Comments Add Comment

यात्रु ठग्ने १३ हजार ट्याक्सी चालक कारबाहीमा

२२ साउन, काठमाडौं । ट्राफिक प्रहरीले विभिन्न बहाना बनाई यात्रु ठग्ने उपत्यकाका १२ हजार ७४९ ट्याक्सी चालकलाई कारबाही गरेको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले आर्थिक वर्ष ०७५–७६ मा कानूनविपरीतका कार्य गरी मिटरमा जान नमान्ने, मिटर बिगार्ने, भाडा अनियमितता गर्ने, बढी भाडा लिने ट्याक्सीका चालकलाई कारबाही गरेको हो ।

महाशाखाले आव ०७४/७५ मा ८ हजार १२० ट्याक्सी चालकलाई कारबाही गरेको थियो । महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले यात्रुसँग मोलमोलाई गरी बढी भाडा लिने ट्याक्सी चालकलाई कारबाही गरिएको जानकारी दिए । ‘यात्रु ठग्ने दैनिक ४०–५० चालकलाई कारबाही गर्दै आएका छौं’, उनले भने ।

बढी भाडा लिने ट्याक्सी चालकसँग ट्राफिक प्रहरीले तीन हजार जरिवाना गर्ने गरेको छ । त्यस्तै, पाँच पटकभन्दा बढी भाडा लिएर कारवाहीमा पर्ने ट्याक्सी चालकको सवारी चालक अनुमतिपत्र निलम्बनका लागि यातायात व्यवस्था कार्यालयमा सिफारिश गर्ने गरिएको महाशाखाले जनाएको छ ।

मिटरमा जान नमान्ने, ट्याक्सीको मिटर बिगार्ने र बिग्रेको मिटरसमेत समयमा नबनाउने ट्याक्सी चालकलाई भने रु ५०० देखि एक हजार ५०० सम्म जरिवाना गर्ने गरिएको पन्तले बताए । महाशाखाले बढी भाडा लिने ट्याक्सी चालकको कारबाहीका लागि दैनिक ३० देखि ५० ट्राफिक प्रहरी उपत्यकाका विभिन्न स्थानमा खटाउँदै आएको छ ।

ट्याक्सी प्रयोग गर्दा बढी भाडा लिने, मिटरमा जान नमान्ने, यात्रुले चाहेको स्थानमा जान नमानेमा तत्काल ट्राफिक प्रहरीको हटलाइन नं १०३ मा खबर गर्न सबै यात्रुलाई महाशाखाले आग्रह गरेको छ ।

यातायात व्यवस्था विभागका अनुसार हाल काठमाडौं उपत्यकामा मात्र १० हजारभन्दा बढी ट्याक्सी सञ्चालनमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment