Comments Add Comment

सरकारी कर्मचारीलाई पुनर्ताजगी विदा दिन सांसद शर्माको प्रस्ताव

२१ साउन, काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीका सांसद जनार्दन शर्माले सरकारी कर्मचारीलाई पुनर्ताजगी विदा दिने प्रस्ताव गरेका छन् ।

मंगलबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा ‘निजामती कर्मचारीले पाउने विदा’ सम्बन्धी व्यवस्थामाथिको छलफलमा उनले भने, ‘कतिपय विदा यस्तो पनि हुनपर्यो । हैरान, थकान भइकन कसरी काम गर्ने ? पुनर्ताजगी विदा पनि हुन पर्‍यो । झन् थाकेर आउने विदा कहाँ हुन्छ ?’

संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्तसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको दफा ११५ मा निजामती कर्मचारीले पाउने विदासम्बन्धी व्यवस्था छ ।

यही व्यवस्थामाथिको छलफलमा भाग लिँदै समिति सदस्य शर्माले कर्मचारी विदामा बसेपछि पुनर्ताजगी भएर अफिस आउनुपर्ने उल्लेख गर्दै ‘घर विदा’ भन्ने व्यवस्था हटाएर ‘पुनर्ताजगी विदा’ भनेर लेख्ने प्रस्ताव गरेका हुन् ।

‘घर विदा काटेर पुनर्ताजगी विदा लेखौं । नाम मिलेन यो’, शर्माले अझै थपे, ‘फ्रेस भएर आउने हो नि त । झन् टेन्सन बोकेर अफिस आउने हो भने कामै हुँदैन । विदाको अर्थ के होला र !’

तर, सांसद शर्माको प्रस्तावअनुसार समितिले भने निर्णय गरेन । हाल कर्मचारीले घर विदा ३० दिन पाउँदै आएका छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव यादव कोइरालाका अनुसार हाल कर्मचारीले १२ दिन काम गर्दा १ दिन घर विदा पाउने व्यवस्था छ । यसरी एक वर्षमा घर विदाको समय ३० दिन हुन आउँछ ।

समितिले बुधबार निजामती कर्मचारीले पाउने भैपरी आउने र पर्व विदा, घर विदा, विरामी विदा, प्रसूति विदा, प्रसूति स्याहार विदा, मृत्यु संस्कार (किरिया) विदा र अध्ययन विदाको व्यवस्थाका सम्बन्धमा भने सहमति जुटाएको छ ।

हालको व्यवस्थाअनुसार निजामती कर्मचारीले एक आर्थिक वर्षमा भैपरी विदा ६ दिन, पर्व विदा ६ दिन, घर विदा ३० दिन, विरामी विदा १२ दिन, प्रसूति विदा ९८ दिन, बेतलबी प्रसुति विदा ६ महिना, प्रसूति स्याहार विदा १५ दिन, अध्ययन विदा सुरुमा ३ वर्ष र यसमा २ वर्ष थप लिन सक्ने व्यवस्था छ ।

बेतलबी विदा र असाधारण विदासम्बन्धी व्यवस्थामा भने सहमति जुट्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment