Comments Add Comment

राजन मुकारुङको ‘सिर्जनशील अराजकता’

२१ साउन, काठमाडौं । सत्ताको स्वाद कस्तो हुन्छ ? मदन पुरस्कार बिजेता राजन मुकारुङलाई अहिलेसम्म थाहा छैन । जुन दिन उनी सत्ताको ललिपपमा लिप्त हुन्छन्, त्यतिबेला लेखक राजन मुकारुङको पहिचान सकिन्छ । किनकि, अहिलेसम्मको उनको मानक हो – ‘एन्टी गभर्मेन्ट’ ।

राजन सत्ताको आलोचना गर्दै हुर्किए । सत्ताको खेदो खन्दै शिक्षकबाट लेखक बने । दरबारमाथि औँला ठड्याउँदै भोजपुरबाट राजधानी छिरे । राज्यको एकल पहिचानमाथि धावा बोलेरै ‘दमिनी भीर’बाट मदन पुरस्कार बिजेता बने ।

मुकारुङको कुरा सुन्दा यस्तो लाग्छ, दैनिकजसो उनी रक्सी पिउँदैनन्, सत्ताको आलोचना पिउँछन्, पाइलट चुरोट तान्दैनन्, कटु आलोचना तान्छन् । उनी आलोचना खान्छन्, आलोचना हिँड्छन्, आलोचना बस्छन् र आलोचनै गफ गर्छन् । त्यसैले त राजन भन्छन्, ‘यो देशमाथि प्रश्न गर्न जरुरी छ । देखिइसकियो कि विद्रोह नगरेसम्म उत्पीडितहरुले न्याय पाउनेवाला छैनन् ।’

यदि राजन सत्ताको आलोचक नभएको भए, कम्तिमा सांसद हुन्थे कि ? किनभने, राजन आफूलाई ७० प्रतिशत लेखक नभएर सामाजिक अभियन्ता ठान्छन् । नत्र राष्ट्रपतिको हातको एउटा पदक त पक्कै उनको नाउँमा हुन्थ्यो । तर, आज राजन भाडाको कोठामा बसेर कुर्लंदैछन्, ‘मेरो सम्पत्ति भनेको मेरा नाउँमा लेखिएका आठ वटा कृति हुन् । यो देशबाट एक चिप्री जमिन पनि लिएको छैन ।’

शनिवारबाट राजन मुकारुङको अर्को सम्पत्ति थपिएको छ । कविता संग्रह – ‘हाटा जाने अघिल्लो रात ।’

तर, उनले यो सम्पत्ति प्रकाशित गर्ने प्रकाशन गृह फेला पारेनन् ।

के यो देशमा मदन पुरस्कार विजेताको पुस्तक प्रकाशन गर्ने प्रकाशन गृह छैनन् त ?

‘यहाँ साहित्यको व्यापार गरी खान्छु भनेर कोही आएको छैन । हिजोका महाराजाहरुका संस्मरण लेखाएर व्यापार गर्छन्’, मुकारुङ आक्रोश पोख्छन्, ‘जोकरहरुको संस्मरण छापेर हिट भएका छन् पब्लिकेशन हाउस । यहाँका पब्लिकेशन हाउसले कर्ण शाक्यलाई बेचेर खान्छन् । उसैले फेवातल हडपेको हुन्छ । तर, सीमान्तकृतले लेखेको, सीमान्तकृतको कुरा छाप्ने कसको हिम्मत छ यहाँ ?’

मुकारुङको कविता संग्रहमा प्रकाशकको नाम छ – उपेन्द्र सुब्बा र तीर्थ संगम राई ।

श्रवण मुकारुङलाई सुन्ने हो भने उपेन्द्र राजन काठमाडौं छिरेका चितुवा हुन्, जो सिर्जनशील अराजकता भन्दै लडिरहेकै छन् ।

०००

१२ वर्षमा खोलो फर्कियोस्, नफर्कियोस् । १५ वर्षमा राजन फर्र्किएका छन् । कवितामा ।

कविता संग्रहको शीर्ष कविताले भन्छ, एउटी युवती एक पेरुङ्गो सपना बेच्न हाटबजार जाँदै हुन्छे । तर, उसको शरीरमाथि दुनियाँले गिद्देनजर लगाउनेछन् । त्यसैले उसले निष्कर्ष निकाल्छे – कम्मरमा खुर्पेटो चाहीँ भिर्नै पर्ने भो ।

मुकारुङलाई मान्ने हो भने ‘हाटा जाने अघिल्लो रात’ फगत एउटा शीर्षक मात्र होइन । यो त अत्याचारको प्रतिकार, प्रतिरोध गर्नुपर्छ भन्ने शक्तिशाली विम्ब पनि हो ।

होइन, फेरि यो १५ वर्षपछि राजनलाई कविता सार्वजनिक गर्ने के त्यस्तो बाध्यता आइपर्‍यो ? कि आख्यानले धित मरेन ? यो प्रश्न किनभने आजभोलि कविहरुलाई धमाधम आख्यानले च्याप्प समात्न थालेको छ ।

उता मुकारुङलाई भने नयाँ पुस्ताका कविहरुको पनि चिन्ता छ । उनीहरुका कविताले मुकारुङ चित्त बुझाउँदैन । उनी भन्छन् कि सन्तानको भविश्यका लागि काठमाडौं छिरेका आमाहरु पीडामा छन् । तर, कविता लेखिन्छ– काठमाडौं आएर कफी खाँदै हात गाँसेर हिँडेका युवायुवतीको । नयाँ पुस्ता शिल्पमा जति शक्तिशाली छ, मुद्दामा त्यति नै कमजोर । राजनलाई लाग्यो, ‘योबेला मैले कवितामार्फत भए पनि केही त भन्नैपर्छ ।’

र, उनले कविता लेखेका छन्, माया विकको चोलो । माया विक – जसको बलात्कारपछि हत्या भयो । तर, एक वर्षसम्म पनि अदालतमा पेसी चढ्न सकेको छैन । लेखेका छन् – शिल्पी चराको कथा । जहाँ मुकारुङले भनेका छन् कि शिल्पी चरालाई मुखिनीले अन्त्यमा दमाइ चरा भनिदिन्छ र शिल्पीको सम्पूर्ण योगदान माटोमा मिलाइदिन्छ ।

राजनले त्यहीँ लेखेका छन्, पिल्लरमार्फत सीमानाका कथा, थारुका कथा या माइला लामाका कथा…. । समग्रमा उत्पीडितको कथा । यति लेखेका साहित्यकार राजन मुकारुङ, ‘अब हामीले अभाव र उत्पीडितको आँशु बेच्ने होइन, विद्रोह गर्ने हो । यो मुलुकमा रोएर, कराएर न्याय पाइँदैन भन्ने थाहा भइसक्यो ।’ भावना बेचेर लेखक कहलिनेहरुलाई मुकारुङको यो निकै ठूलो झापड हो ।

तर, आज देश प्रगतिशील भन्नेहरुकै नेतृत्वमा छ । मार्क्सवादीहरुकै दुई तिहाईको सत्ता छ । मार्क्र्सवादीको उद्देश्य नै सर्वहारा, उत्पीडितको मुक्ति हो । तर, पनि मुकारुङले देखेको देश के हो भने हिजो शोषक र शासितको जुन दुरी थियो, अहिले नेता र जनता, पहुँच हुने र नहुँनेबीच त्यो भन्दा ठूलो खाडल खनिँदैछ । र, पछिल्लो समय प्रगतिशील लेखकहरुले पनि यो कुरा त कमै लेखेका छन् ।

जसले लेख्ला भनेर राजन मुकारुङले सोचेका थिए, उनीहरुले नै नलेखेको देखेपछि उनी जंगिएका छन् । उनीसँग यसका कारण पनि छ, ‘ती लेख्लान भन्ने व्यक्ति कहीँ न कहीँ सत्ताको कारिन्दा भएर बसेका छन् । र, उनीहरुको कलमको निम बन्द भएको छ । जसले एकै चुड्कीमा सत्ता ढाल्छु भनेर हिँडेका छन् उनीसँग विचार छैन । यो समयमा कसै न कसैले सुरुवात चाहीँ गर्नैपर्छ । बरु राणाकालमा मकैको खेती लेखिए, गोपालप्रसाद रिमालहरुले आमा कविता लेखे ।

नेपालमा हप्तैपिच्छे पुस्तकहरु त निस्किएकै छन् । प्रकाशन गृहको संख्या विस्तारै बढ्दै छ । यतिले पुगेको छैन मुकारुङलाई । उनी खुकुरी चुरोट तान्दै कड्किन्छन्, ‘तर, प्रश्न त गरेर बस्नुपर्‍यो यो मुलुकमा । हाम्रो न्याय कहाँ छ ? खोजी त हुनुपर्‍यो । दुर्गममा जानुस् जहाँ दलितहरुले मूलको पानी खानका लागि पनि अर्को जातिलाई ठूलो पूजा गर्नुपर्छ । आज समावेशी, आरक्षणको कोटाहरु सिध्याइसके । उठिसकेको साहित्य र संकृतिलाई सक्काइयो । कोठामा बसेर श्वर कल्पनामा लेख्ने कि देशको माटो टेक्ने ?’

यता फेरि बजारमा साहित्य बिकेन, पुस्तकको बिक्री कम भयो भन्ने अर्को बहस छ । यो प्रशंगले मुकारुङलाई हसाउँछ । लामो हाँस्छन् । ‘साहित्यकारले साहित्यको चिन्ता गर्ने होइन । समाजको चिन्ता गर्ने हो’, हाँस्दाहाँदस्दै उनको अनुहारको रङ बद्लिन्छन् । स्ट्रेमा चुरोट ठोस्दै भन्छन्, ‘तर, उत्पीडित र सीमान्तकृतहरुको मुद्दा यो देशको व्यापारीले छाप्दैनन् । किनकि त्यहाँभित्र उठ्ने मुद्दासँग डराउँछन् । अधिकांश लेखकहरु व्यापारीको कारिन्दा भएर बसेका छन् ।’

जब लेखक अफ्नो इथिक्स बिर्सिएर कारिन्दा भए, अनि पाठकहरु भड्किए । यो मुकारुङको निचोड हो ।

०००

सृजनशील अराजकताका योद्धा मुकारुङ अराजकरुपमै प्रस्तुत भएका छन् । कुरा गर्दागर्दै उनी लक्ष्मीप्रसाद देवकोटाकै खोट कोट्याउन पुग्छन् । देवकोटाले शेर्पाको गाउँमा गएर किन बाहुनलाई क्षेत्री खोजीखोजी खुट्टा ढोग्न लगाएको ? पहाडी जीवन निबन्धमा तामाङ मगरहरुको गाउँमा बसेर पनि किन उनलाई सिलोक गाउने आर्य नै सुन्दर लागेको ?
मुकारुङसँग नेपाली साहित्यप्रति अनगिन्ती प्रश्न छन् । उनी प्रश्न गर्छन्– बिहान उठ्दा हिमाल देख्नेलाई मात्र किन नेपाली भनेको ?

उसो भए अब लेखिनुपर्ने साहित्य के त ? मुकारुङले चाहीँ के लेखे ?

‘काठमाडौं एक दिन चौवन्दी चोलीमा साकेला नाच्ने किँरातिनीको होइन, ३६४ दिन संघर्ष गरेर सुँगुर बोक्नेहरुको जीवन सोच्नुपर्छ । मानिसलाई किन दलित बनाइयो ? मानिसहरु किन गरिव भए ? यसको जवाफ खोज्नुपर्छ । दुर्गम गाउँमा डाक्टर, राम्रो शिक्षा पढाउनका लागि साहित्य लेखिनुपर्छ । नेता व्यापारीले जनतालाई कसरी सिध्याउँदैछन् ? हो यो लेखिनुपर्छ । मेरो गाउँमा मसँगैको दर्जी भाइलाई सानो बच्चाले पनि तँ भन्छ । जसको जमिन पनि छैन । किन ? यसको जावाफ लेख्नुपर्छ’, राजन मुकारुङ धारा प्रवाह बोल्दैछन् ।

०००

मुकारुङ अहिले ४५ वर्ष भए । मुकारुङकै अनुसार उनी कहिल्यै व्यक्तिगत र पारिवारिक सुख सुविधाका पछाडि दौडिएनन् । र, पनि उनलाई कुनै पश्चाताप छैन । उनी ढुक्कसँग भन्छन्, ‘मभन्दा नपाउनेहरु यहाँ धेरै छन् । तिनीहरुलाई न्यायोचित वितरण भएको दिन मैले पनि जमिन लिउँला ।’

मुकारुङको आदर्श हो, आफ्ना लागि होइन, जसका लागि लडेको हो उनीहरुको मुक्तिको लागि सोचिरहनुपर्छ । ‘हामी गतिशील हुने हो, परिवर्तनका लागि खोजी गर्ने हो’, मुकारुङको आत्मविश्वास छ, ‘उनीहरुको मुक्ति भएको दिन हाम्रो पनि मुक्ति हुनेछ । नाति पुस्ताका लागि पनि हामी लड्नुपर्छ ।’

मुकारुङका साहित्यले पहिचानको आन्दोलनको शंखघोष गर्छ । चाहे त्यो फेरिँदो सौन्दर्यमा होस्, चाहे हेच्छाकुप्पामा होस् । चाहे दमिनी भीर नै किन नहोस् ।

मुकारुङ आफ्नो समय आफूले नै नेतृत्व गर्नुपर्छ भन्ने सोच राख्छन् । हाम्रो चिन्तनले नेतृत्व गरेनौँ भने हाम्रो समाज उक्सिँदैन । यदि साहित्यले साँच्चिकै समाज र माटो सोचेर चिन्तन गरेको दिन केही न केही पक्कै हुन्छ । यो मुकारुङको आत्मविश्वास हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment