाडौंमा पाइप बिछ्याउन पनि उपयोग हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment